श्रम र यातायातबाट बिचौलिया पक्राउ
काठमाडौं : यातायात कार्यालय तथा श्रम कार्यालयमा पसी सेवाग्राहीलाई अनावश्यक दुःख दिने बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। सेवाग्राहीको अत्याधिक चाप हुने सरकारी कार्यालयमा दलाल तथा बिचौलियाले दुःख दिने गरेको सूचना आएपछि प्रहरीले टोली नै खटाएर बिचौलिया पक्राउ गर्न सुरु गरेको हो।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार सेवाग्राहीलाई अनुचित प्रभाव पार्ने, कामको विषयमा भ्रम फैलाउने, छिटो हुने काम पनि हुन्न भन्दै त्रास उत्पन्न गराउने बिचौलियाहरू प्रहरीको फन्दामा परेका छन्। मैनाली भन्छन्, ‘यातायात व्यवस्था कार्यालय एकान्तकुना, गुर्जुधारा, ठूलोभर्याङ तथा चाबहिलमा बिहीबार बिहानैदेखि प्रहरीको टोली खटिएको थियो।
यसैक्रममा गलत स्वास्थ्य रिपोर्ट बनाउने, छिटो काम गरिदिन्छौं भन्ने, हाकिम चिनेको छु भन्दै अनावश्यक दुःख दिने बिचौलियाहरू पक्राउ परेका हुन्।
सरकारी कार्यालयलाई बिचौलियामुक्त बनाउन प्रहरी परिसरले अपरेसन नै सुरु गरेको छ। उपत्यका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बिचौलियालाई नियन्त्रणमा लिएको हो। प्रहरी प्रवक्ताका अनुसार यातायात कार्यालयबाट २६ जना र श्रम कार्यालय ताहाचलबाट १४ जना बिचौलिया पक्राउ परेका हुन्। मंगलबार पनि यातायात कार्यालयबाट ७ जना बिचौलिया पक्राउ परेका थिए।
यातायात कार्यालयमा मोटरसाइकलको कर तिर्ने, नामसारी गर्ने, इम्बोस्ड नम्बरप्लेट जडानलगायतका काममा सहजीकरण गर्ने भन्दै उनीहरूले सेवाग्राहीलाई ठगी गर्ने गरेका थिए।
अनुगमनका लागि श्रम कार्यालय ताहाचल पुगेको प्रहरी टोलीले बिहीबार दिउँसो कार्यालय पसिसरबाट १४ जना बिचौलिया पक्राउ गरेको छ। श्रम स्विकृति लिने, भिषाका कागजात मिलाउनेलगायतका अनेक काम लिएर श्रम कार्यालय पुगेका सेवाग्राहीलाई अनेक झमेलामा फसाउने गरेको मैनालीले बताए।
प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बोहोराका अनुसार सेवाग्राहीको बाक्लो उपस्थिति हुने यातायात कार्यालय, श्रम कार्यालय, राहदानी विभाग, नापी कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रशासान कार्यालयमा सिभिल ड्रेसमा प्रहरी टोली खटाएर अप्रेसन सुरु गरिएको हो।