‘रास्वपाले खोस्यो’ कांग्रेसको मत
काठमाडौं : कांग्रेसले यसपटक निर्वाचनमा २०७४ सालको तुलनामा ७ प्रतिशत मत गुमाएको निष्कर्ष निकालेको छ। पार्टीको निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा समानुपातिकतर्फ ८÷८ सिट गुमाउन पुगेको प्रतिवेदन सार्वजनिक गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसको मत खोसेको प्रतिवेदनमा उल्लेख छ। ‘सहरी क्षेत्रका युवा मतदाताको मत गुमेको छ। अन्य क्षेत्रमा पनि स्वतन्त्रले पाएको मत सबै कांग्रेसको हो’, उपसमितिका सहसंयोजक डा. कृष्णप्रसाद पौडेलले भने, ‘सबैभन्दा क्षति चितवन जिल्लामा भएको छ। किनभने, त्यहाँ स्वतन्त्रको मत अस्वाभाविक आयो।’
समानुपातिक मतमा एमाले ४६ जिल्लामा पहिलो हुँदा कांग्रेस २२ जिल्लामा मात्रै पहिलो भएको छ। प्रतिनिधिसभा क्षेत्रगत हिसावले कांग्रेस ५५ क्षेत्रमा मात्रै पहिलो भएको छ। उपसमितिले यो प्रतिवेदन बुधबार सभापति शेरबहादुर देउवालाई बुझाएको थियो।
कांग्रेस प्रत्यक्षतर्पm ५७ सिट जितेर पहिलो दलका रूपमा स्थापित भए पनि २०७४ सालको निर्वाचनमा अपेक्षाकृत रूपमा राम्रो रहेको मधेस र लुम्बिनी प्रदेशको नतिजा सन्तोषजनक नभएको सहसंयोजक डा. पौडेलले बताए। कांग्रेसले समानुपातिकतर्पm प्रतिनिधिसभामा ३२ र सातवटै प्रदेशमा गरी ६४ सिट पाएको छ।
समानुपातिक मत बढाउन विभिन्न रणनीति अपनाउनुपर्ने सुझाव उपसमितिले पार्टी नेतृत्वलाई दिएको छ। केन्द्रीय नीति, अनुसन्धान र प्रशिक्षण प्रतिष्ठान, केन्द्रीय विभागहरूलाई तुरुन्त पूर्णता दिनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको नेतृत्व चयन गरेर संगठन परिचालन गर्नुपर्ने सुझाव दिइएको छ। उपसमितिले कांग्रेसले छुट्टै थिंक ट्यांकको व्यवस्था गर्नुपर्ने पनि भनेको छ।
निर्वाचनमा पार्टीको निर्देशनविपरीत काम गरेको देखिए जिल्लाबाट सिफारिस भएका व्यक्तिलाई फेरि पार्टीमा प्रवेश गर्न नपाउने गरी निष्कासन गर्न उपसमितिले सुझाव दिएको छ। प्रतिवेदनमा उम्मेदवारले कारबाही गर्न सिफारिस गरेका व्यक्तिहरूको हकमा भने अनुशासन समितिले अनुगमन गरी निर्णय हुनुपर्ने सुझाव दिइएको छ। गठबन्धनका घटक दलहरूविरुद्ध बागी उठेका उम्मेदवार तथा तीनका प्रस्तावक समर्थकलाई गठबन्धन भंग भइसकेको अवस्थामा कारबाही फिर्ताको बहस चलिरहेको बेला उपसमितिले भने कारबाही गर्न भनेको हो।
प्रतिवेदनमा लेखिएको छ, ‘नेपाली कांग्रेसको परिपत्रबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको निर्देशन बाहिर रही कार्य गरेको ठहरिएमा जिल्लाले सिफारिस गरी पठाएको व्यक्तिहरूलाई पुनः पार्टीमा प्रवेश गर्न नपाउने गरी पार्टीबाट निष्कासन गर्नुपर्ने।’
उपसमितिले पार्टीको आन्तरिक चुनाव गर्ने कार्यतालिका संशोधन गर्न सझाव दिएको छ। हाल सबै तहका चुनाव ५ वर्षमा गर्ने गरिएकोमा अब वडादेखि केन्द्रसम्म गरी समय तोकेर मात्र गरिनुपर्ने पनि सुझाव दिएका छन्।
प्रतिवेदनअनुसार १ र ५ प्रतिशतभन्दा कम मतान्तरले कांग्रेस ४ स्थानमा विजयी भएको छ। यति नै स्थानमा पराजित भएको छ। ५ सयभन्दा कम मतले विजयी उम्मेदवारको संख्या कांग्रेसमा १७ छ। ५ सयभन्दा कम मतले विजयी उम्मेदवारको संख्या प्रदेशसभामा ४७ रहेको जनाइएको छ।
प्रदेशसभामा १ सयभन्दा कम मतले विजयी उम्मेदवारको संख्या ११ छ। डा. पौडेलका अनुसार यसपालि आएको नतिजाबमोजिम २०७४ को तुलनामा निर्वाचनमा बागमती प्रदेशको नतिजा उल्लेखनीय रहेको उपसमितिको विश्लेषण छ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्पmका १ सय ६५ स्थानमध्ये कांग्रेस ५७ स्थानमा विजयी भएको छ। प्रदेशतर्पmको ३ सय ३० स्थानमध्ये १ सय ११ स्थानमा जित हासिल गरेको छ। त्यसो त २०७४ को तुलनामा प्रत्यक्षतर्पm कांग्रेसले प्रतिनिधिसभामा ३४ स्थान र प्रदेशसभामा ७० स्थानमा बढी जित निकालेको थियो।