चीनबाट अमेरिका जान कडाइ : जनवरी ५ बाट अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने
वासिङटन डिसी : अमेरिकाले चीनबाट आउने यात्रुलाई कोरोना परीक्षण गरी नेगेटिभ नतिजा आएको हुनुपर्ने अनिवार्य गरेको छ । यो नियम जनवरी ५ बाट लागु हुने बताइएको छ।
कोरोना संक्रमण नियन्त्रण गर्न चीन, हङकङ र मकाउबाट आउने सबै यात्रुलाई कोरोनाको नेगेटिभ परीक्षण नतिजा देखाउन अनिवार्य गरिएको बीबीसी समाचारमा उल्लेख छ।
अमेरिकी स्वास्थ्य मन्त्रालयले हवाई यात्रा गर्नेहरूले दुई दिनभित्र गरेको कोरोना परीक्षणको रिपोर्ट देखाउनुपर्ने बताएको छ । उडान भर्नुभन्दा १० दिन अघि कोरोना पोजेटिभ आएकाले निको भएको प्रमाण देखाउनुपर्ने छ।
चीनले अगिल्लो हप्तादेखि आफ्ना सीमा खोल्ने घोषणा गरेको थियो। यो निर्णयसँगै चीनका मानिसले विदेश भ्रमणमा जान ठूलो संख्यामा बुकिङ गरिरहेका छन् । तीन वर्षको प्रतिबन्धपछि, चीनले जनवरी 8 बाट यात्रा नियमहरू खुकुलो गर्ने घोषणा गरेको छ।
पछिल्लो समय चीनमा कोरोना संक्रमण बढ्दै गएपछि धेरै देशले भने चीनबाट आउने यात्रुका लागि नियम कडा बनाएका छन् । अमेरिकाबाहेक इटाली, जापान, मलेसिया, ताइवान र भारतले पनि नियम परिवर्तन गरेका छन् । त्यस्तै बेलायतले भने यात्रुहरूका लागि परीक्षण सुरु गर्ने वा अन्य कुनै नियम बनाउने योजना नभएको बताएको छ। बीबीसी