वडामै योजना सम्झौता
सुर्खेत : दैलेखको गुराँस गाउँपालिकाले वडामै योजना सम्झौता गर्न सकिने व्यवस्था मिलाएको छ। गाउँपालिकाबाट सञ्चालन हुने सम्पूर्ण योजनाहरू वडा तहमै सम्झौता गर्न सकिने गरि घुम्ती शिविर सञ्चालनमा ल्याएको छ। योसँगै योजनाको सम्झौता गर्न उपभोक्ताहरू गाउँपालिकाको कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। ससाना योजनाहरूको सम्झौता गर्न पनि उपभोक्ताहरू गाउँ कार्यपालिकाको केन्द्रमा धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै गाउँपालिकाले वडागत घुम्ती शिविरहरू सञ्चालन गरेको छ।
पुस १२ गतेबाट घुम्ती शिविर सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले बताए। उनको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीको टोलीले मंगलबार गुराँस गाउँपालिका–७ मा उपभोक्ता समितिसँग योजनाहरू सम्झौता गरेको छ। गाउँपालिकाका प्रवक्ता दीपेन्द्र ओलीले पुस ७ गते बसेको गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने नाराको साथ चालू आर्थिक वर्षका स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गतका योजना सम्झौता गर्न वडाहरूमा घुम्ती शिविर सञ्चालन गरिएको हो।
वडा नम्बर ८ का वडाध्यक्ष समेत रहेका ओलीले पुस १३ गते वडा नम्बर ६, १४ गते वडा नम्बर ५, १७ गते वडा नम्बर ४, १८ गते वडा नम्बर ३, १९ गते वडा नम्बर २, २० गते वडा नम्बर १ र पुस २१ गते वडा नम्बर ८ मा शिविर सञ्चालन गरिनेछ। घुम्ती शिविर सञ्चालन गरेपछि योजना सम्झौताको लागि एकैपटक सबै वडाबाट गाउँपालिकाको कार्यालयमा उपभोक्ताहरू पुग्दा भीँडभाड र उपभोक्ताहरूले धेरै रकम खर्च गर्नुपर्ने बाध्यता अन्त्य भएको ओलीले बताए।
‘समुदायको मागअनुसार योजना निर्माणका लागि थोरै–थोरै बजेटसमेत बिनियोजन गर्नुपर्ने बाध्यता छ, योजना सम्झौता, फरफारक लगायतका काम गर्ने बेलासम्म यातायात, खाजा, बास र खानामा उपभोक्ता रकम खर्च हुन्थ्यो, अब त्यो बाध्यता अन्त्य भएको छ,’ उनले भने।
ओलीका अनुसार उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनाहरूमा उपभोक्ता समितिले ब्यहोर्नुपर्ने लागत सहभागिता अनिवार्य गर्दै पाँच लाखसम्मका योजनामा तीन हजार र पाँच लाखभन्दा माथिका योजनामा पाँच हजार रुपैयाँ उपभोक्ता समितिलाई प्रशासनिक खर्च उपलब्ध गराउने गरिएको छ। वडामै योजनाको सम्झौता गरेपछि गाउँपालिकाको केन्द्र रानीमत्ता पुग्दा लाग्नसक्ने खर्च बचेको उपभोक्ता समितिले जनाएका छन्।