चन्द्रपुरको स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधि अभाव
रौतहट : स्वास्थ्य संस्थाले निःशुल्क दिने औषधि चन्द्रपुरमा महिनौदेखि अभाव भएको छ। औषधि पाउन छाडेपछि सर्वसाधारण मेडिकलबाट शुल्क तिरेर औषधि खान बाध्य भएका छन्।
चन्द्रपुर नगरपालिकाले नगरभरीका स्वास्थ्य संस्थामा सरकारले निःशुल्क उपलब्ध गराउने औषधिहरू उपलब्ध गराउन सकेको छैन।
चन्द्रपुर नगरपालिकाको-९ मा रहेको डुमरिया स्वास्थ्य चौकीका प्रमुख जयलाल पन्डितले नगरपालिकाको स्वास्थ्य शाखाले निःशुल्क पाउने औषधि नपठाएकाले समस्या भएको बताए।
डुमरिया स्वास्थ्य चौकीमा औषधिको नाममा सिटामोल मात्र रहेको प्रमुख पन्डितको भनाइ रहेको छ। नगरपालिकाको स्वास्थ्य शाखाले औषधि चाडै आउँछ भनेपनि तीन महिना बितेको प्रमुख पंडितले गुनासो गरे।
नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९१ प्रकारका औषधि निशुल्क पाउने बताएपनि रौतहटका स्वास्थ्य संस्थामा समान्य ज्वरो र रुघाखोकीको औषधिसमेत सर्वसाधारणले पाउन छाडेका छन्।
सामान्य रुघाखोकी, ज्वरो तथा घाउचोट लागेका बिरामीलाई समेत उपचार गर्ने औषधि स्वास्थ्य संस्थामा नभएको अहेव गोपालप्रसाद रामले जानकारी दिए।
चन्द्रपुर नगरपालिका-१० मा रहेको स्वास्थ्य चौकीमा औषधि नभएको सो स्वास्थ्य चौकीका अहेव गोपाल प्रसाद रामले बताए।
चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख राजेशकुमार ठाकुरले औषधि खरिदको प्रक्रियामा रहेको र एक हप्ताभित्र नगरका सबै स्वास्थ्य संस्थामा औषधि पुग्ने जानकारी दिए।