खुसीभित्रका खुसी !

खुसीभित्रका खुसी !

धर्तीमा रहेका चेतनशील हुन् वा अचेतनशील सबै जीवको बाँच्ने अधिकार हुन्छ। सबै जीवहरूमा खुसीमा जिउने चाहना हुनु अस्वाभाविक पनि होइन। सुख र दुःखसँग जोडिने खुसीले चेतनशील जीवमा महत्त्वपूर्ण स्थान बनाएको हुन्छ। चेतनशील जीवहरूमा सर्वोत्कृष्ट मानिस सधैं खुसी र सुखमा रमाउन चाहन्छ। कहीं गुमाउँदा प्राप्त गरेको खुसी पाउँदाको भन्दा बढी हुन पनि सक्छ। मानवको लक्ष्य खुसी प्राप्ति नै हो। जीवनका लक्ष्यहरू मनको खुसीसँग जोडिएको हुन्छ। भविष्यका रहरहरूलाई खुसीरूपी आशाका किरणहरूले उज्यालो बनाउँछ। खुसीको भावले मानव मन र मस्तिष्कलाई स्वस्थ बनाउँछ। मानिस खुसी हुनु भनेको स्वस्थ हुनु पनि हो। 

तर खुसी चाहिँ के हो त ? झट्ट हेर्दा खुसी र सुख उस्तै बुझिए पनि यसको गहिराइ भने फरक छ। हाम्रा ज्ञानेन्द्रियले दिने रमाइलो खुसी हो भने इच्छापूर्तिले दिने सन्तुष्टिसहितको रमाइलो सुख हो। मान्छेले खुसी आफैंले बनाउन सक्छन्। विकल्प छैन भन्ने बुझेपछि जे छ, त्यसैमा सन्तुष्ट हुन सक्दा खुसी प्राप्त गर्छ। सद्गुरु जग्गी बसुदेव भन्नुहुन्छ – ‘खुसी मान्छे आफैंमा निहित छ। जब मान्छेले आफ्नो दुःखलाई सामान्य रूपमा लिन सक्छ र यसका लागि अरूलाई दोष दिँदैन, ऊ सधैं खुसी रहन सक्छ।’ हिन्दू ग्रन्थहरूमा लोभें मोहं क्रोधं कामें मद र मात्सर्य (ईष्र्या) यी ६ वटा तत्त्वहरूलाई दिमागका दुश्मनहरू भनिएको छ। यी दुश्मनहरूलाई परास्त गर्नेले नै वास्तविक सुख र खुसी प्राप्त गर्छ।  खुसी हेरेर देख्न सकिने भौतिक वस्तु होइन। इच्छापूर्तिले मात्र खुसीलाई मापन गर्न सक्दैन। मानिसका इच्छाहरू एकपछि अर्को थपिँदै जान्छन्। थपिँदै जाने इच्छाहरूले सन्तुष्टिका रेखाहरूलाई प्रभाव पार्छ। सन्तुष्टिले खुसीको मापन गर्छ। खुसी अनुभूति हो र महसुसमा हुन्छ। कहीं स्वार्थसँग जोडिन्छ त कहीं त्यागसँग। आनन्दका अनुभूतिले मात्र होइन कहिलेकाहीं शारीरिक पीडाले समेत सन्तोष दिलाउँछ। खुसीको मुख्य अर्थ गहिरो सन्तुष्टि नै हो। जीवनको ध्येय तथा लक्ष्य भनेको सन्तुष्ट रहनु हो। खुसी धेरै हदसम्म मानिसको छनोटको विषय हुनसक्छ तर अधिकार वा हकको रूपमा भने लिन सकिँदैन। 

राम्रो सम्बन्ध र सम्बन्धको गुणस्तर खुसीको अर्को प्रमुख मापक हो। यदि जीवनमा कोही हुँदाहुँदै या कसैको साथ रहँदारहँदै पनि एक्लो महसुस हुन्छ भने सम्झनुपर्छ कि सबै भएर पनि केही छैन। पारिवारिक होस् या सामाजिक परस्परको सुमधुर सम्बन्धले दिने खुसी भौतिक सुख सुविधाले दिन सक्दैन। कति खुसीहरू परिस्थितिजन्य वातावरणले आफैं तय पनि गर्छ। जीवनमा आउने भावनात्मक चोटहरूले मानिसलाई सबैभन्दा दुःखी बनाउँछ। अरूको हातमा आफ्नो खुसी सुम्पिनेहरू प्रायः दुःखी नै हुन्छन्।

असन्तुष्टिले निराशा पैदा गर्छ। बाहिरी ओठमा देखिएका सबै मुस्कान खुसीका संकेत होइनन्। भित्रभित्रै निराशाले डुबाउँदै लगिरहेको हुन्छ। आशा खुसीको उज्यालो चहक हो भने निराशा खुसीमा लागेको ग्रहण। निराशाको ग्रहणलाई छिचोल्दै छाएका किरणले खुसीका संकेत निर्माण गर्छ। आशा र निराशाको पौंठाजोरीमा प्राप्त नतिजाले मानव जीवनको खुसी निर्धारण गर्छ। कसरी खुसी हुने त्यो नीतिसँगै गाँसिएको नियतको जगमा खुसीका सपना अल्झिएका हुन्छन्। सोच र कर्मले कोरिएका आशाका रेखाले खुसीको यात्रा तय गर्छ। हार र जितले अर्थ राख्दैन। न आँसु र पीडाले नै स्थान पाउँछ। 

स्वभावैले मानिसका सोच र आवश्यकताहरू फरकफरक हुन्छन्। सोच र आवश्यकतासँग खुसी गाँसिदा आफ्नो खुसी अरूको हातमा निहित हुन पुग्छ। मानिसले अनुभूति गर्ने अर्थात् प्राप्त गर्ने खुसीलाई एउटै परिभाषा र अर्थमा समेट्न खोजे अन्याय हुन्छ। खुसीका स्वरूपहरू फरकफरक हुन्छन्। आकाशमा मडारिरहेका बादलका थुम्काहरूको आकृति बादलमा ठोक्किने हावाका झोंकाहरूले निश्चित गर्छ। मानिसका जीवनमा विभिन्न रूपमा खुसीका किरणहरू बगिरहेका हुन्छन्। कहीं त्याग र समर्पणमा छ भने कहीं स्वार्थ ईष्र्या र जलनमा। सन्तुष्टिको अभावमा खुसी प्राप्त हुँदैन। यसले मानिसलाई दुःखी बनाउँछ।

जीवनका आरोह अवरोहहरूमा हार र जित भइरहन्छन्। तर खुसीमा हार र जितले अर्थ राख्दैन। हारेर पनि जितिने खेल हो खुसी। सयौं जितहरूमा प्राप्त नभएको खुसी एउटै हारमा पनि प्राप्त हुन सक्छ। हारमा प्राप्त हुने खुसीले अहंकारलाई परास्त गर्दै तिक्ततालाई मिठास बनाउँछ। जीवनका सबै सम्बन्धहरू जित्नकै लागि मात्र गाँसिदैनन्। हारमा प्राप्त खुसी स्वार्थरहित हुन्छ। खुसी लिनु र दिनुको तादम्यताले जीवनको रहस्यलाई सुल्झाउँछ। अर्थात् खुसी लिन चाहनेले खुसी दिन पनि जान्नुपर्छ। मानिसले जीवन जिउन नजानेरै खुसीको खोजीमा भौंतारिरहेका पनि हुन्छन्। खुसीले जीवनलाई सुखी र सुन्दर बनाउँछ। जीवनलाई सुखी र सुन्दर बनाउन मन सुन्दर हुन आवश्यक छ। सुन्दर मनहरूमा खुसी जीवन्त रहन्छ। जसरी धनले धनलाई तान्छ त्यसरी नै खुसीले खुसीलाई। एउटा खुसी हृदयले अनुहारमा उज्यालो चहक ल्याउँछ र त्यो उज्यालो अनुहारको हेराइले मनलाई खुसी पार्छ। 

गणितीय अंकमा शून्यको स्वरूप फरक हुन्छ। कुनै अंकको अगाडि बसे सानो र पछाडि बसे ठूलो। शून्य अंकको स्थानले उसको महŒव र पहिचान बोकेको हुन्छ। त्यसरी नै खुसीले आफ्नो रूप परिवर्तन गरिरहन्छ। दुःख, पीडा, आँसु पनि खुसीकै रूप हुन्। फरक छ त स्थान र पहिचान। पाउनु र गुमाउनुले अर्थ राख्दैन। कहीं आँसुमा रमाउँछ त कहीं मुस्कानमा। कहाँ छैन यो खुसी ! कहीं उचाइमा त कहीं गहिराइमा। कहीं मिलनमा त कहीं बिछोडमा। आकारविहीन यो खुसी कहीं तिरस्कारमा छ त कहीं स्विकारमा।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.