तीव्र गति, अत्यधिक दुर्घटना
प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकअनुसार सडक दुर्घटनामा परी पछिल्लो ५ वर्षमा १३ हजार ८१ जनाले ज्यान गुमाए। एक लाखभन्दा बढी मानिस घाइते भए। जसमा ३५ हजारभन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन्। सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ। ट्राफिक प्रहरीको तथ्यांकअनुसार देशभर हुने दुर्घटनाबाट हरेक दिन ८ देखि १५ जना मानिसको मृत्यु हुने गर्छ। कहिलेकाहीं यो संख्यामा वृद्धि हुन्छ।
केही दिन अगाडि मात्रै जन्ती बोकेको जिप दुर्घटना हँुदा जाजरकोटमा १२ जनाले ज्यान गुमाए। यस्तै काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा एकै घरका ६ सहित १७ जनाले ज्यान गुमाए। हरेक दिनजसो कहीं न कतै दुर्घटना भइरहेकै हुन्छ। दुर्घटनाबाट घाइते हुनेको संख्या पनि निकै छ। हरेक दिन घट्ने सवारी दुर्घटनाले व्यक्तिमात्रै हैन, परिवार तथा आफन्तमा गहिरो असर पर्छ। सवारी दुर्घटनाकै कारण बर्सेनि हजारौं मानिसको ज्यान जोखिममा परे पनि दुर्घटना न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन।
‘मानिसहरू घण्टांै गफ गरेर समय बिताउँछन्। अनावश्यक काममा यसै अल्मलिरहन्छन्। जव सवारीसाधन लिएर सडकमा ओर्लन्छन् उनीहरूलाई निकै हतार हुन्छ। दायाँ घुमाएर हुन्छ कि बायाँ घुमाएर हुन्छ जताबाट मिल्छ उतै सवारीसाधन छिराइहाल्छन्। तीव्र गतिमा सवारी हुत्याउँछन्, गन्तव्य नपुग्दै दुर्घटनामा पुग्छन्।’ ट्राफिक महाशाखाका सहायक प्रवक्ता अवदेश विष्ट देशभर हुने सवारी दुर्घटनामध्ये ८० प्रतिशत दुर्घटना तीव्र गतिकै कारण हुने बताउँछन्। यस्तै नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राई पनि ८० प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरबाहीकै कारण हुने तर्क गर्छन्।
पछिल्लो समय सवारी दुर्घटना निकै बढ्दो छ। यसमा पनि दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेको संख्या उल्लेख्य छ। हुन त सबै दुर्घटना चालकले मादक पदार्थ सेवन गरेरै हुन्छ भन्ने छैन। तर अधिकांश साना सवारी दुर्घटनाको कारण भने तीव्र गति र मादक पदार्थ सेवन नै हो। दुर्घटनाले मृत्यु हुने वा घाइतेको मात्रै हैन। परिवारकै भविष्यसँग प्रत्यक्ष असर गर्छ। गम्भीर दुर्घटनाको असर उसको जीवनभर रहिरहन्छ। दुर्घटनालगत्तै प्रमुख रूपमा उसको आर्थिक हैसियत देखा पर्छ। उसको आर्थिक अवस्थाअनुसार नै उसले पाउने उपचारको निर्धारण हुन्छ। सम्पन्न परिवारको व्यक्ति भए सही उपचार पाउन सक्छन्। तर परिवारको आर्थिक हैसियत ठीक छैन भने उपचार नपाएरै घाइतेको मृत्यु हुने सम्भावना हुन्छ। सवारी दुर्घटनाका कति घाइते त उपचार नपाएरै मर्छन्। रमाइलो गर्ने निहँुमा पिएको मदिराले जीवनभर पश्चाताप गर्नुपर्ने अवस्था आउन सक्छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउनु कानुनविपरीत पनि छ। यसरी सवारी चलाउने सजायको भागीदार हुनुपर्छ। सवारी चलाउने चालकको लापरबाहीकै कारण अधिकांश दुर्घटना भइरहे पनि हामी अझै सचेत बन्न सकेका छैनौं। दुर्घटनामा आफ्नै दाजुभाइ परिरहेको देख्छौं। घाइते भएका आफन्तले जटिल जिन्दगी बिताइरहेका देख्छौ। तर पनि हामीलाई आफू पनि दुर्घटनामा पर्न सक्छौं भन्ने परिकल्पनासमेत हुन्न। आफूले सवारी दौडाए ठीक अरूले दौडाए बेठिक भन्दै आफैंलाई ढाटिरहेका हुन्छौं।
परिवारको मुली दुर्घटनामा पर्दा परिवारका अन्य सदस्यले बिजोग जिन्दगी बाँचिरहेका छन्। औषधि उपचारमा लाखौं रकम खर्च हुँदा परिवारका अन्य सदस्यको टाउकोमा ऋणको बोझ थुप्रिरहेको हुन्छ। घरव्यवहार चलाउनकै लागि जटिल अवस्था भोगिरहेका हुन्छन्,। हामीले दिनदिनै दुर्घटना देख्छांै, सुन्छौं र भोग्छांै र पनि हाम्रो व्यवहार अझै सुध्रन सकेको छैन। सडकमा ओर्लनासाथ भुल्ने गर्छौं सुरक्षित यात्राको लागि ट्राफिक नियम। घरमा हामीलाई कसैले पर्खिरहेका छन् भन्ने पनि बिर्सन्छौ। र त बेतोडले कुदाउने गर्छौं सवारीसाधन।
यात्रामा चारपाङ्ग्रे होसे या दुईपाङ्ग्रे सवारीसाधन चलाउने चालक नै मुख्य रूपमा जिम्मेवार हुने गर्छ। चालकले ट्राफिक नियम पालना गर्ने हो भने धेरै दुर्घटनाका घटना कम हुनेगर्छ। मुख्य रूपमा हामी यात्राका लागि सडक ओर्लनासाथ हतार छ भन्ने मानसिकता त्याग्नुपर्छ। टाढा जानु छ भने छिटो यात्रामा निस्कनुपर्छ। सवारीको क्षमताले नधान्ने लोड भर्नु हँुदैन। ट्राफिक प्रहरीका अनुसार ८० प्रतिशत दुर्घटना चालकको लापरबाही १० प्रतिशत दुर्घटना सडक र वातावरणको कारण भने १० प्रतिशत दुर्घटना यान्त्रिक गडबढी तथा प्राविधिक कारणले हुने गर्छ। सडकमा ट्राफिक प्रहरी देखिएन भने ठूला सवारीसाधन मात्रै हैन दुईपाङ्ग्रे सवारी र साइकलयात्रीले समेत लेन अनुशासन पालन गर्दैनने। यू टर्न, पार्किङ, ओभरस्पिड, लाइसेन्स नभई सवारी कुदाउनेलगायतमा लापरबाही गर्छन्। लागू पदार्थ सेवन, मापसेलगायत लेनअनुशासन पालना नै हुन्न।
चालकले आफूले चलाउने सवारीसाधन कति क्षमताको छ ? प्राविधिक अवस्था कस्तो छ ? सबै जानकारी हुन्छ। २० जना बोक्ने क्षमता भएको सवारीमा ४० जना राखेर कुदाएपछि दुर्घटना हुन्छ भनेर सचेत हुनैपर्छ। ट्राफिक प्रहरी भएको स्थानमा मात्रै लेन अनुशासन फलो गर्ने प्राक्टिस हाम्रो छ। जुन गलत हो। सडकमा प्रहरी नदेखे जे मन लाग्यो त्यही गर्ने गलत प्रवृत्तिले दुर्घटना बढेको छ। प्रहरी तथ्यांकअनुसार नेपालभर हरेक दिन ४८ देखि ६० वटा दुर्घटना हुने गर्छ। जसमा ७ देखि १५ जना व्यक्तिको हरेक दिन दुर्घटनाकै कारण मृत्यु हुन्छ। यसमा दुईपाङ्ग्रे सवारीको दुर्घटनाको संख्या उच्च छ।
तीव्र गतिमा सवारी चलाउने हो कि, लेन अनुशासन, होस् या सवारीको क्षमता हेरेर यात्रु चलाउने देखि लिएर प्राविधिक परीक्षण गर्ने जिम्मा पनि चालककै हो। चालक सचेत भएर सवारी चलाउँदा दुर्घटना घट्न सक्छ। दुर्घटनाका विषयमा स्कुल लेभलको पाठ्यक्रमदेखि नै अध्ययन गर्न जरुरी छ। सडकमा हिँड्दा होस् या वाटो काट्दा नियम फलो गर्न आवश्यक छ। सुरक्षित सडक यात्राको लागि सरकार पनि संवेदनशील भएर लाग्नुपर्ने हुन्छ। सार्वजनिक सवारी सुरक्षित हुनुपर्ने विषयमा नीति नियम बनाउने निकायले पनि तदारुकता देखाउनु पर्छ। हामीले मत दिएर चुनेका मन्त्री, प्रधानमन्त्रीले सार्वजनिक सवारी किन नचढ्ने ? सुरक्षित यात्राको अधिकार सार्वजनिक बहसको विषय बन्न आवश्यक छ। राजनीतिक पार्टीको प्राथमिकतामा पर्नु प¥यो। संसद्मा छलफल हुन आवश्यक छ। दुर्घटना न्यूनीकरणका प्रभावकारी कदम चाल्नका लागि सरकारले ढिलो गर्नु हुन्न।