नाटकमार्फत सम्बन्धको खोजी
काठमाडौं : नक्सालस्थित वृहस्पति विद्यासदनका विद्यार्थीले ‘तीन प्रश्न चिह्न र विङ्स स्नेल्स शीर्षकका दुई नाटक मञ्चन गरेका छन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा गरिएको नाटक मञ्चनमा विद्यालयका प्रधानाध्यापक कुमार थापाले नाटकमा परिवारभित्रको समसामयिक परिवेशलाई समेट्ने प्रयास गरिएको बताए।
एउटा परिवारमा आमाबाबु र सन्तानबीच जुन सम्बन्ध हुनुपर्ने हो, त्यो हिजोआज मोबाइल फोनका कारणले गर्दा हुन नसकेको उनले बताए। ‘अभिभावकले आफ्ना बालबालिका सकेसम्म राम्रो शिक्षा पाऊन् भन्ने इच्छाका साथ राम्रो विद्यालयमा भर्ना त गराउँछन्। तर, पछि आफू फोनमै व्यस्त हुने भएकाले छोराछोरीलाई समय दिन नसक्दा उनीहरू पनि आमाबाबुसँग टाढिने प्रवृत्ति बढेको नाटकमा देखाइएको छ,’ उनले भने।
अभिभावकले बालबालिकालाई विद्यालय पठाउने, ट्युसन पढाउने, पढ् बाबु भन्ने, तर कहिल्यै नजिक भएर उसलाई के भएको छ, कस्तो छ भनेर नसोध्ने गर्दा उनीहरूले पनि आफ्ना मनका कुरा अभिभावकलाई सुनाउन नसक्ने र फोन र गेममै भुलिरहनेजस्ता विषयलाई नाटकमार्फत विद्यार्थीले प्रस्तुत गरेको प्रधानाध्यापक थापाले बताए।
नाटकले विशेषगरी डिजिटल युगमा प्रवेश गरेको आजको समाजमा बालबालिका र उनीहरूका अभिभावकबीचको सम्बन्धलाई प्रस्ट्याउन खोजेको विद्यालयकी शिक्षिका डोल्मा लामा शाहले बताइन्। बिहीबार प्रदर्शन गरिएका नाटकहरूको निर्देशक मनोज तामाङ र जेनी सुनुवारले गरेका थिए।