उठेन सुर्खेत बसपार्कको ४६ करोड भाडा
सुर्खेत : सुर्खेत सिटी बसपार्कबाट भाडा असुल्न नगरपालिकालाई कठिन परेको छ। बसपार्क सञ्चालनको जिम्मा लिएको कम्पनी पीआर कन्स्ट्रक्सनले १७ महिनासम्मको भाडा तिरेको छैन। वीरेन्द्रनगर नगरपालिका मातहतको बसपार्क सञ्चालनको जिम्मा भक्तपुरको पीआर कन्स्ट्रक्सनले लिएको थियो। उक्त कम्पनीले लामो समयसम्म भाडा नबुझाएपछि नगरपालिकाले पटकपटक ताकेता लगायो। तर, भाडा असुल भएन।
कम्पनीले बसपार्कको भाडा नतिरेपछि वीरेन्द्रनगर नगरपालिका अदालती प्रक्रियामा गयो। नगरपालिकाले गत साउन १३ गते सुर्खेत जिल्ला अदालतमा सञ्चालक कम्पनी पीआर कन्स्ट्रक्सनविरुद्ध मुद्दा दर्ता गरायो। नगरपालिकाको गत असार ३१ गतेको निर्णयअनुसार मुद्दा प्रक्रिया सुरु गरिएको थियो। वीरेन्द्रनगरका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले पीआर कन्स्ट्रक्सनबाट ४ करोड ५० लाख सावाँ र हर्जना ४२ करोड गरी ४६ करोड ५० लाख असुल गर्नुपर्ने बताए। उनले भने, ‘कम्पनीले बसपार्कको भाडा नबुझाएका कारण नगरपालिकाले अन्याय ठानेर अदालत गइसकेको छ। अदालतमा मुद्दा विचाराधीन छ। अब अदालतबाट कस्तो फैसला आउँछ। त्यसैअनुसार नगरपालिका अगाडि बढ्छ।’
असार ३१ गते नगरपालिकाले अटेर गरे सञ्चालकविरुद्ध कानुनी प्रक्रियामा जाने निर्णय गरेको थियो। ‘त्यसपछि पनि हामीले दुईपटक पत्रिकामा भाडा तिर्न भनेर सूचना जारी गरेका थियौं,’ उनले भने, ‘उहाँहरू सम्पर्कविहीन हुनुभयो। हामी कानुनी प्रक्रियामा गएका हौं।’ कम्पनीका मान्छे सम्पर्कमा नभएकाले अदालतको फैसला कुरिरहेको उनले बताए।
कन्स्ट्रक्सनले बसपार्क सञ्चालनको जिम्मा लिने सम्झौता गरेर सुर्खेतमा रहेका प्रतिनिधिलाई जिम्मा दिएको थियो। कन्स्ट्रक्सनले बसपार्क सञ्चालन गर्ने जिम्मा लिएयता २०७७ चैत १५ गतेदेखि यताको भाडा तिर्न बाँकी छ। व्यवसायी सुरेश खत्रीले सञ्चालन गरेको पीआर कन्स्ट्रक्सनका तर्फबाट सुरुमा सुर्खेत प्रतिनिधि गोविन्दबहादुर मल्ल थिए। खत्रीले उक्त फर्म बिक्री गरेर सुबेर खत्रीले चलाइरहेका छन्। तर, उनी कसैको सम्पर्कमा छैनन्। पूर्वप्रतिनिधि मल्लले भने, ‘मलाई हटाएपछि कुनै जानकारी नै छैन। नगरपालिकामा फर्मले अर्को प्रतिनिधि पनि तोकेको छैन।’
कम्पनीले २०७९ जेठ १७ गते नगरपालिकालाई निवेदन दिएको थियो। दैनिक १० लाख रुपैयाँ बराबर हुन आउने जरिबाना रकम तिर्न नसकिने निवेदनमा उल्लेख थियो। अहिले कम्पनीको नाममा बक्यौता रकमको ५ प्रतिशत जरिबाना दैनिक थपिँदै गएको छ। सम्झौताअनुसार कन्स्ट्रक्सनले मासिक ३१ लाख १५ हजार ५३२ रुपैयाँ नगरपालिकालाई तिर्नुपर्छ। अधिकृत तिवारीका अनुसार सुरुमा सम्झौता गर्दा तोकिएको समयसीमाभित्र कम्पनीले भाडा नबुझाए दैनिक पाँच प्रतिशतका दरले थप रकम तिर्नुपर्ने उल्लेख छ। दैनिक ८–१० लाखको दरले बक्यौता बढ्दै गएको छ।
वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले बसपार्क नयाँ व्यवस्थापनका साथ अगाडि बढाउन तयारी थालिएको बताइन्। बसपार्क व्यवस्थापन कार्य समिति अध्यक्षसमेत रहेकी प्रमुखले अन्नपूर्णसँग भनिन्, ‘बसपार्क सञ्चालनको जिम्मा लिएको कम्पनी पीआरले भाडा नबुझाएपछि अदालतमा मुद्दा हालेर बसपार्क नगरपालिकाको मातहत ल्याइसकेका छौं। अब तत्कालै पुनः ठेक्का खोलेर नयाँ व्यवस्थापनका साथ अगाडि बढ्छौं। पुरानो कम्पनीबाट भाडा असुल्न अदालतको फैसला कुरिरहेका छौं।’
२०६८ सालमा निर्माण थालिएको उक्त बसपार्क म्याद थपेर २०७६ मा सम्पन्न भएको थियो। सो बसपार्क २०७७ मंसिर १५ मा पीआरले सञ्चालनको जिम्मा पाएको थियो। सिटी बसपार्कमा ५४ वटा सटरसहित ग्यारेज, टिकट काउन्टर, शौचालय र पार्किङस्थल छन्।
बसपार्क व्यवस्थापन कार्यविधि २०७६ अनुसार सञ्चालक कम्पनीले कोठाभाडा, बसपार्क प्रवेश शुल्क, बस पार्किङ शुल्क, शौचालय सेवा शुल्क, विज्ञापन शुल्क र समितिको सिफारिसमा नगर कार्यपालिकाबाट निर्णय भएका अन्य शुल्क उठाउन पाउँछ। कार्यविधिअनुसार नगरप्रमुखको अध्यक्षतामा पाँच सदस्यीय बसपार्क व्यवस्थापन कार्य समिति रहन्छ। उपप्रमुख उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष सदस्य रहन्छन्। बसपार्क व्यवस्थापन हेर्ने सम्बन्धित शाखाको प्रमुख सदस्यसचिव रहने व्यवस्था छ।