रानीजमरा कुलरिया नहरको परीक्षण (तस्बिरसहित)

रानीजमरा कुलरिया नहरको परीक्षण (तस्बिरसहित)

टीकापुर : बहुप्रतिक्षित राष्ट्रिय गौरवको रानी, जमरा कुलरिया सिँचाई आयोजनाले विस्तारित लम्की शाखा नहरको परीक्षण गरेको छ। आयोजनाको लम्की शाखा विस्तार गरिरहेको कालिका/कुमार जे.भी.ले नहर निर्माण कार्य सम्पन्न गरेसँगै आयोजनाले कर्णाली नदीबाट झण्डै २३ किलोमिटर पश्चिम पथरैया नदीमा पानी झारेर नहरको परीक्षण गरेको हो। 

मुख्य नहरको डुँडेझारीबाट पश्चिम पथरिया नदीसम्म १४ दशमलव ६५ किलोमिटर नहर निर्माण सम्पन्न भएपछि पानी छोडेर परीक्षण गरिएको आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर प्रेम लासिबाले बताए। उक्त नहरमध्ये ६ किलोमिटर पक्की नहर छ भने बाँकी कच्ची नहर छ। 

‘हामीले ७ वर्षको मेहनत लगाएर लम्की शाखाको नहर निर्माण कार्य सम्पन्न गरेका छौं’ सूचना अधिकारी समेत रहेका लासिबाले भने। ‘यो नहरबाट लम्कीचुहा नगरपालिकाको तीन वटा वडाको ६ हजार बढी हेक्टरमा सिँचाइ सुविधा पुर्‍याइनेछ।’ कैलालीको बल्चौरस्थित मुल नहर 

निर्माण कम्पनी कालिका/कुमार जेभीले २०७३ साउन २३ गते आयोजनासँग सम्झौता गरी नहर निर्माण सुरु गरेको थियो। २०७५ असार ३१ गतेभित्रै निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख भएपनि रुख कटान, मुआब्जा विवाद जस्ता कारणले नहर निर्माणमा ढिलाई भएको थियो। सूचना अधिकारी लासिबाका अनुसार नहर निर्माणका लागि पटक–पटक गरी छ पटकसम्म म्याद थप गरिएको थियो।  

निर्माण कम्पनीका प्रतिनिधि सचित्र पोखरेलले मुख्य रुपमा नहर क्षेत्रमा पर्ने रुख कटान र मुआब्जा वितरणमा ढिलाई हुँदा निर्माण प्रभावित भएको बताए। ‘सम्झौता भएको झण्डै डेढ वर्षपछि बल्ल रुख कटानको काम शुरु भयो, जरा उखेल्नमै समस्या आइलाग्यो।’ पोखरेलले भने ‘ऐलानी जग्गाको मुआब्जा र केही जग्गा छुट भएका कारण पनि थप ढिलाई भएको हो।’ 

लम्की शाखा नहर विस्तारका लागि १ अर्ब ७९ करोड ३३ लाख १ हजार रुपैयाँमा आयोजनाले निर्माण सम्झौता गरेको थियो। आयोजनाका अनुसार नहर निर्माणका क्रममा २ हजार ६८८ रुख काटिएका थिए भने ३० हेक्टर नम्बरी र १५ दशमलव ५ हेक्टर ऐलानी गरी ४५ दशमलव ५ हेक्टर जमिनको मुआब्जा वितरण गरिएको थियो। आयोजनाले मुआब्जा वाफत ८५ करोड रुपैयाँ वितरण गरेको जनाएको छ।  

कर्णालीको पानी पथरैया नदीमा 

कैलालीको पूर्वी क्षेत्रका टीकापुर नगरपालिका तथा जानकी गाउँपालिकामा सिँचाइ गर्नका लागि परम्परागत रुपमा सञ्चालित रानी, जमरा र कुलरीया कुलालाई आधुनिकीकरण गर्न सन् २०११ मा आयोजना सुरु भएको थियो। योसँगै आयोजनाले लम्कीचुहा नगरपालिकाको थप ६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउन लम्की शाखा विस्तार गरेको हो। 
आयोजनाले आगामी दिनमा नहरको पानीलाई किसानका खेतसम्म पुर्‍याउने योजना बनाई रहेको छ। आयोजनाका डिभिजनल इञ्जिनियर टोपबहादुर खत्रीले आयोजनाको दोस्रो चरणमा किसानका खेतसम्म सिँचाइ पुर्याउनका लागि संरचना निर्माण गरिने बताए। 

‘नहरका विभिन्न पाँच ठाउँबाट आउटलेट छोडेका छौं’ उनले भने। ‘कतिपय ठाउँमा पुरानै कुलोहरु छन् भने कतिपय ठाउँमा कुलो निर्माण गर्नेछौं। जसका माध्यमबाट किसानका खेतसम्म सिँचाइ सुविधा पुर्‍याउन दोस्रो चरणमा काम गरिनेछ।’ उनले आयोजनाले पथरैया नदीबाट अगाडि कान्द्रा नदीसम्म नहर विस्तार गर्ने लक्ष्य लिएको बताए। 

लम्कीचुहा नगरपालिकाका वडा नं. ४, ६ र ८ मा सिँचाइ सुविधा थिएन। आयोजनाले नहर निर्माण गरी पानी छोडेपछि त्यस क्षेत्रका किसानहरु खुशी भएका छन्। आयोजनाको नहरबाट बाह्रै महिना सिँचाइ सुविधा पाउने भएपछि उनीहरु खुशी भएका हुन्। 

लम्की चुहा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष हरिप्रसाद चौधरीले नहरमा पानी आएपछि खुशीयाली छाएको बताए। ‘किसानको आयस्तरमा सुधार हुनेछ, तरकारी खेती लगायत नगदे बालीको उत्पादन बढनेछ’ वडाध्यक्ष चौधरीले भने। ‘अब नहरबाट किसानका खेतसम्म सिँचाइका लागि कुला बनाउन भने बाँकी छ।’ 

  • राष्ट्रिय गौरवको नहरमा पानी
  • कर्णालीको पानी पथरैया नदीमा झारियो
  • थप छ हजार हेक्टरमा सिँचाई हुने 

कर्णाली चिसापानीस्थित मुख्य इन्टेकबाट झण्डै २३ किलोमिटर पश्चिम पथरीया नदीसम्म पानी पुर्‍याइएको छ। अहिले परीक्षणका रुपमा नहरमा पठाइएको पानीलाई पथरिया नदीमा झारिएको छ। कर्णाली नदीको पानी पथरिया नदीसम्म पुगेपछि स्थानीय अचम्मित परेका छन। उनीहरुले कहिल्यै कल्पना नगरेको कुरा आयोजनाले सम्भव पारेको बताए। 

‘कर्णालीको पानी हाम्रा खेतसम्म पुग्छ भन्ने कल्पना समेत गरेका थिएनौं’लम्कीचुहा वडा नं. ४ का स्थानीय कमला चन्द ठकुरीले भनिन्। ‘सिँचाइको सुविधा केही नभएको ठाउँमा नहरमा पानी आएपछि हामी खुशी भएका छौं, यो ठूलो खुशीको कुरा हो।’

उनी जस्तै धेरै किसानले कर्णाली नदीको पानी खेतसम्म पुग्नुलाई ठूलो उपलब्धि ठानेका छन्। उनीहरुले तरकारी खेती, पशुपालन लगायतका कुरामा मनग्ये आम्दानी हुने आशा गरेका छन्।  लम्की शाखा नहर   

कर्णाली चिसापानीस्थित मुख्य इन्टेकबाट करिव साढे आठ किलोमिटर टाढा रहेको डुँडेझारीसम्म नहर निर्माणको काम समेत सम्पन्न भैसकेको छ। सोही ठाउँबाट नहर दक्षिणतर्फ रहेको कटासेबाट रानी, जमरा र कुलरिया कुलामा छोडिनेछ। यी तीनवटै कुलामार्फत् पानी किसानका खेतसम्म पुग्नेछ।  

डुँडेझारीदेखि दक्षिण कटासेमा आयोजनाले विद्युत गृह निर्माण गरिरहेको छ। उक्त विद्युत गृहबाट ४ दशमलव ७ मेगावाट विद्युत उत्पादन हुने बताइएको छ। विद्युत गृह निर्माणको काम सम्पन्न नभएकाले दक्षिणतर्फको नहरमा भने पानी छोडिएको छैन। 

आयोजनाका इलेक्ट्रिकल इञ्जिनियर धु्रवराज पौडेलले विद्युत गृहमा टर्वाइन जडान भएर डाइनामो जडानको कार्य भइरहेको बताए। ‘असारसम्ममा विद्युत उत्पादन परीक्षण गर्ने योजना बनाएका छौं’ इञ्जिनियर पौडेलले भने,‘अहिलेसम्म विद्युत बाल्न सकिने थियो, कार्तिकमा आएको बाढीका कारण विद्युत गृहमा क्षति पुगेपछि केही ढिलाई भएको हो।’

सिँचाइ आयोजना निर्माण सम्पन्न भएपछि यसक्षेत्रको करिव ३८ हजार ३ सय हेक्टर भू–भागमा सिँचाइ सुविधा पुग्नेछ। जसमध्ये अहिले सिँचाइ भैरहेको रानी, जमरा र कुलरीया नदी अन्तर्गतको १४ हजार ३ शय हेक्टर, लम्की शाखा नहर अन्तर्गतको ६ हजार हेक्टर र कान्द्रा नदीसम्म नहर पुग्दा थपिने १८ हजार हेक्टर भूभाग रहेको छ।

सन् २०२३ डिसेम्बर ३१ तारिखमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ। यस आयोजनाको कुल लागत २७ अर्ब हो। यो आयोजना विश्व बैंकको अनुदान, नेपाल सरकारको संयुक्त लगानी र जनश्रमदानमा निर्माण भैरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.