थ्रिलरमय विश्वकप

थ्रिलरमय विश्वकप

विश्वकप फुटबलको ९२ वर्षको इतिहासमा कुनै पनि फाइनल खेलको पटाक्षेप यसरी होला भनेर सायदै कसैले सोचेका थिए। फुटबलका सबै पारखीलाई अवगतै छ, नियमित समय अनि थप समयपछिको पेनाल्टी सुटआउटका गोललाई व्यक्तिगत गोलका रूपमा गणना गरिँदैन। तथापि विश्वकपको फाइनल जस्तो खेलमा दुवै टोलीका १० नंका जर्सीधारीले पेनाल्टी गोल र अन्य गोल गरी सात गोल दाग्नु भनेको आफैंमा कीर्तिमान भयो।

कतार विश्वकपको १२० मिनेट लामो फाइनल खेलको पूर्वाद्र्ध एकदमै निरस देखियो। लाग्थ्यो, फ्रेन्च कोच डिडियर डेस्चाम्प अनि फ्रेन्च टोली मेस्सीमाथि सहानुभूति जनाएर तिनीहरूले नै जितोस् जस्तैगरी केवल प्राक्टिस म्याच मात्रै खेलिरहेको छ। नियमित समयको पहिलो हाफमा अर्जेन्टिनी टोली नै हावी भैरह्यो, फ्रेन्च टोली निकै निरीह देखिरहेको थियो।

फाइनल खेलको २३औं मिनेटमा डि मारियालाई डेम्बेलेले डिबक्सभित्र लडाएका कारण पोलिस रेफ्री स्जिमोन मार्सिनियाकले पेनाल्टी दिन कुनै कन्जुस्याईं गरेनन्। जसलाई अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले गोलमा परिणत गरिदिए। त्यसको १३ मिनेटपछि नै खेलमैदानको लेफ्ट विङतिरबाट निकै राम्रो खेलिरहेका डि मारियाले म्याक एलिस्टरबाट प्राप्त बललाई बिना कुनै गल्ती गोलपोष्टको दिशा दिए। खासमा म्याक एलिस्टरलाई मेस्सीले नै बल पास दिए। यसरी विश्वकप ट्रफी माथि अर्जेन्टिनाले एक हात ढुक्कले पुर्‍याए।

फाइनल खेलको आधाउधि हुनै लाग्दा धेरै दर्शकको मनमा के यो त्यही साविक विजेता फ्रेन्च टोली हो ? जो यसपटकको विश्वकपको समूह डीको समूह विजेता बन्दै प्रि–क्वार्टर फाइनलमा रोबर्ट लेवान्डोवोस्कीको पोल्यान्ड, क्वार्टरफाइनलमा ह्यारी केन प्रेरित युवा ईंल्यान्ड टोली अनि सेमीफाइनलमा अफ्रिकन अन्डरडग मोरक्कोले हराई लगातार फाइनल पुग्ने टोली थियो। खेल मध्यान्तरमा पुग्नै लाग्दा फ्रान्सका लागि सर्वाधिक गोलकर्ता ओलिभर जिरुड (५३ गोल) र आउसमाने डेम्बेलेको ठाउँमा क्रमशः मार्कुस थुराम र रान्डाल कोलोमुआनीलाई मैदानमा पठाउँदा डिडियर डेस्चाम्पको यो निर्णयमा धेरैजना खुसी भएनन्।

मध्यान्तर भयो, लगत्तै दोश्रो हाफको खेल पनि सुरु भयो। तर पनि फ्रेन्च टोली शिथिल नै देखिन्थ्यो। मानौं, लगभग हार स्वीकार गरिसकेका थिए। मैदान भित्र र बाहिर सारा विश्वमा सेतो र आकाशे रङको धर्के टिसर्ट लगाइरहेका अर्जेन्टिनी फ्यानहरूले उत्सव मनाउन थालिसकेका थिए। खेलको ६४औं मिनेटमा अर्जेन्टिनाको एन्जेल डि मारियालाई मार्कोस एक्युनाले स्थानापन्न गरेपछि अर्जेन्टिनीहरूको खेलमा पनि सुस्तता आयो। सायदै जितिसक्यौं भने भावले पनि होला। यस्तैमा खेलको ७१औं मिनेटमा यस पटकको फ्रेन्च टोलीका प्लेमेकर एन्टोइन ग्रिजम्यानलाई निकालेर किङस्ले कोम्यानलाई मैदान पठाएपछि १९९८ विश्वकप विजेता टोलीका प्रशिक्षक डेस्चाम्पलाई धेरैले सनकी ठाने। तर डिडियर डेस्चाम्पको दिमागमा के चलिरहेको थियो भन्ने कुरा सारा विश्वले खेलको ८० मिनेटपछि मात्र थाहा पाए। तिनै स्थानापन्न खेलाडीहरू मार्कुस थुराम, कोलो मुआनी र कोम्यानले कतार विश्वकप फाइनलको कहानीमा कसरी ट्विस्ट ल्याए भने सारा फुटबलप्रेमी चित् खाए। 

अर्जेन्टिनी समर्थकहरू त अवाक् नै भए। यसपछिको फाइनल खेलमा एकाएक परिवर्तन आयो। खेलको ७९औं मिनेटमा कोलो मुआनीलाई अर्जेन्टिनाका ओटामेन्डीले डिबक्सभित्र लडाएका कारण फ्रेन्च टोलीलाई पेनाल्टी किक प्राप्त भयो। यस पेनाल्टी किकमा किलिएन एमबाप्पेले कुनै गल्ती गरेनन्। खेलको ८१औं मिनेटमा मार्कुस थुरामकै असिस्टमा एमबाप्पेले प्रतियोगिताकै व्यक्तिगत छैठौं गोल गरे। केवल दुई मिनेटभित्र के भयो, अर्जेन्टिनी खेलाडीहरूले ठम्याउनै सकेनन्। खेललाई निर्धारित समयसम्म बराबरीमै पुर्‍याउन सकेकोमा अर्जेन्टिनीहरूले धन्य ठाने जबकि यतिन्जेल फ्रेन्च खेलाडीहरू निकै हौसिइसकेका थिए। फाइनल खेल हेरिरहेका विश्वका करौडौं दर्शकको मुटुको ढुकढुकी निकै तेजले धड्किन थालेको थियो। विशेषतः अर्जेन्टिनी समर्थकहरूको ओठ तालु सुकिसकेको थियो। कतिबेला के हुन्छ कसैले भन्न सक्ने अवस्था थिएन। मेस्सीको मुखैमा आइसकेको उपलब्धि एमबाप्पेले बिस्तारै टाढा खिच्दै लगेकोमा अर्जेन्टिनी समर्थकहरूको निधारमा निराशाका धर्का कोरिन थाले।

यस्तै, खेलको १०८औं मिनेटमा लाउतारो मार्टिनेजले पोष्ट ताकेरै हानेको बल फ्रेन्च गोलरक्षक लोरिसले फर्काएको मात्र के थियो, त्यसलाई अर्जेन्टिनी कप्तान मेस्सीले बिजुलीको गतिमा एकाएक गोलमा परिणत गरे। तत्क्षण न मैदान भित्रका दुवै पक्षका खेलाडीलाई हेक्का भयो न लुसेल रंगशालामा फाइनल खेल हेरिरहेका हजारौं दर्शकहरूलाई नै कि त्यो गोल कसरी सम्भव भयो ? रेफ्री लगायत फाइनल खेलाइरहेका अफिसियलहरूलाई पनि शंका लागेर भीएआरचेक गरे, कतै अफ साइड पो थियो कि भनेर तर गोल नै साबित भयो। विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गरेका मेस्सीको यो गोलसँगै अर्जेन्टिनी समर्थकहरूको सातो फर्कियो। अब खेल सकिन केवल १२ मिनेट मात्र बाँकी थियो। मेस्सीले जित्न बाँकी ट्रफी भनेको यही विश्वकप मात्र थियो। अब भने विश्वकप ट्रफीमा अर्जेन्टिनाले दुईटै हात पुर्‍याइसकेको आभास भयो। तर भावीलाई यो कुरा मञ्जुर रहेनछ।

फाइनल खेलको थप सकिन केवल दुई मिनेट छँदा रेगुलर समयको ९० मिनेटमा मोलिनालाई विस्थापित गर्दै मैदान छिरेका अर्जेन्टिनाका गोन्जालो मोन्टिएल एकाएक खलनायक साबित भए। एमबाप्पेले हानेको बल छेक्ने क्रममा डिबक्स एरियाको ठिकभित्र रहेका मोन्टिएलको कुईनामा बलले छोएको दृश्य नजिकै रहेको पोलिस रेफ्रीको आँखाबाट ओझेल परेन र फ्रान्सलाई पेनाल्टी किक बक्स भयो। यस पेनाल्टीलाई सही दिशा दिएर एमबाप्पे विश्वकपको इतिहासमा फाइनल खेलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी (१९६६ विश्वकपमा पश्चिम जर्मनीविरुद्ध ईंगल्यान्डका जिओफ हस्र्ट) बने। र, कतार विश्वकपकै सर्वाधिक गोलकर्ता (८ गोल) गरी मेस्सीको भाग्यबाट गोल्डेन बुट खोसे।

कहानी कहाँ यत्तिकैमा सकियो र ? विश्वकपको इतिहासमा तेस्रो चोटी (१९९४ र २००६ पछि) पेनाल्टी सुटआउटबाट निर्णयार्थ पोलिस रेफ्रीले सिट्टी बजायो। ब्राजिल र क्रोएसियाबीचको क्वार्टर फाइनल खेलमा तिनीहरूका कप्तान गरेको गल्ती एमबाप्पे र मेस्सीले यो फाइनल खेलको पेनाल्टी सुटआउटमा दोहोर्‍याएन। अर्थात् एमबाप्पे र मेस्सीले सुरुआती पेनाल्टी हान्न आए र गोलमा परिणत गरे। तर त्यसपछि भने फ्रेन्च खेलाडीको दुर्भाग्य सुरु भयो। स्थानापन्न खेलाडी किङस्ले कोम्यानको किक अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले सही दिशामा डाइभ दिएर पन्च गरी सेभ गर्‍यो। अउरेलिइन चाउआमेनीले पोष्ट बाहिर बल हाने। रान्डाल कोलो मुआनीले गोल गरुञ्जेल ढिलो भइसकेको थियो। मेस्सीपछि पेनाल्टी हान्न आएका एकपछि अर्को अर्जेन्टिनी खेलाडी पाउलो डिबाला, लियान्ड्रो परेदेश र गोन्जालो मोन्टिएलले गल्ती गरेनन्।

यसरी फाइनल खेलको थप समय पेनाल्टी सुटआउट पुगेको पाप बोकेका गोन्जालो मोन्टिएलको पनि पखालियो। व्यक्तिगत रूपमा विश्वकप जित्ने मेस्सीको एउटै मात्र धोको त पूरा भयो। सन् १९८६ विश्वकपका खेलहरू झ्यारझ्यार हेरेर विश्वकप हेर्न बानी पारेका तथा त्यतिबेलादेखि नै अर्जेन्टिनाका फ्यान बनेका नेपाली दर्शकको मुहारमा पनि खुसी पोतियो।

रेकर्डमाथि रेकर्ड

यस फाइनल खेलमा निकै रेकर्डहरू स्थापित भए। लियोनेल मेस्सीे विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडी बने। यसअघि जर्मनीका लोथार माथ्युसले २५ खेल खेलेको रेकर्ड थियो। ह्युगो लोरिस सर्वाधिक २० खेल खेल्ने गोलरक्षक बने। अर्जेन्टिनाका मेस्सी समूह चरण, प्रि–क्वार्टर फाइनल, क्वार्टर फाइनल, सेमी फाइनल एवं फाइनलमा गोल गर्ने एक मात्र बने।

किलिएन एमबाप्पेले लगातार दुई फाइनलमा गोल गर्ने एवं विश्वकप फाइनलमा सर्वाधिक गोल ४ गोल गर्ने खेलाडी बने। अर्जेन्टिनाका इमिलियानो मार्टिनेज र फ्रान्सका ह्युगो लोरिस एकै लिग (ईंगलिश प्रिमियर लिग) मा खेल्ने गोलरक्षकहरूले यस पटक गोलपोष्ट सम्हाले। यसअधघि १९९४ को विश्वकपमा ब्राजिलका क्लाउडियो टाफारेल र इटालीका जियानलुका पाग्लिइयुका त्यसरी एउटै लिग (सिरी ए) खेल्ने गोलरक्षकहरू थिए। १९९० को विश्वकपमा अर्जेन्टिना, १९९८ को विश्वकपमा ब्राजिल पनि लगातार फाइनल पुगे पनि यस पटक फ्रान्सले जस्तै उपाधि रक्षा गर्न सकेका थिएनन्। अर्जेन्टिना पेनाल्टी सुटआउटमा सर्वाधिक सफल हुने टोली बने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.