सेयर बजारमा ‘बहार’
काठमाडौं : नयाँ सरकार गठनपछि सेयर बजारमा एकाएक ‘बहार’ छाएको छ। लामो समयदेखि ओरालो लागेको सेयरबजार ‘नेप्से’ गत साताका ४ दिनमा १ सय ६२ अंकले बढ्यो। गत साता (सेयर कारोबारको अन्तिम दिन बिहीबार) २ हजार २९ दशमलव ०३ को बिन्दुमा पुग्यो।
एमाले र माओवादीसमेतको गठबन्धनमा पुस १० गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने। प्रधानमन्त्री नियुक्त भएको भोलिपल्टैदेखि सेयरबजारमा हरियाली छायो। त्यसको प्रमुख कारण थियो– खुला अर्थनीति र सेयरबजारप्रति सकारात्मक अर्थमन्त्री आउने ‘आस’। नभन्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थ मन्त्रालयको नेतृत्व सम्हाले लगत्तैदेखि सेयरबजार उकालो चढेको चढ्यै छ।
पौडेलले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेकै दिनदेखि सेयरबजारका समस्या समाधानमा पहल गरे। उनी मन्त्री बनेकै दिन बसेको मन्त्रिपरिषद् बैठकले पुँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्र गतिशील बनाउने निर्णय गर्यो। सेयर लगानीकर्तासँग छलफल गर्दै समस्या समाधानमा पहल गर्ने वचन दिए। यसबाट पनि लगानीकर्ता थप उत्साहित बने।
नयाँ सरकार बनेको साताका चार दिन सेयर कारोबार भयो। तीन दिन नेप्से बढ्यो। एकदिन सामान्य ‘करेक्सन’ भयो। गत आइतबार सार्वजनिक बिदा भएकाले सेयर कारोबार भएन। सोमबार ५६ दशमलव ८६ अंकले बढेको सेयरबजार परिसूचक मंगलबार ५९ दशमलव ८७ अंकले उकालो लागेको थियो। बुधबार भने नेप्सेमा ११ दशमलव ८१ अंकको ‘करेक्सन’ आयो। भोलिपल्टै ५६ दशमलव ८८ अंकले बढ्यो। पौडेललाई सेयरबजार मैत्री अर्थमन्त्री भनेर चिनिने गरेको छ। उनी तेस्रोपल्ट अर्थमन्त्री बनेका हुन्। उनको पहिलो र दोस्रो कार्यकालमा सेयरबजारले ‘रेकर्ड’ नै कायम गरेको थियो।
पहिलो कार्यकालमा नेप्से १ हजार ८ सय ८१ अंकसम्म पुगेको थियो भने दोस्रो कार्यकालमा सो रेकर्डलाई पनि तोडेर २ हजार ८ सय ७१ को अंकसम्म पुगेको थियो। अर्थमा पौडेल तेहेरिँदा लगानीकर्ताले यस्तै अर्को उच्च बिन्दुको अपेक्षा गरेका छन्। सँगसँगै माघ महिना लाग्दै गर्दा सेयरबजार बढ्ने अनुमान लगानीकर्ताको छ। विगतका वर्षमा माघमा सेयरबजार बढ्ने ‘ट्रेन’ पनि छ। नेपाल इन्भेस्टर्स फोरमका प्रथम उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘माघ लागेपछि बजार बढ्ने भन्ने अपेक्षाका साथ लगानीकर्ताले सेयर किनेर राख्ने सोच बनाएको देखिन्छ।’ सेयरबजारप्रति सकारात्मक धारणा राख्ने व्यक्ति अर्थमन्त्री हुँदा लगानीकर्ता उत्साहित बनेको उनको भनाइ छ।
अर्थमन्त्री पौडेललाई सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल सेयरबजारले रुचाएको व्यक्ति मान्दछन्। ‘उहाँको यसअघिको दुई वटा कार्यकाल सेयरबजारका लागि सुखद रहेको थियो,’ फुल्लेलले भने, ‘उहाँ आइसकेपछि बजारमा सकारात्मक लहर छाएको छ।’
फुल्लेलले अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि सेयरबजार उकास्नुपर्ने पक्षमा सकारात्मक देखिएको उनले बताए। मन्त्री पौडेलले फोरम र संघका पदाधिकारीसँग भेट गरी अर्थतन्त्र र सेयरबजार सुधारको सुझाव लिइसकेका छन्। सो क्रममा पौडेलले आर्थिक समृद्धिका लागि सेयरबजार अपरिहार्य रहेको बताउँदै लगानीकर्ताको माग पूरा गर्न सम्बन्धित निकायहरूसँग समन्वय गर्ने प्रतिबद्धता पनि गरेका छन्।
लगानीकर्ताहरूको समूहले सेयरबजार सुधार र दिगो विकासको लागि ४ बुँदे मागसहितको सुझाव दिएका थिए। राष्ट्रबैंकले कायम गरेको सेयर धितोकर्जाको १२ करोड रुपैयाँको सीमा हटाउन, मार्जिन कर्जाको जोखिम भारित औसत १५० बाट झारेर १०० प्रतिशत कायम गर्न, ब्रोकर कमिसन घटाउन र बैंकलाई ब्रोकर लाइसेन्स दिन पहल गर्न उनीहरूको माग छ।
भेटकै क्रममा पौडेलले आफू अर्थमन्त्री हुँदा सेयरबजार १८ सय ८१ र पुरानो रेकर्ड आफ्नो दोस्रो कार्यकालमा तोडिएको स्मरण गरेका थिए।
यस्तो रह्यो साता, लगानीकर्ताले कमाए २ खर्ब ३४ अर्ब रुपैयाँ
कुल चार दिन कारोबार भएको सातामा सेयर लगानीकर्ताको कुल सम्पत्ति २ खर्ब ३४ अर्ब रुपैयाँले वृद्धि भएको छ। नेप्सेका अनुसार अघिल्लो साताको समाप्तिसम्म २७ खर्ब २ करोड रुपैयाँ रहेको बजार पुँजीकरण २९ खर्ब ३४ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ। साताभर नेप्से परिसूचक १ सय ६१ दशमलव ८२ अंकले बढेर २ हजार २९ दशमलव ०३ अंकमा आइपुगेको छ।
बजारमा साताभर १ लाख ८७ हजार कारोबारमार्फत ३ करोड २२ लाख ३७ हजार कित्ता सेयर १० अर्ब ९९ करोड ५३ लाख रुपैयाँमा किनबेच भएका छन्। नेप्सेमा व्यापक सुधार आएको साता सबै समूहगत उपसूचक बढेका छन्। कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स समूहको उपसूचक सर्वाधिक १७ दशमलव ३९ प्रतिशतले बढेर १ हजार ७ सय १४ दशमलव ९४ अंकमा पुगेको छ।
नेप्सेका अनुसार साताभर बैंकिङ उपसूचक ६ दशमलव ९६ प्रतिशत, होटल तथा पर्यटन उपसूचक ७ दशमलव ०२ प्रतिशत, उत्पादन र प्रोसेसिङ समूह ६ दशमलव ३३ प्रतिशत, जलविद्युत् समूह १६ दशमलव २७ प्रतिशत, ट्रेडिङ समूह ७ दशमलव ८१ प्रतिशत, विकास बैंक समूह १० दशमलव ३ प्रतिशत, लघुवित्त समूह ५ दशमलव ७ प्रतिशत, जीवन बिमा समूह ११ दशमलव २३ प्रतिशत, निर्जीवन बिमा समूह १२ दशमलव १६ प्रतिशत, म्युचुअल फन्ड समूह ४ दशमलव १ प्रतिशत, इन्भेस्टमेन्ट समूह १२ दशमलव ८६ प्रतिशत र अन्य समूह २ दशमलव ५५ प्रतिशतले बढेका छन्।