‘यो सरकार लामो समय टिक्दैन’
काठमाडौं : पाँच दलीय गठबन्धनमा गरेको प्रतिबद्घताविपरीत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार निर्माण गरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ। कांग्रेसले प्रचण्ड नेतृत्वको वर्तमान सरकार ६ महिना पनि टिक्न नसक्ने दाबी पनि गरेको छ।
सत्ताच्युत भएपछि पहिलोपटक बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘पाँच दलसँगको प्रतिवद्घतालाई बेवास्ता गर्दै प्रचण्डजी बालकोट पुग्नुभयो। कांग्रेस आफ्नो प्रतिवद्धतामा अडिग थियो।’ उनका कअनुसार प्रचण्डले एमालेसँग गठबन्धन गरेर सरकार गठन गर्दा पनि कांग्रेसले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने विषयलाई प्राथमिकता नदिइकन प्रतिपक्षमा बस्न तयार भएको छ ।
उनले भने, ‘वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने विषयलाई हामीले प्राथमिकता दिएनौँ। यो अवस्थामा गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन। यति कुरा हो प्रचण्डजीलाई नेतृत्व दिएर गठबन्धन बचाउनेबारे छलफल गरेर निष्कर्षमा पुग्ने समय हामीलाई प्राप्त भएन। अन्तिम अवस्थामा अन्य दलका नेताले गठबन्धन भत्काएर आउ अनि प्रधानमन्त्री दिन्छु भनेर दिएको नेतृत्व लिन उहाँलाई हतार भयो।’
प्रवक्ता महतले हालको सत्ता गठबन्धनमा विचार र दृष्किोणमा एकता नभएको बताए। ‘प्रचण्डजी जसरी गए पनि यो वैकल्पिक गठबन्धन शुद्ध अवसरकेन्द्रित गठबन्धन हो’, उनले भने, ‘राजतन्त्र चाहियो भन्ने, गणतन्त्रको बाटोमै जानुपर्छ भन्ने, संघीयता चाहिन्छ र चाहिन्न भन्ने सबै पार्टी एक ठाउँमा आएर गठबन्धन बनाएका छन्। अहिलेको सरकार मुस्किलले ६ महिना पनि टिक्दैन।’
प्रचण्डजीले छोडेर जाँदा सिंगो तत्कालीन पाँच दलिय गठबन्धन खुसी छैन। स्थानीय र प्रतिनिधिसभाको निर्वाचनबाट जुन सफलता प्राप्त भयो त्यसलाई नजरअन्दाज गर्दै प्रचण्डजी अवसरवादी भएर हिंडेको महतको भनाइ छ। जिम्मेवारी कसले प्राप्त गर्ने विषयमा अहिलेको विषय अल्झेको छ। नो नट अगेनको नारा ल्याउने पनि कुन पद प्राप्त गर्न सकिन्छ भन्नेमा लागि परेका छन्। कन्टेन्टभन्दा देखाउने कुरामा अहिलेको सरकार ज्यादा फोकस भएको देखिन्छ।
प्रतिकूल अवस्थामा कांग्रेसको नेतृत्वमा गठबन्धन भयो। निर्वाचनको बेला पनि गठबन्धन टुटाउनबाट जोगाएर ल्याइएको सबैलाई थाहा भएको भन्दै उनले भने, ‘कांग्रेस जहिले पनि संकट पर्दा देश बचाउन अगाडि सर्ने पार्टी हो। एक वर्षभित्रै त्यो समय फेरि कांग्रेसकै काँधमा आउँछ।’ महतका अनुसार कांग्रेस अब सशक्त प्रतिपक्षको भूमिकामा रहन्छ। कांग्रेसले रेलिङ भाच्ने र संसद् ठप्प पार्ने खालको होइन। तर, संसद्मा हाम्रो उपस्थिति पनि बढेकाले हाम्रो भूमिका बढेर जान्छ। जनताका विषय र मुद्दा सशक्त ढंगबाट उठाउँछौं। कांग्रेस विषय केन्द्रित नभएर लक्ष्य केन्द्रित भएर काम गर्छ।’