खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङ बनाउने योजनाको किन हुँदैछ विरोध?

खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङ बनाउने योजनाको किन हुँदैछ विरोध?

काठमाडौं: खुलामञ्च, सबैका लागी सधै खुला। चाहे राजतन्त्र होस् या गणतन्त्र। स्वतन्त्रताको विगुल फुक्न होस् या सत्ताको प्रतिकार गर्न होस्। खुलामञ्च सँधै सबैको साझा बन्यो। 

दुरदराजबाट सपनाको तान बुन्दे राजधानी छिरेको बेरोजगार युवाले सुस्ताउने घर हो खुलामञ्च। हुँदा खानेहरुको भरोषाको केन्द्र पनि हो।
 

सँधै सबैलाई बर्षेादेखि खुला खुलामञ्च अब बन्द गरिँदैछ। काठमाडौ उपत्यकाको सुन्धारा क्षेत्रमा पाकिङलाई सहज बनाउने भन्दै काठमाडौ महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउण्ड पार्किङ बनाउने निर्णय गरेको छ। गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पूनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो। करौडौ रुपैयाको लागतमा काठमाडौंको मुख्य क्षेत्र मानिने खुलामञ्चको स्वरुप बिगार्न लागिएको भन्दै सम्पदाविद र अभियन्ता आन्दोलनमा छन्।
 
काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई अहिलेको अवस्था मै हुनुपर्ने र मास्न नपाइने अभियन्ताको माग छ। प्राचिन हिटी प्रणालीसँग जोडिएको खुलामञ्चको प्राकृतिक रिचार्ज सिष्टम र अन्य नकारात्मक वातावरणीय प्रभाव पर्ने भएकाले खुलामञ्चलाई चलाउन नहुने उनीहरूको तर्क छ। खुलामञ्चमा अन्डरग्राउण्ड पार्किङको योजना र सोच नै गलत भएको अभियानकर्ता बताउँछन्। महानगरले उपत्यकाको सार्वजनिक स्थानमा नयाँ संरचना निर्माण गर्नुअघि अभियन्ता र सम्पदाविदसँग सल्लाह गर्नुपर्ने र वृहत छलफलबाट निर्णय लिनुपर्ने उनीहरूको माग छ।

खुलामञ्चमा अन्डरग्राउण्ड पार्किङ बनाउने महानगरको योजनाको विरोध गर्दै अभियन्ता तथा अधिकारकर्मी आलोक श्री तुलाधरले भने, ‘पार्किङ बनाउनु ठीक हो। तर खुलामञ्चलाई मासेर पार्किङ बनाउने महानगरको योजना हचुवाका भरमा आएको छ। यो विषयमा गहन अध्ययन नै नभइ डीपीआर बनाउनु महानगरको लज्जास्पद काम हो।'

विश्व प्रकृतिको संरक्षणमा जुटेका बेला महानगरका मेयरले सरोकारवालासँग छलफल नै नगरी, पछि आउने जोखिमको मूल्यांकन नगरी आफूखुसी गर्न पाउने छुट नरहेको उनले बताए। सार्वजनिक जग्गा मासेर शहरलाई कुरुप बनाउने छुट मेयरलाई कसले दियो भन्ने प्रश्न गर्दै तुलाधरले भने, '७७ वटै जिल्लाका मानिससँग प्रत्यक्ष जोडिएको र नेपालको राजनीतिक परिवर्तनको एउटा दसी प्रमाणको रुपमा रहेको खुलामञ्च मास्नु अत्यन्तै गलत हो। यो कार्य रोकिनुपर्छ।'

जनघनत्व बढी भएको काठमाडौंमा शहरबासीलाई सहज हुने पार्क र बगैँचा बनाउनुपर्ने बेलामा खुलामञ्च मास्ने योजना गलत भएको अर्का अभियन्ता गणपतिलाल श्रेष्ठको भनाइ छ। उनले भने, 'विभिन्न बहानामा खुलामञ्च मास्ने योजना गलत छ। शहरबासीको जनजीवन सहज बनाउन महानगरले भूमिका खेल्नुपर्छ। यहाँ पार्क र बगैँचा बनाउनपर्छ। अण्डरग्राउण्ड भनिएपनि यसको वातावरणीय प्रभावको विषयमा गम्भिर अनुसन्धान जरूरी छ। सरकारी जग्गा दोहन गरी बनाइएका संरचना हटाएर पार्क बनाउनुपर्छ।'

खुलामञ्चमा अन्डर पार्किङ बनाउने निर्णय सच्याउन खबरदारी गर्दै सोमबार महानगर परिसदमा प्रदर्शन गरिएको थियो। प्रदर्शनसँगै अभियन्ताले महानगरका मेयर बालेन्द्र साह 'बालेन' र उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले सरकारी जग्गाको दोहन गर्न नहुने, वातावरणीय प्रभाव खस्कने गरी भौतिक संरचना नबनाउन नहुने, खुलामञ्च मास्न नहुने भन्दै खबरदारी गरेका छन्। 

यसअघि पनि अभियन्ताले 'अकुपाई टुँडिखेल' अभियान नै चलाएर महानगरलाई खबरदारी गरेका थिए। पटकपटक खबरदारी गर्दा पनि महानगरले अटेरी गरेको भन्दै 'अकुपाई टुँडिखेल' दबाब दिन महानगर कार्यलय परिसरमा पुगेर खबरदारी गरिएको अभियन्ताले बताएका छन्। यसअघिका मेयर विद्यासुन्दर शाक्यलाई खबरदारी गर्दै चलाइएको अकुपाई टुटिखेल अभियानमा जनतादेखि जनपतिनिधिसम्मको प्रतिवद्धता तथा एकाताको सन्देश दिन मानव सांङ्लो बनाइएको थियो। यो अभियान तीन महिना चलाइएको थियो।

के छ ज्ञापनपत्रमा ?
अभियन्ताले टुँडिखेल अहिले १४ प्रतिशतमा खुम्चिन पुगेको र अहिले यसलाई पनि मास्न खोजिएको भन्दै महानगरका मेयर र उपमेयरलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले साघुँरिदै गएको खुलामञ्चलाई जोगाउन महानगरले भूमिका खेल्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरेका छन्। ज्ञापनपत्रमा भनिएको छ, 'सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेल सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको छ। यो अतिक्रमणको क्रम दिन प्रतिदिन बढ्दै छ। खुलामञ्च साघुरिँदै छ। खुलामञ्चलाई पहिलेकै जस्तो घासेमैदान बनाउनु पर्छ।'

सम्पदाकर्मीले सार्वजनिक क्षेत्रमा पार्किङ बनाउने महानगरको दुषित मनसाय भएको बताएका छन्। उनीहरूले भनेका छन्, 'सार्वजनिक क्षेत्रको खुलामञ्चलाई आफ्नो बनाउने महानगरको दुषित मनसाय छ। यो कार्यको भर्त्सना गर्दछौँ। सार्वजनिक ठाउँ मासेर पार्किङ बनाउनुभन्दा सवारीको चाप व्यवस्थापन गर्न महानगरले दीर्घकालीन योजना बनाउनुपर्छ। खुलामञ्च बाहेकका क्षेत्रमा पूर्वाधार बनाउन महानगरले विकल्प खोज्नुपर्छ।'

अकुपाई टुँडिखेल अभियानले बुझायो महानगरलाई ज्ञापनपत्र

शहरबासीको आवाज सुन्छौँ: उपमेयर डंगोल
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनचाहना विपरीत खुलामञ्चमा अन्डरग्राउण्ड पार्किङ नबनाउने बताएकी छन्। अभियन्ताले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले शहरबासीको चाहना विपरीत टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताइन्। उनले भनिन्, 'महानगरले शहरबासीको भावना विपरीत कुनै पनि कार्य गर्दैन्। अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यकता हो वा होइन भन्ने बारे स्थानीयबासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाउँछौं।' धरहरा, काठमाडौं प्लाजा तथा अन्य निजी क्षेत्रसँगको साझेदारीमा पार्किङको समस्या हल गर्न अध्ययन गरिने बताइन्।'

अभियन्ताले मेयर बालेनलाई भने भेटेनन्। पटक पटक मेयरलाई भेट्न कोशिस गर्दा पनि मेयरले समय नै नदिएको अभियन्ता तुलाधरले बताए। खुलामञ्च मासेर पार्किङ बनाउन लागेका मेयरले सम्पदाविदलाई भेट्ने समय नदिएको बताउँदै उनले चुनावका बेला मेयरले बाँडेका सपना सत्तामा पुगेपछि बिर्सिएको र शहरको सुन्दरता बिगार्न लागेको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.