चीनसँगको लप्ची नाका चार वर्षदेखि बन्द
दोलखा : दोलखाको विगु गाउँपालिका-१ लप्चीमा रहेको चीनसँगको सीमा नाका चार वर्षदेखि बन्द छ। जसका कारण स्थानीयलाई किनमेल तथा उत्पादित सामान बिक्री वितरणमा समस्या हुने गरेको छ।
नयाँ सरकार गठन भए लगतै चीनले नेपालसँगको धेरै नाका खोलेपनि दोलखाको लप्ची भने सरकारी उपस्थिति नभएको कारण देखाउँदै खोल्न नमानेको स्थानीय बताउछन्।
सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीको पोष्ट सीमा क्षेत्र लप्चीमा नभै लामाबगरमा राखिएकै कारण नाका खुल्न नसकेको स्थानीय कर्मावाईसर शेर्पा बताउँछन्।
लप्चीबाट लामाबगर आउन दुई दिन लाग्ने भएकाले सीमा क्षेत्रमा सरकारको उपस्थिति शून्य देखिएको छ।
लप्चीमा सुरक्षा पोष्ट राख्ने विषयमा आवश्यक सुझाव सहितको पत्र गृहमा पठाएको भएपनि जवाफ नआएकाले लामाबगरमै सुरक्षा पोष्ट रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए।
लप्चीका स्थानीयलाई आफ्नो लामाबगर आउनै दुई दिन लाग्ने भएकाले उनीहरूको मुख्य बजार चीनका फलाक र कुती हो। तर नाका नखुल्दा दैनिक उपभोग्य सामान किनमेल र आफूले उत्पादन गरेका कुरा बिक्री गर्न समस्या भइरहेको स्थानीय कर्मा शेर्पाको भनाइ छ।
नाका नखुलेकै कारण लप्चीवासीले चौरी, याक, चौरीको घ्यू, छुर्पीजस्ता कुरा फलाक र कुती पुर्याउन नसकेका कर्माले बताए। आफ्ना उत्पादन बिक्री गर्न नपाउँदा आर्थिक समस्या भएको स्थानीयले बताएका छन्।