नारायण नगरले बनायो आफ्नै पाठ्यक्रम
दैलेख: नारायण नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ। विद्यार्थीलाई नगरको समग्र अवस्था बारे जानकारी गराउने गरी पाठ्यक्रम निर्माण भएको हो।
नगरले आधारभुत तह १-८ लाई ‘हाम्रो नारायण नगरपालिका हाम्रो पहिचान’ शीर्षकको १२८ घण्टे पाठ्यक्रम निर्माण गरेको हो। नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकामा दैलेखको नारायण नगरले त्यसको अभ्यास गरेको हो।
नगरपालिकाका मेयर लोमन शर्माले नगरको भूगोल, भाषा, संस्कृति, इतिहास, विपद् व्यवस्थापन तथा जीवनउपयोगी सीप समेटेर पाठ्यक्रम निर्माण गरिएको बताए। विद्यार्थीलाई नगर के हो? नारायण नगरमा के छ? भन्नेबारे बुझाउँदै जनशक्तिलाई नगरप्रति उत्तरदायी बनाइने मेयर शर्माको भनाइ छ। पाठ्यक्रममा योग शिक्षालाई पनि समेटिएको उनको भनाइ छ।
पाठ्यक्रमलाई समयानुकुल परिमार्जन गरिने मेयर शर्माले बताए। पाठ्यक्रममा नगरको भूगोल, कला, संस्कृति, इतिहास, भाषा, धर्म, स्वास्थ्य, सरसफाइ, पर्यावरण, पेशा-व्यवसाय लगायतका विषय समेटिएको छ ।
विद्यार्थीलाई कक्षागत आधारमा स्थानीय पाठ्यक्रममा विभिन्न विषय समावेश गरिएको पाठ्यक्रम निर्माण समितिका संयोजक जीवराज तिमिल्सेनाले बताए। आधारभूत पाठ्यक्रममा नगरपालिकाको समग्र अवस्था विद्यार्थीहरूले सहजै पहिचान गर्न पाउने तिमिल्सेनाको भनाइ छ। उनका अनुसार हाल पाठ्यक्रमको ४२ वटा किताब छपाई गरेर सबै विद्यालयमा पठाईएको छ।
चालु शैक्षिक सत्रमा नै पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक लेखन र छपाइको काम सकेर नयाँ शैक्षिक सत्रबाट विद्यालयमा कार्यान्वयनमा लगिने नगरको शिक्षा शाखा प्रमुख पूर्णप्रसाद उपाध्यायले बताए । ‘पाठ्यक्रम तयार भईसकेको छ, अब पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक लेखन कार्य सुरु हुन्छ,’ उनले भने ।
पाठ्यक्रमले तहगत सक्षमता समेत तय गरेको छ। कक्षा १-३ ले गाउँ, वडा र नगरको परिचय, स्थानीय प्राकृतिक स्रोत तथा सम्पदा र पर्यटकीय स्थलको पहिचान लगायतका सक्षमताहरु हासिल गर्ने पाठ्क्रममा उल्लेख छ।
पाठ्यक्रममा कक्षा ४-५ ले नगरको नक्सांकन, अवस्था पहिचानसँगै जीवनपयोगी सीप लगायतका सक्षमता हासिल गर्ने उल्लेख छ। कक्षा ६-८ ले नगरको इतिहासको जानकारी, नगरपालिका गठन, सेवा प्रवाह, स्थानीय पर्यटन र व्यापारको सम्भावना अध्ययन गर्न सक्ने सक्षमता हासिल गर्न सक्ने पाठ्यक्रममा उल्लेख छ ।