मधेस कांग्रेस संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी
जनकपुरधाम : मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेताका लागि दुई जनाले उम्मेदवारी दिएका छन्।
जनकपुरधामस्थित मधेश प्रदेश पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा कृष्ण प्रसाद यादव र रामसरोज यादवले उम्मेदवारी दर्ता गराएका हुन्।
कृष्ण पार्टीका प्रदेश सभापति हुन् भने रामसरोज निवर्तमान संसदीय दलका नेता हुन्। निर्वाचन तालिकाअनुसार बिहान ९ बजेदेखि १० बजेसम्म भएको मनोनयन दर्तामा दुई जनाले मात्र उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिए।
मतदान दिउँसो ३ देखि ४ बजेसम्म हुने कार्यतालिका छ। मधेस प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेसको २२ जना संसद छन्। कांग्रेसको प्रदेश सभापतिका लागि भएको निर्वाचनमा समेत यी दुवै प्रतिस्पर्धी रहेका थिए।