सत्ती भन्सारमा अख्तियारको छापा
टीकापुर : भारतीय बजार तिकुनियाँबाट विना भन्सार चारवटा एसी ल्याएका खक्रौलास्थित सत्ती भन्सार कार्यालयका प्रमुख विमलकुमार साहबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ।
आयोगको महेन्द्रनगरस्थित कार्यालयले शुक्रबार कार्यालयमा पुगी घटनाबारे अनुसन्धान थालेको हो।
भारतबाट विना भन्सार पानासोनिक कम्पनीका चारवटा एसी ल्याउँदै गरेको समाचार 'अन्नपूर्ण पोस्ट्'ले प्रकाशित गरेपछि घटनाबारे अख्तियारले चासो लिएको थियो।
आयोगको महेन्द्रनगर कार्यालयका प्रमुख रामबहादुर कुरुवाङले घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिए।
चारजनाको टोलीले कार्यालयका कर्मचारीहरुसँग सोधपुछ गर्नुका साथै केही कागजात समेत नियन्त्रणमा लिएको बताइएको छ।
भन्सार कार्यालयका प्रमुख साह नै तस्करीमा संलग्न रहेको समाचार प्रकाशित भएपछि आयोगले अनुसन्धान थालेको हो।
उनले केही दिन अघि भन्सार कार्यालयको से.१ झ ३०२ नम्बरको गाडीमा भारतीय बजार तिकुनियाँबाट एसी ल्याइरहेको अवस्थामा रंगेहात पक्राउ परेका थिए। उनको गाडीबाट पानासोनिक कम्पनीका एसी बरामद भएका थिए।
उनले आफ्ना जेठान नाता पर्ने घनश्याम चौधरीलाई करारमा कार्यालयको ड्राइभरमा नियुक्त गरेका छन्।