मधेसबाट आम जनता पार्टीको संरचना बनाइँदै
काठमाडौं: प्रभु साह नेतृत्वको आम जनता पार्टीले मधेस प्रदेशबाट पार्टीको आन्तरिक संरचना विस्तार गर्न थालेको छ।
पार्टीको अन्तरिम विधान, २०७९ बमोजिम पार्टी अध्यक्ष साहले मधेस प्रदेशको ८ वटै जिल्ला नेतृत्वका लागि पार्टी ईन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेका छन्। यसअघि पार्टी बैठकबाट सातै प्रदेशको ईन्चार्ज र अध्यक्ष तोकिएको थियो।
पार्टीको प्रचार विभाग प्रमुख सीबी साहले पहिलो चरणमा मधेस प्रदेशका जिल्लाबाट पार्टी संरचना स्थानीयस्तरसम्म तयार गर्न लागेको बताए।
‘यही हप्ताभित्र मधेसका जिल्लामा पार्टीको संरचना खडा गरिन्छ। माघमा मधेस प्रदेश बाहेकमा संरचना विस्तार गर्ने पार्टीको योजना छ,’, प्रचार विभाग प्रमुख साहले भने, ‘सूचना प्रविधिको बढ्दो प्रयोगलाई आत्मसाथ गर्दै आम जनतासम्म हाम्रो पार्टीको पहुँच पुर्याउने रणनीतिक योजनासहित हामी लागेका छौँ।’
रौतहट-३बाट स्वतन्त्र उम्मेदवार बनेका साह प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि एमाले छाडेको दुई महिनापछि आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका थिए।