५ महिनामा १५५ फरार व्यक्ति पक्राउ
काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौले उपत्यकामा पछिल्लो ५ महिनामा १५५ जना फरार अभियुक्त प्रक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिबाट २ करोड ९४ लाख ४९ हजार ७५६ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार परिसरमा रहेको फरार अभियुक्त पक्राउ टोलीले विभिन्न समयमा यी व्यक्ति पक्राउ गरेको हो। पुस महिनाको ११ दिनमा मात्रै ८५ जना पक्राउ गरिएको मैनालीले बताए।
आर्थिक वर्ष २०७९/०८० को साउन १ देखि पुस ११ गतेसम्म अदालतबाट विभिन्न मितिमा फैसला भई कैद र जरिवाना तोकिएका १५५ जनालाई पक्राउ गरिएको हो। उनीहरुलाई फैसला कार्यान्वयन गराउन अदालत पेश गरिएको छ। अदालतले उनीहरूलाई २९ वर्ष ५ महिना ६ दिन कैद र जरिवाना वापत २ करोड ९४ लाख ४९ हजार ७५६ रुपैयाँ असुल गरिएको हो।
मैनालीका अनुसार परिसरको प्रहरी टोलीले पुस महिनामा मात्रै ८५ जना ब्यक्तिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालत समक्ष पेश गरेको थियो। अदालतले दोषीलाई १४ वर्ष ५ महिना ५ दिन कैद र जरिवाना वापत ५४ लाख ५७ हजार ४५७ रुपैयाँ असुल गरिएको छ।