१२ वर्षपछि घण्टाघरमा राखियो नयाँ घडी
सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरको घण्टाघरमा १२ वर्षपछि नयाँ घडी राखिएको छ। वषौँदेखि सुई नचल्ने घडी घण्टाघरमा राखिएको भन्ने आलोचना हुन थालेपछि सुर्खेछको घण्टाघरमा १२ वर्षसम्म बन्द अवस्थामा रहेका पुराना घडीहरु निकालेर नयाँ घडी राखिएको हो।
चीन सरकारको सहयोगमा २०४५ सालमा बनेको घण्टाघरका घडीहरु झण्डै १२ वर्षदेखि बन्द थिए। घण्टाघरमा राखिएका घडीका काँटा घुम्दैनथे। ती घडीहरुले दिनमा एक पटक मात्र सही समय देखाउँथ्ये। वीरेन्द्रनगर नगरपालिकाले झण्डै २०६३/०६४ सालदेखि बन्द भएका घण्टाघरका पुराना घडी हटाएर नयाँ घडी जडान गरेको हो।
कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा प्रमुख पर्यटकीय गन्तव्यमध्ये घण्टाघर पनि एक महत्वपूर्ण क्षेत्र हो। घण्टाघरको टुप्पोबाट वीरेन्द्रनगरको आधा उपत्यका सहजै निहाल्न सकिन्छ। घण्टाघरका चारै दिशा तिर १/१ गरी जम्मा ४ वटा घडी राखिएका छन्। हरेक दिन करीव २ सय आन्तरिक पर्यटकले घण्टाघर अवलोकन गर्ने गरेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ। घण्टाघर भित्र विशेष गरी बालकालिकाका लागि आकर्षक पार्कको व्यवस्था गरिएको छ।
लामो समयदेखि घडी सञ्चालनमा ल्याउन नसकिएपछि सुर्खेत उद्योग वाणिज्य संघको पहलमा वीरेन्द्रनगर नगरपालिकाले करिब १२ लाख रुपैयाँ लागतमा नयाँ घडी जडान गरेको छ।
घण्टाघरको संरक्षणको जिम्मा वीरेन्द्रनगर नगरपालिकाको भएपनि पुराना घडीहरू मर्मत सम्भार हुन नसकेपछि सरोकारवाला निकायहरुले आलोचना गरेपछि सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा भारतबाट नयाँ घडी मगाएर जडान गरिएको हो। संघका अध्यक्ष लक्ष्मण कँडेलले घडी बिग्रिएको १२ वर्ष भएको भने पनि करिब १६-१७ वर्षअघिबाटै चल्न छोडेको बताए। उनका अनुसार घण्टाघरमा बिग्रिएका घडी बनाउने मान्छे नेपालमा छैनन्। त्यसैले भारतबाट नयाँ घडीहरु ल्याएर जडान गरिएको हो।