बालविवाह रोक्न विद्यालयमा चेतनामूलक नाटक देखाइँदै
काभ्रे: बालविवाह रोक्न काभ्रेका सामुदायिक विद्यालयमा जनचेतनामूलक नाटक देखाउन थालिएको छ। खानीखोला गाउँपालिकाका विद्यालयमा सडक नाटक ‘जुनकिरी’ देखाइएको छ।
जिल्लाको विकट मानिने डाडापारी क्षेत्रका विद्यालयमा चेतनामूलक सन्देश दिने नाटक देखाइएको गाउँपालिकाले जनाएको छ।
पालिकाका ८ माध्यमिक विद्यालयमा सन्देश दिने गरी नाटक देखाउन लागिएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले बताए। यसले विद्यालयस्तरबाटै बालविवाह गर्नुहुँदैन भन्ने सोचको विकास हुन सक्ने अपेक्षा राखिएको छ।
सामाजिक विकास र बालविवाह न्यूनीकरण गर्न बालबालिकाबाटै नयाँ सोचको विकास गराउन अभियान थालिएको थिङले बताए। बिहेवारी २० वर्ष पारी, बालविवाह दण्डनीय अपराध हो भन्ने सन्देश नाटकबाट दिइने वडाध्यक्ष निसान मोक्तानले बताए।