दुल्लु अस्पतालमा सञ्चालनमा ल्याइयो अपरेसन थिएटर
दैलेख: दुल्लु अस्पतालमा अपरेसन थिएटर सञ्चालनमा ल्याइएको छ। नगरपालिकाले सञ्चालन गरिरहेको अस्पतालमा अपरेसन थिएटर स्थापना गरी सञ्चालनमा ल्याईएको हो।
प्राथमिक स्वास्थ्य सेवा केन्द्रबाट स्तरोन्नति भएको अस्पतालमा सोमबार औपचारिक कार्यक्रम गरी थिएटरको उद्घाटन गरिएको हो। प्रतिनीधिसभा सदस्य सीताकुमारी राना, कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारी लगाएतको उपस्थितिमा थिएटर उद्घाटन गरिएको हो।
दुल्लु नगरका मेयर भरतप्रसाद रिजालले अपरेसन थिएटर स्थापनासँगै दैलेखसहित अछाम र कालीकोटका नागरिकले सेवा पाउने बताए।
अहिले १५ शैय्याको दुल्लु अस्पताल ०४० मा स्वास्थ्य चौकीको रुपमा स्थापना भएको थियो। स्वास्थ्य चौकीबाट प्राथमिक स्वास्थ्य केन्द्र हुँदै ०७१ देखि अस्पतालको रुपमा स्तरोन्नतीको पहल थालिएको थियो। ०७४ देखि नगरपालिकाले सञ्चालन गर्ने गरी १५ शैय्याको अस्पतालको रुपमा सञ्चालनमा ल्याईएको हो। अस्पतालमा एकजना एमडीजीपी डाक्टर, तीन जना मेडिकल अफिसर, स्टाफनर्स र अनमी ११, एचए र अहेव ९, ल्याब टेक्निसियन तीनसहित ४५ जना स्वास्थ्यकर्मी छन्। अस्पतालमा दुईवटा एम्बुलेन्स छन्। एउटा बिग्रिएकाले अहिले एउटालेमात्र सेवा प्रवाह गरिरहेको अस्पताल प्रशासनले जनाएको छ।