५४ रैथाने बाली जीन बैंकमा संरक्षित
जाजरकोट : जाजरकोटका ५४ जातका रैथाने बालीहरू राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) मा संरक्षण गरिएको छ। नेपाल कृषि अनुसन्धान परिषद्ले जाजरकोटबाट संकलन गरेका १४४ जातका रैथाने बालीमध्ये ५४ जातका रैथाने बालीलाई जीन बैंकमा संरक्षण गरेको हो।
परिषद्ले जिल्लाको शिवालय, कुशे र बारेकोट गाउँपालिकामा २०७८ सालको फागुन महिनामा १४४ जातका रैथाने बालीहरू संकलन गरेको थियो। संकलन गरिएका रैथाने जातका बालीहरू राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रको प्रयोगशालामा परीक्षण गरी बीउको मात्रा पुगेका, उमारशक्तिको मापदण्ड पुगेका ५४ रैथाने जातका बालीहरू केन्द्रमा संरक्षण गरिएको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र खुमलटारले जनाएको छ। जाजरकोट जिल्लाबाट संकलन गरिएका अन्य बाँकी ९० जातका रैथाने बालीलाई दर्ता गरेर संरक्षण गरिने राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र खुमलटारले बताएको छ।
राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रमा संरक्षण गरिएका ५४ जातका रैथाने बालीहरू मध्ये ११ जातका धान, पाँच जातका गहुँ, तीन जातका जौं, पाँच जातका भट्मास, चार जातको सिमी, पाँच जातको गेडाजन्य दाल, दुई जातको बदाम, दुई जातको माटे, दुई जातको काँक्रा, पाँच जातको कोदो, चार जातको तोरी, फर्सी, भाजी(रायो), तिल, तिर्कुलो, कागुनो र कला(केराउ) एक एक जातका रहेको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ।