स्वस्थानी ब्रतकथा सुरु : भक्तपुरको हनुमानघाटमा भक्तजनको चहलपहल
भक्तपुर : काठमाडौंको साँखुमा जस्तै भक्तपुरको हनुमानघाटमा पनि शुक्रबारदेखि एकमहिने श्री स्वस्थानी ब्रतकथा सुरु भएको छ।
नेपालमा हिन्दु महिलाहरु स्वस्थानी माताको एक महिना ब्रत बस्ने गर्छन्। आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्दछन् । यो ब्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ ।
श्रीस्वस्थानीको व्रतकालमा भक्तपुरको हनुमानघाटबाहेक काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी तथा सतिदेवीका अङ्ग पतन भएका शक्तिपिठहरुमा घुइँचो लाग्ने गर्दछ । यसरी एक महिनासम्म नित्य पुजा कार्य गरी माघ शुक्ल पूर्णिमाको दिन व्रतको समापन गर्नु पर्दछ ।
संस्कृतिविद् विनोदराज शर्माका अनुसार भक्तपुरको हनुमानघाटमा नेपाल सम्वत् ७२२ देखि माधवनारायणको उपासनायुक्त धलंको परम्परा चलेको लिखित प्रमाण छ ।