पशुपतिनाथ र कैलाशको उत्खनन गरिने
काठमाडौं : पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ र कैलाशको पहिलो पटक उत्खनन गर्ने भएको छ। पाशुपत क्षेत्रको दोस्रो गुरुयोजनाको अवधारणाअनुसार सात स्थान र विषयको अन्वेषण गरिने भएको हो। जसमा गोपाल वंशको सन्दर्भ, किरातेश्वर एवं किरातकालीन सन्दर्भ (मोहप्रिय र लोहप्रियसमेत), देवगर्त ग्राम, भष्मेश्वर घाट, नवग्रह, कर्मुका सुवर्णपुरी र देवपत्तन छन्।
यो गुरुयोजना दुई वर्षअघि नै तयार भए पनि स्वीकृत हुन सकेको थिएन। त्यसमा संशोधन र पुनरावलोकनपछि संस्कृतिमन्त्री अध्यक्ष रहेको कोषको सञ्चालक परिषद्ले हालै यसलाई पारित गरेको हो। दुई वर्ष लगाएर परिमार्जनपछि दोस्रो गुरुयोजना परिषद्बाट पास भएको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले बताए।
‘यो गुरुयोजनाले पाशुपत क्षेत्रको मुहार बदलिनेछ’, सदस्यसचिव डा. थापाले भने, ‘मुख्यतः पशुपतिनाथ, कैलाश, भष्मेश्वरलगायत सात ठाउँ र विषयको अन्वेषण र उत्खनन गर्ने योजना छ।’ उक्त सात क्षेत्र र विषयको ऐतिहासिक विकासक्रमको अध्ययन, अनुसन्धान, अन्वेषण एवं उत्खननलगायत कार्यलाई प्राथमिकतामा राखिएको छ। उक्त कार्य पुरातत्त्व विभागको सहयोग र समन्वयमा गरिने गुरुयोजनामा उल्लेख छ।
पाशुपत क्षेत्रमा यसअघि २०५६ सालमा १० वर्षे पशुपति क्षेत्रको अवधारणात्मक गुरुयोजना लागू भएको थियो। मन्त्री अध्यक्ष रहने कोषको सञ्चालक परिषद्ले स्वीकृत गर्ने कानुनी प्रावधान रहेकाले गुरुयोजना मन्त्रिपरिषद्मा लैजानु नपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए।
उनका अनुसार अब यो गुरुयोजना राष्ट्रिय गौरवको भएकाले राष्ट्रिय योजना आयोगमा पठाइन्छ। त्यसपछि यसका लागि आवश्यक बजेट योजनामा राखिन्छ। जुन बहुवर्षीय प्रणालीमा जान्छ। योजना स्वीकृत गरेपछि अर्थ मन्त्रालय जान्छ र बजेटको व्यवस्था गरेपछि रातोकिताबमा राखिने उनको भनाइ छ। उनका अनुसार त्यसपछि गुरुयोजना कार्यान्वयनमा जानेछ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले दोस्रो गुरुयोजना गौरवको र महत्वपूर्ण भएको बताए। ‘मुलुकको १५औं आवधिक योजनामा गुरुयोजना बनाएर कार्यान्वयनमा लगिने भनिएको थियो। जुन काम हालै सम्पन्न भएको छ’, उनले अन्नपूर्ण पोस्ट्सँग भने। उनका अनुसार विश्व सनातनीको भएकाले सबै धर्मावलम्बी पशुपतिनाथ आउने गरी अन्तर्राष्ट्रियकरण गर्ने लक्ष्य छ। दोस्रो गुरुयोजनाका लागि पहिलो पाँच वर्षमा १ अर्ब ३० करोड हाराहारी खर्च गरिने उनको भनाइ छ।
‘बर्सेनि ३०–३५ करोड खर्च थप्दै लैजाने भनिएको छ। यसमा कोषले गर्ने वार्षिक विकास खर्च जोडिएको छैन। धर्म, संस्कृति र सम्पदा बचाउने भएकाले यो लगानी फलदायी हुनेछ’, उनले भने। तर, गुरुयोजनामा कुल लगानी र समय भने यति नै भनेर किटान गरिएको छैन।
पशुपति क्षेत्रको संरक्षण र व्यवस्थापन गुरुयोजना तयारी समितिका सदस्य भीम नेपालले मान्यताका दृष्टिले उपत्यकाको सबैभन्दा पुरानो ठाउँ पशुपति भएकाले यसको संरक्षण र व्यवस्थापनले अन्तर्राष्ट्रिय महत्व पाउने बताए। ‘यस पाशुपत क्षेत्रमा साहित्यिक स्रोत वंशावलीदेखि लिच्छवीका अभिलेख छन्। हिमवत्खण्डमा नेपाल प्रसंगमा पशुपतिको सन्दर्भ प्रयोगमा छन्’, नेपालले भने, ‘पशुपति पारी किरातकालमै केही काम भएको हुन सक्ने देखिन्छ। मृगस्थली, भण्डारखालमा उत्खनन् भयो। चर्चा भएको छ। आजको भोलि होइन, दीर्घकालीन योजना हो।’
उनका अनुसार बागमती पारीको स्थान एकदमै महत्वको हुने देखिन्छ। गुरुयोजनाअनुसार पाशुपत क्षेत्र धार्मिक मात्र नभएर जात्रापर्व आदि कारण जीवन्त छ र यो अभिन्न अंग हो। ‘सयौं वर्षदेखि यसले ट्रान्समिसन अफ नलेजका रूपमा काम गरिरहेको छ’, उनले भने, ‘पशुपतिनाथ संस्कृति, जीवनशैली त हुँदै हो, थप यसमा सीप ज्ञान पनि लुकेको छ।’
परिषद्ले अत्यावश्यक वा बनाउनपर्ने र मिल्ने संरचना मन्दिर आसपास पनि बनाउने र बाँकी नयाँ संरचना तिलगंगास्थित आँखा अस्पतालछेउ रहेको ५ रोपनीमा बनाउने गरी खाका गुरुयोजनामा थप्ने निर्णय गरेको छ।