छोरा र ज्वाइँको योजनाबाट हत्या!
जनकपुरधाम: सम्पत्ति विवादमा छोरा र ज्वाइँको मिलेमत्तोमा धनुषधारी दासको हत्या भएको खुलेको छ। हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मृतकका छोरा र ज्वाइँ तथा एक सुटर छन्।
पुस ९ गते साँझ साढे ७ बजे धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका-२ का ४० वर्षीय धनुषधारी दासको हत्या भयो। गोली लागेका उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको अनुसन्धानमा खटेको प्रहरीले छोरा प्रदीप दास, ज्वाइँ उदय दास र गोली प्रहार गर्ने सुटर रञ्जित यादवलाई पक्राउ गरेको छ। हत्या आरोप स्वीकार गरेका उनीहरूलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ।
मृतक दासले दोस्रो विवाह गरेको र श्रीमतीबाट छोरी जन्मेपछि सम्पत्ति बाँडिने भएपछि जेठी श्रीमतीको छोरा र ज्वाइँले ५ लाख भारतीय रुपैयाँमा हत्या गराउने योजना बनाएको प्रहरीले जनाएको छ। हत्याको योजना बनाएको आरोपमा पक्राउ परेका ज्वाइँ उदय नेपाल प्रहरीका सहायक हवल्दार हुन्। उनी मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा सवारी चालक थिए।
एक महिनादेखि योजना बनाएर हत्या गरिएको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अनुसन्धान अधिकृत भने, ‘जेठी र कान्छी श्रीमती बीचको विवादमा कुटाकुट भएपछि जेठी श्रीमतीलाई छोडेर कान्छी श्रीमतीसँग धनुषधारी बस्ने गरेको र जेठी श्रीमतीलाई खान बस्न पनि नदिएपछि हत्या योजना बनेको रहेछ। कान्छी श्रीमतीको छोरी भएपछि सम्पतिमा अंश लाग्ने र सम्पति बाँडफाड हुने भएपछिको हत्याको जालो बुनिएको अनुसन्धानबाट खुलेको हो।’
हत्याको दिन दासले सञ्चालन गरेको पसल अगाडी दमकल बनाईरहेको अवस्थामा मोटरसाईकलबाट ओर्लिएर दासलाई दमकल बिग्रीएर बनाउँनुछ भनी कुराकानीको क्रममा सुर्ति मागेर खाएको र कटुवा पेस्तोल निकालेर सर्ट फायर गरेको पाइएको प्रहरीले जनाएको छ। सुटर एक महिना अघिदेखि मुलरी चोकमा डेरा लिएर बसेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
हत्याको ३ दिनपछि उदयले गोली प्रहार गर्ने रञ्जितलाई ५ लाख मध्येको ३ लाख रुपैयाँ दिएको खुलेको छ। उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान, कटुवा पेस्तोलमा लाग्ने खोका, अटोमेटिक पेस्तोलमा लाग्ने म्याग्जिन १ थान, अटोमेटिक पेस्तोलको गोली राउण्ड १ थान फेला परेको प्रहरी उपरीक्षक विश्वराज खडकाले जानकारी दिए।