गृहमन्त्रीले बोलाए सबै सीडीओ र सुरक्षा प्रमुखको बैठक
काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्लास्थित सुरक्षा प्रमुखहरूको संयुक्त बैठक डाकेका छन्।
गृहमन्त्रीका निजी सचिव दिपक बोहोराका अनुसार देशैभरको शान्ति र सुरक्षाको अवस्था बुझ्नका लागि भर्चुअल बैठक राखिएको हो।
'यो नियमित काम नै हो। जनताको शान्ति तथा सुरक्षा व्यवस्था सहज बनाउनका लागि गृहमन्त्रीले पहल गर्नुभएको छ', उनले भने।
मन्त्री लामिछानेको निर्देशनमा गृह मन्त्रालयले सोमबार बिहान ९ बजेका लागि भर्चुअल बैठक राखेका हुन्।
जसमा ७७ वटै प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता हुनेछ।