प्रभु साहले किन खोले पार्टी ?

प्रभु साहले किन खोले पार्टी ?

काठमाडौं : नेकपा एमाले छाडेको साढे दुई महिनापछि प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन्। काठमाडौंमा एक बैठक गर्दै उनले ५१ सदस्यी केन्द्रीय तदर्थ समिति गठन गरेका छन्। तदर्थ समितिको बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ।

‘विश्वभरका आम जनता एक हौं’ भन्ने प्रगतिशिल विचारमा आधारित पार्टी गठन गरेका हुन्। स्वतन्त्र सांसदको रूपमा राजनीति वृत्तमा शक्तिशाली नभएपछि उनले शक्ति आर्जन गरेर सरकारमा जान ‘सौदाबाजी’ गर्न आम जनता पार्टी गठन गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘कुनै पनि राजनीतिक दल संगठित स्वरुपमा भए विभिन्न शक्तिसँग सौदाबाजी गर्ने क्षमता बढ्छ। राजनीतिमा संगठित शक्तिले महत्व राख्छ। त्यसै कडिको रूपमा यसलाई लिन सकिन्छ।’ मंसिर ४ को चुनावमा एमाले छोड्दै साह समूहबाट केहीले प्रतिनिधिसभा र प्रदेश सभामा विजयी भएका छन्।

शक्ति आर्जन गर्न पार्टी गठन

एमाले र माओवादी पार्टी मिलेर बनेको नेकपा फुट्दा प्रभु साह एमालेमै बसेका थिए। त्यसको झोकमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उनको प्रतिनिधिसभा सदस्य पद खोसेका थिए। त्यसपछि उनले एमाले पार्टीबाट मधेसमा सक्रिय राजनीति गरेका थिए। निर्वाचनको अन्तिम समयमा साहले एमाले परित्याग गर्दै रौतहट-३ बाट स्वतन्त्र उम्मेदवारी दिए। स्वतन्त्रबाट निर्वाचित उनले दाहाल नेतृत्वको सरकारलाई समर्थनसमेत गरेका छन्।

गत वर्ष मंसिरमा चितवनमा भएको १०औं महाधिवेशनबाट नेता साहलाई एमालेले स्थायी समिति सदस्यको हैसियत दिएको थियो। आफ्नो निटक नेताहरूलाई प्रतिनिधिसभा तथा प्रदेशसभामा पार्टीले टिकट नदिएको भन्दै मधेस प्रदेशमा समूहगतरूपमै उम्मेदवारी दिँदै प्रभु साहको टिमले एमालेबाट विद्रोह गरेका थिए। उनको समूहले प्रतिनिधिसभा र प्रदेशसभा केही सिटसमेत जित्न सफल भएको छ।

स्वतन्त्र निर्वाचित भएपछि साहले माओवादी अध्यक्ष प्रचण्डसँग निरन्तर सम्बादमा थिए। उनको समूहले दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेर मन्त्री पद खान खोजेका थिए। उनको समूह माओवादीमा फर्किन तयारीसमेत गरेको स्रोतको दाबी छ। तर, एमालेले स्वतन्त्र सांसदको रूपमा उनको समूहलाई महत्व नदिएपछि उनी सत्ताको स्वाद चाख्न पार्टी गठन गरेको चर्चा छ।

राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘प्रचण्डजीको नेतृत्वमा सरकार देखिए पनि खासमा एमाले अध्यक्ष ओलीको सरकार हो। त्यसैले ओलीजीको रुची र अरुचीले काम गरिरहेको छ।’  चुनावको मुखमा प्रभु साहले एमालेबाट टिकट पाएर पनि अन्तिम समयमा 'स्वतन्त्रको नाममा' उम्मेदवारी दिएर ठूलो धोका दिएकाले पार्टी एमाले अध्यक्ष ओलीले नयाँ समीकरणमा स्वतन्त्र सांसदको रूपमा उनलाई महत्व नदिएको राजनीतिक वृत्तमा चर्चा छ।

चन्द्रकिशोर थप्छन्, ‘ ओलीजीलाई मधेस प्रदेशमा हाम्रो अझै ठूलो हैसियत हुन्थ्यो। प्रभुकै कारण हामी कमजोर भयो भन्ने परेको छ। त्यसकारण पनि प्रभुजीले नयाँ पार्टी गठन शक्ति आर्जन गर्न खोजेको हुनुपर्छ।’

‘व्यक्तिभन्दा पार्टीको महत्व बढी’

स्वतन्त्र सांसदको रूपमा आफूलाई शक्तिशाली नदेखिएपछि नेता प्रभु साहले पार्टी खोलेको माओवादीका सचिव गणेश साहको टिप्पणी छ। प्रधानमन्त्री दाहालको सरकारमा स्वतन्त्र सांसदको रूपमा प्रवेश कठिन भयो। त्यसैले पार्टी खोलेको हो? भने अन्नपूर्णको प्रश्नमा माओवादी पदाधिकारी सदस्य साहले भने, ‘प्रभुजी लामो समय पार्टी आन्दोलनमा काम गरेको मान्छे हो। सदनमा उहाँ स्वतन्त्रण सांसुद हुनुहुन्थ्यो। अब उहाँको पार्टीको अध्यक्ष पद पनि थपियो। बहुदलीय व्यवस्थामा व्यक्तिभन्दा पार्टीको महत्व बढी हुन्छ।’

स्वतन्त्ररूपमा सरकारमा जाने कि पार्टी नेताको रूपमा जाने प्रश्न नेता साहमाथि थियो। माओवादी सचिव साहले थपे, ‘पार्टी गठन गरेर उहाँले पार्टीको नेता र सांसदको रूपमा सरकारमा जाने बाटो बनाउनुभएको छ। अगामी दिनमा उहाँलाई अरु पार्टीसँग एकता लागि पनि सहज हुनेभयो। नव गठित पार्टीले उहाँसँग भएको सबै नेताको राजनीतिक पहिचान पनि बनाइदियो।’

नेता साहले दाहाल नेतृत्वको सरकारलाई पार्टीको तर्फ समर्थन गर्दै संघ र प्रदेशसम्म सत्ताको भागबाँडामा बार्गेनिङ गर्ने माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले बताए। अर्को तर्फ ठूला राजनीतिक पार्टीको भन्दा साना पार्टी गठन गरेर जनमत प्रात गरेर सत्तामा जाने नेताहरू बढेको छ।

६ महिनाअघि मात्रै गठन भएको रवि छामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी संघमा २० सिट जित्दै प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा उपप्रधानसहित सरकारमा गएको छ। केही समय पहिले गठन भएको नागरिक उन्मुक्ति पार्टी ४ सीट जितेर सरकारमा जाने तर्खरमा छ। मधेसमा मधेसी दललाई खुम्च्याउँदै सीके राउत नेतृत्वको जनमत पार्टी ६ सिटसहित सरकार गएको छ।

राजनीतिक विश्लेषक चन्द्रकिशोर थप्छन्, ‘यस्तो सफलताले केही मान्छेलाई यस्तो पनि भएको छ कि सानो दल भए पनि एउटा सानो परिधिमा उसले राम्रो काम गर्दा पनि शक्ति आर्जन गर्न सक्छ। ठूलो दलको कमैया रहनुभन्दा बरु सानो घरकै मुख्य मान्छे रहौं भन्ने सोंच राजनीतिमा बनेको छ।’

आम पार्टीको सरकार बनाउने लक्ष्य

गठित आम जनता पार्टीका जनवर्गीय युवा संगठन आइटी आर्मीका अध्यक्ष तथा प्रचारप्रसारको जिम्मेवारी पाएका सीबी साहले आफ्नो नेता सत्तामा जानका लागि पार्टी गठन नगरेको दाबी गरे। ‘ कुनै पार्टी र सरकारमा जानका लागि उहाँ (प्रभु साह)ले आम जनता पार्टी गठन गर्नुभन्दा दुवै शक्ति एमाले र माओवादीलाई एकैठाउँमा ल्याएर सरकार बनाउन उहाँको बिशेष भूमिका रह्यो,’ उनले भने, ‘सबै दलहरुको सहमतिमा राष्ट्रिय सरकार बनोस् भन्ने विषयमा उहाँको प्रयास जारी छ। यसका लागि उहाँको जुन अहिलेको पोजिसन (स्वतन्त्र सांसद) थियो। यसले पुग्दैन भन्ने महसुस भयो। त्यसका लागि औपचारिकरूपमा पार्टी गठन गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन उहाँ लाग्नुभयो।’

पार्टी दस्ताबेज तयार हुँदै

आम जनताको हितमा काम गर्ने गरि प्रगतिशिल, अग्रगामी शक्तिहरूसँग सहकार्य, एकताका लागि पहल गर्ने आम जनता पार्टीले निर्णय गरेको छ। ‘आम जनताको पार्टी बनाउनका लागि आम नेताकार्यकर्ता, अरु पार्टी, श्रमजीवी तथा बुद्धिजीवीसँग सहकार्य गर्छौं,’ आइटी आर्मीका अध्यक्ष साहले भने।

आम जनताको पक्षमा काम गर्न नेता प्रभु साह पुरानै घर (माओवादी पार्टी)मा फर्केर काम गर्दा पनि त हुन्थ्यो भन्ने अन्नपूर्णको प्रश्नमा उनले भने, ‘हुनसक्थ्यो। यो त झन सुखद कुरो हुन्थ्यो। तर, माहोल मिलेन।’

अगामी बैठकबाट पार्टीको दस्ताबेज पेस गर्न तयारीमा साह जुटेका छन्। ‘अब आम जनताको शासन व्यवस्था लागू हुनेगरी, देशमा लोकतन्त्रको अभ्यास हुनेगरी उहाँले काम गर्नुहुन्छ,’ उनले भने।

स्वतन्त्र उम्मेदवार जिताउ अभियानको ब्यानरमा जितेका, उम्मेदवार बनेका नेताहरुलाई पार्टीमा ल्याउन छलफल जारी रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.