पर्यटकीय गन्तव्य बन्यो म्याग्दीको नारच्याङ झरना

पर्यटकीय गन्तव्य बन्यो म्याग्दीको नारच्याङ झरना

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ मा रहेको नारच्याङ झरना नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भएको छ । 

नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना अवलोकनका लागि आउने पर्यटकको चहलपहल बढेको हो । झरनाले नारच्याङमा पर्यटकको चहलपहल बढाएको स्थानीय अन्नपूर्ण युवा क्लवका अध्यक्ष टक पुनले बताए ।  

‘चार/पाँच वर्षअघिसम्म ओझेलमा रहेको यो झरना सुनसान थियो,’उनले भने, ‘झरना नजिकै पुग्ने पदमार्ग निर्माण र प्रचारप्रसार भएपछि स्वदेशी र विदेशी पर्यटक आउन थालेका हुन् ।’

दैनिक एक सय जना स्वदेशी तथा विदेशी पर्यटक झरना अवलोकन गर्न आउने पुनले बताए । अन्य समयको तुलनामा विदाको दिन पर्यटक बढी आउने गर्छन् । परिवार, सहकारी, विद्यालय, कलेज र विभिन्न संघ संस्थाबाट सामूहिक भ्रमणमा आउने गरेका हुन् ।  नारच्याङ झरना सुन्दर, आकर्षक र मनमोहक रहेको अवलोकनका लागि गएका बेनीका सचिन शाक्यले बताए । 

यो झरनाको उचाइ तीनसय मिटरभन्दा बढी छ । यहाँ इन्द्रेणीको पनि दृष्य देख्न सकिन्छ । पर्यटकहरुले झरनासँगै तस्बिर, भिडियो खिच्ने, टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने भएकाले प्रचारप्रसारमा सहयोग पुगेको छ । 

समुदायले नारच्याङ गाउँदेखि झरना सम्म पुग्ने कच्चि पदमार्ग, दृष्य अवलोकन स्थल र घेराबार निर्माण गरेका छन् । झरनाको नजिकै रहेको भूमे देवताको थान नारच्याङबासीको धार्मिक स्थल हो । सो ठाउँबाट कालीगण्डकी किनारको समथर भूगोल, नारच्याङ, दाना र तातोपानीको बस्ती देखिन्छ । 

भूमेथान परिसरमा अन्नपूर्ण गाउँपालिकाको सात लाख अनुदानमा घेराबार र दृष्य अवलोकन स्थल बनाइएको छ । सार्वजनिक शौचालय निर्माण भएको छ । विश्रामका लागि भवन निर्माणाधिन छ । 

बेनी–जोमसोम सडकको नागढुङ्गादेखि पाँच मिनेट सवारी साधन र तीस मिनेट पैदल हिडेर झरनामा पुग्न सकिन्छ । झरना अवलोकनका लागि आउने पर्यटकको सुविधाका लागि नारच्याङका सात वटा घरमा घरबास होमस्टे सञ्चालन भएको छ । होमस्टे सञ्चालक फक्तबहादुर तिलिजाले स्थानीय परिकार बनाएर पाहुनालाई चखाउने गरिएको बताए ।   

अन्नपूर्ण गाउँपालिकाले झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग, दृष्य अवलोकन स्थल र झरना अगाडी पुल बनाउने परिकल्पना सहित डिपिआर तयार पारेर योजना अघि बढाएको वडा अध्यक्ष लोकबहादुर फगामीले बताए । प्रदेश सरकारले चालू आर्थिक वर्षमा बिनियोजन गरेको १० लाख बजेटबाट उकालो बाटोमा रेलिङ सहितको पदमार्ग निर्माणको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.