स्थानीय र जनप्रतिनिधिले रोके बालविवाह
सुर्खेत : कालिकोटमा उमेर नपुगी हुन लागेको विवाह रोकिएको छ।
जिल्लाको रास्कोट नगरपालिकामा उमेर नपुगी विवाह गर्न खोज्दा एक जोडीलाई स्थानीय र जनप्रतिनिधिले रोकेका छन्।
बाजुरा घर भएकी १५ वर्षीया एक किशोरी र रास्कोट नगरपालिका-४ निवासी २० वर्षीय किशोरबीच विवाह हुन लाग्दा रास्कोट नगरपालिका-४ का वडाध्यक्ष दिनेश सन्ज्याल र स्थानीयले रोकेका हुन्।
यही पुस १९ गते रास्कोट नगरपालिका-४ का स्थानीय २० वर्षीया किशोरले बाजुरा जगन्नाथ गाउँपालिका निवासी १५ वर्षीय किशोरीलाई भगाएर रास्कोट ल्याएका थिए।
उमेर नपुगी विवाह गर्नु कानुनीविपरीत हुने भन्दै स्थानीय र जनप्रतिनिधिले विवाह गर्न नदिएर आइतबार किशोरीलाई उनकै बुवा बिरमान सार्कीको जिम्मा लगाएका हुन्।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख जयस्वर रिमालले जिल्लाका ग्रामीण समुदायमा उमेर नपुगी विवाह गर्ने समस्या रहेको बताए।
उनले भने, 'जिल्लाका ग्रामीण समुदायमा अझै लुकी छिपी बालविवाह गरिरहेको पाइन्छ। चालु आर्थिक वर्षमा मात्र प्रहरीले बालविवाह गर्ने तीन जोडीलाई मुद्दा चलाएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम पनि गाँउ गाँउमा गरिरहेका छौँ।'