दैनिक नदीजन्य वस्तु चोरी निकासी

दैनिक नदीजन्य वस्तु चोरी निकासी

रामेछाप : जिल्लाको खाँडादेवी गाउँपालिकामा दैनिक जस्तो बालुवा चोरी निकासी भइरहेको पाइएको छ। 

पालिकाले पटक पटक बोलपत्र आह्वान गरेको भए पनि कसैले पनि सिलबन्दी बोलपत्र हालेका छैनन् तर बालुवा चोरी भने दैनिक भइरहेको छ। 

पालिकाभित्र सञ्चालित अधिकांश क्रसर उद्योग अवैध रूपमा सञ्चालन भएका छन्। कुनैपनि क्रसर उद्योगले मापदण्ड पूरा नगरेको पाइएको छ। 

नदीजन्य वस्तुको अवैध चोरी निकासी रोक्न खाँडादेवी गाउँपालिकाले सक्रियता देखाएको छ। सुनकोसी र तामाकोसी नदी किनारमा गिटी बालुवा अवैध रूपमा चोरी पैठारी भइरहेकाले नियन्त्रणमा लागिपरेको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए। 

अवैध निकासी पैठारी रोक्न गाउँपालिकाले नदी किनारमा अनुगमन र निगरानी समेत बढाएको छ। 
खाँडादेवी गाउँपालिका–२ रजगाउँबाट बालुवा चोरिरहेको अवस्थामा प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय खाँडादेवीमा राखेको पनि गाउँपालिकाले जानकारी दिएको छ। 

गाउँपालिकाका अनुसार रातको समयमा बालुवा गिटी चोरी निकासी भइरहेको छ। निर्माणाधीन मध्यपहाडी राजमार्गका निर्माण व्यवसायीले समेत सुनकोशी नदी किनारबाट अवैध रूपमा गिटी बालुवा चोरी गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए। 

गाउँपालिकाअन्तर्गत नदी दोहन तथा नदीजन्य वस्तु अवैध चोरी निकासी गर्ने कसैलाई पनि नछाड्ने अध्यक्ष श्रेष्ठले बताए। 

राजमार्गअन्तर्गत खैरेनीमा निर्माण व्यवसायीले सुनकोशी नदीभित्र स्काभेटर प्रयोग गरेर नदीजन्य वस्तु उत्खनन् गरेको पाइएपछि नियमानुसार राजस्व भराएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। 

निर्माण व्यवसायीले भने आफूले नदीजन्य वस्तुको दोहन नगरेको दावी गरेका छन्। गाउँपालिकाले अनावश्यक आरोप लगाएको निर्माण व्यवसायीको भनाइ छ। 

वर्षको असारदेखि असोजसम्म नदीजन्य वस्तु उत्खनन गर्न नपाइने कानूनी व्यवस्था छ। अन्य समयमा स्थानीय सरकारले ठेक्कामार्फत वा आवश्यक राजस्व लिएर उत्खनन् र निकासी गर्न सक्ने छ। 

गाउँपालिकाले नदीजन्य वस्तु उत्खननका लागि टेन्डर आह्वान गरेको तर टेण्डर लागिनसकेको बताएको छ। 

रातको समयमा टेन्डर नभएको ठाउँमा नदीजन्य वस्तु तस्करी भइरहेको गाउँपालिकाले जनाएको छ। 
अवैध रूपमा राति नदीजन्य वस्तु उत्खनन् र चोरी गरिरहेको अवस्थामा दुईवटा इस्काभेटर तथा तीनवटा ट्रिप्पर नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए। 

रातको समयमा नदीजन्य वस्तु चोरी गरिरहेको अवस्थामा  इस्काभेटर र ट्रिप्परहरू नियन्त्रणमा लिएर छानविन भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए। 

खैरेनीस्ति सुनकोशी नदीबाट रातको समयमा नदीजन्य वस्तु तस्करी भइरहेको जानकारी आएकाले सरोकारवाला निकायसँग समन्वय तथा आवश्यक छलफल र अनुगमन गरि कानूनी प्रक्रिया अघि बढाउने रेग्मीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.