चिकित्सा सेवा प्रयोगात्मक विज्ञान हो। योग्यता, सीप, ज्ञान र अनुभवको आधारमा बिरामीको उपचार गर्ने अधिकार चिकित्सकलाई हुन्छ। उपचार गर्दा जहिल्यै पनि उपचारका विधि, मूल्य, मान्यता र आचारसंहितालाई आत्मसात् गर्नुपर्छ। चिकित्सकको बिरामीको खुसी वा सन्तुष्टिलाई उच्च प्राथमिकता दिनुपर्छ।
व्यावसायिक आचरण नचुकेकै कारण चिकित्सकलाई देवताको नजरमा हेरिन्थ्यो। सेतो कोट लगाएका चिकित्सकको मन पनि सफा र स्वच्छ हुने अपेक्षा राखिन्थ्यो। चिकित्सकलगायतका स्वास्थ्यकर्मीको सेवाभाव पनि निर्मल छ त ? यो प्रश्न सोध्ने हो भने बिरामीले निधार नखुम्च्याई सहजै जवाफ दिन्छन्। केही चिकित्सकको खराब मनोवृत्तिले गर्दा अधिकांश चिकित्सकहरूले शिर झुकाउनुपर्ने अवस्था सिर्जना भएको छ। त्यसैले चिकित्सा सेवाभित्रको मेडिकल अनैतिक अभ्यास (मालप्राक्टिस)को विषयलाई उठाउँदा कतिपयलाई अपच हुन सक्छ। यद्यपि, पेसागत स्वच्छताको लागि यो विषय उठाउने जमर्को गरिएको छ।
अहिले चिकित्सा सेवामा अहिले मेडिकल मालप्राक्टिस शब्द निकै चर्चा हुन थालेको छ। अंग्रेजी शब्द मेडिकल मालप्राक्टिस भन्नाले चिकित्सा सेवामा हुने अनैतिक अभ्यास हो। आर्जित ज्ञान, सीप र अनुभवका आधारमा बिरामीको सर्वोत्तम हित चिताउनु पर्छ। तर, यही मूल्य मान्यतालाई चिकित्सकले नजरअन्दाज गरेकै कारण बिरामीहरूको नजर फेरिएको छ। चिकित्सकलाई जुन सम्मानभावका साथ हेरिन्थ्यो। त्यो इतिहास हुन पुग्दै छ।
स्वास्थ्य संस्थाहरूले सामाजिक उत्तारदायित्वको सिद्धान्तलाई अनुसरण गर्नु पर्छ। नीति र नियतमा खोट देखिनु हुँदैन।
चिकित्सासम्बन्धी मुख्यतः दुईवटा आधारभूत सिद्धान्तको पालना गर्नुपर्छ। पहिलो बिरामीलाई उच्च गुुणस्तरीय सेवा एवं हेरचाह गर्नु (प्रोफेसनल स्टान्डर्ड अफ केयर) पर्छ। दोस्रो बिरामीलाई गरिने उपचार पद्धति तथा रणनीतिबारे समयमै प्रस्ट्याउनु (डक्ट्रिन अफ इन्फर्मड कन्सेन्ट) हो। किनकि, आफ्नो शरीरको मालिक बिरामी स्वयं हो। आफ्नो उपचारको बारेमा निर्णय गर्न पाउने बिरामीको हक हो। त्यसैले उपचारको लागि चिकित्सकले बिरामीको सहमति अनिवार्य रूपमा लिनुपर्छ। चिकित्सकले हरेक बिरामीप्रति सहभाव एवं सम्मानभाव राख्नुपर्छ। कुनै पद, ओहोदा, पेसा, जात वा धर्मका कारणले उपचारमा विभेद गर्नु हुँदैन। धनी होस् वा गरिब सबैलाई हेर्ने नजर समभाव हुनुपर्छ। आर्थिक रूपमा विपन्न व्यक्ति दैलोमा आएको छ भने पनि उपचार गर्नुपर्छ।
अहिले स्वास्थ्यसेवा व्यापारीकरण हुन पुगेको छ। जसका कारण विपन्न व्यक्तिहरूलाई सेवा लिन सकस भइरहेको तीतो यथार्थ छ। कतिपयले उपचारकै लागि घरबास बेच्नु परेको अवस्था छ। बिरामीसँग दोहोरो संवाद नगर्ने, कमिसन आउने प्रयोगशालामा पठाउने, अनावश्यक परीक्षण गर्न लगाउने, ज्ञान र सीपबिना उपचार गर्न तम्सनेजस्ता मालप्राक्टिसहरू भइरहेको भुक्तभोगीहरूको दुःखेसो छ। चिकित्सकले विज्ञताका आधारमा सेवा दिनुपर्छ। विज्ञता नहेरी जस्तोसुकै बिरामीको उपचार गर्न खोज्ने प्रवृत्ति पनि मालप्राक्टिसभित्र पर्छ। कुनै अर्थोपेडिक सर्जनले निमोनिया वा पत्थरीको उपचार गर्न खोज्छ भने त्यो मालप्राक्टिस हो। स्वास्थ्यसेवा प्रदान गर्ने जोसुकै व्यक्तिले व्यक्तिगत वा संस्थागत हितलाई प्राथमिकता दिई सेवाग्राहीको अवस्थालाई नजरअन्दाज गर्नु नै मेडिकल मालप्राक्टिस हो। स्वार्थ र क्षणिक प्रलोभनमा परेर उपचारको प्रक्रियागत मापदण्ड नपुर्याउनु पनि मेडिकल मालप्राक्टिस हो। जसबाट बिरामीलाई शारीरिक, मानसिक एवं आर्थिक क्षति व्यहोर्नु परेको हुन्छ। विज्ञताको आधारमा बिनास्वास्र्थ र भेदभाव बिरामीको उपचार गर्नु चिकित्सकको कर्तव्य हो। कर्तव्यच्युत हुनु मालप्राक्टिस हो।
केही दशकअघिसम्म विगतमा चिकित्सकहरू न्यून थिए। अहिलेजस्तो अस्वस्थ्य प्रतिस्पर्धा थिएन। धन कमाउने लालसा थिएन। मालप्राक्टिस हुँदैनथ्यो। सरकारी स्वास्थ्यसंस्था पनि सीमित मात्र थिए। चिकित्सकलाई देख्दा नै बिरामीले बाँच्ने आशा पलाउँथ्यो। चिकित्सकले प्रेसक्राइब गरेको औषधि होस् वा शल्यक्रिया पछि रोग निको हुँदा बिरामीको अनुहारमा प्रसन्नता देखिन्थ्यो। चिकित्सकमा देउताको स्वरूप देख्थे। विगतमा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरू मात्र थिए। अहिले निजी मेडिकल कलेजको स्थापनासँगै चिकित्सक हुनेको संख्या ह्वात्तै बढेको छ। एमबीबीएस अध्ययन गर्दा मात्रै ५० लाखभन्दा बढी खर्च भइसकेको हुन्छ। मध्यम वर्गको घरपरिवारमा सन्तानलाई चिकित्सा पेसा पढाउन घरखेत बिक्री गर्नुपर्ने बाध्यता छ। लाखौं ऋण गरेर पढेको विद्यार्थी चिकित्सक भएपछि स्वाभाविक रूपमा उठाउन थाल्छ। न्यून तलबले खान लाउन मात्र पुग्ने भएपछि मालप्राक्टिसतर्फ ध्यान दिन थाल्छ। एमबीबीएस चिकित्सकमात्र होइन गाउँगाउँमा रहेका हेल्थ असिस्टेन्टले पनि मालप्राक्टिस गरिरहेको पाइन्छ। ज्ञान र सीपको अभावमा पनि जस्तोसुकै बिरामीको उपचार गर्न खोज्ने प्रवृत्ति देखिन्छ। निको पार्न नसकेपछि अन्यत्र रेफर गर्ने खालको मालप्राक्टिस पनि देखिएको छ।
मेडिकल मालप्राक्टिसको आयाम फराकिलो हुँदै गएको छ। वि.स. २०३२ सालमा चिकित्सकहरूको संख्या पुगनपुग तीन सय जति थियो। अहिले १३ हजारभन्दा बढी छन्। चिकित्सकहरूको संख्या बढेसँगै पेसागत विकृतिहरू छताछुल्ल हुन थालेको छ। उपचार गर्दा कमिसन लिने प्रवृत्ति व्याप्त छ। प्रयोगशाला, उपकरण, औषधिलगायतबाट पनि कमिसन लिने गरेको दृष्टान्तहरू सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण भएको पढ्न र सुन्न पाइन्छ । यो अक्षम्य मालप्राक्टिस हो। शल्यक्रिया गर्ने नपर्ने बिरामीलाई पनि शल्यक्रिया गरेको उदाहरणहरू छन्। अनावश्यक रूपमा एक्सरे वा एमआरआई गर्नुपर्नेलगायतका कार्य पनि मालप्राक्टिसभित्र पर्छन्। स्वास्थ्यसंस्थाले बिरामी ल्याई दिएबापत रिक्सा, एम्बुलेन्सका चालकहरूलाई कमिसन दिएका समाचारहरूसमेत प्रकाशन हुने गरेका छन् । यी सबै चिकित्सकीय अनैतिक कार्य अर्थात् मेडिकल मालप्राक्टिस हुन्। यी सबै मालप्राक्टिसको मार अन्ततः बिरामीलाई नै पर्छ।
आर्थिक रूपमा विपन्न परिवारमा जन्मेका मात्र होइन सम्पन्न परिवारमा जन्मेका चिकित्सकहरू मालप्राक्टिस गर्ने प्रवृत्ति रहेको छ। तर, नैतिकता र संस्कारमा हुर्केको चिकित्सकले भने मालप्राक्टिस गर्न हिचकिचाउँछ। चिकित्सकलाई मेडिकल मालप्राक्टिस गर्न प्रेरित गर्ने कार्य परिवार, साथीभाइ, समाजबाट समेत हुने गरेको छ। कमाइ कति छ ? डाक्टर भएर पनि यति थोरै कमाइ ? जस्ता प्रश्नहरूले घेर्न थाल्दा चिकित्सकले विवेक गुमाउँछ। नैतिकतासँग हार्छ। फुर्तिफार्ती गर्नका लागि मेडिकल मालप्राक्टिस गर्न थाल्छ। उपचार प्रक्रियाका आफ्ना बेफाइदाहरू छन् । प्रेसक्राइब गरिएका औषधिले साइड इफेक्ट पनि देखिन सक्छन्। त्यस्तै शल्यक्रियाका जटिलताहरू प्नि छन्। यी सबै पक्ष बिरामीलाई नबुझाई वा काउन्सिलिङ नगर्नु पनि मालप्राक्टिस हो। जसका कारण पनि स्वास्थ्यसंस्था तोडफोड हुने गरेका छन्।
मेडिकल मालप्राक्टिस नेपालजस्ता विकासोन्मुख मुलुकमा अधिक हुने गरेको छ। सरकारीभन्दा निजी क्षेत्रका स्वास्थ्यसंस्थामा मेडिकल मालप्राक्टिस अधिक हुने गर्छ। सरकारी चिकित्सकले आफू कार्यरत स्वास्थ्यसंस्थाको बाहिर प्रयोगशाला वा औषधि पसलमा पठाएर मालप्राक्टिस गर्न सक्छ। बिरामीको चाप बढेको अवस्थामा निजी क्लिनिकमा आउनुस् भन्दै मालप्राक्टिस गर्ने सम्भावना हुन्छ।
नेपालमै पनि सेवामा झन्डै ७० प्रतिशत योगदान निजी क्षेत्रले गरेको छ। यो सकारात्मक पक्ष हो। तर मेडिकल मालप्र्राक्टिस निजीमा भइरहेको बिरामीको गुनासो छ। निजी अस्पतालले स्वास्थ्यसेवालाई व्यवसायका रूपमा मात्र हेरेर फाइदा उठाउने दृष्टिकोण राख्नु हुँदैन। स्वास्थ्यसंस्थाहरूले पनि सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई अनुसरण गर्नुपर्छ। नीति र नियतमा खोट देखिनु हुँदैन।
नागरिक स्वस्थ र सक्रिय भए मात्र मुलुकले विकासमा फड्को मार्ने हो। सरकारले स्वास्थ्यसंस्थाहरूलाई आवश्यक निर्देशन दिनु जरुरी छ। मेडिकल मालप्राक्टिस रोक्ने दायित्व राज्यको हो। स्वास्थ्यसम्बन्धी पूर्वाधारको विकासबिना जनस्वास्थ्यको रक्षा हुन सक्दैन। गाउँगाउँमा सरकारी स्वास्थ्यसंस्थाको पूर्वाधार, दक्ष जनशक्ति र उपकरणको व्यवस्था नहुँदासम्म मेडिकल मालप्राक्टिस कायमै हुने सम्भावना हुन्छ। गाउँदेखि सहरसम्म देखा परेको मालप्राक्टिस रोक्ने सेवाग्राही स्वयं सचेत हुनुपर्छ। मालप्राक्टिस गर्ने चिकित्सकलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिललगायत सरोकारवाला निकायले अनुगमन गर्ने, कारबाही गर्नुपर्छ। विकसित मुलुकमा स्वास्थ्य बिमा प्रभावकारी छ। तर, नेपालमा स्वास्थ्य बिमा प्रभावकारी हुन सकेको छैन। त्यसकारण पनि नेपालजस्ता विकासोन्मुख मुलुकमा मेडिकल मालप्राक्टिसको गुनासो रहने गरेको छ। त्यसैले उत्पादक, सेवाप्रदायक, नियामक र उपभोक्ताले आफ्नो कर्तव्य, दायित्व र स्वअनुशासन र आचारसंहिताका साथै नैतिकतालाई बिर्सनु हुँदैन।
प्राडा गुरुङ वरिष्ठ हाड तथा नसा रोग विशेषज्ञ हुन् ।