‘सिरियल किलर’ भारतीय दम्पती पक्राउ
सन्धिखर्क : अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा ३ महिलाको हत्या गर्ने सिरियल किलर भारतीय दम्पती पक्राउ परेका छन्। श्रृंखलाबद्ध रुपमा बृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुुसान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो।
उनले श्रृंखलाबद्ध रूपमा यही पुष १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका–१० बहखोरकी ६० वर्षीया राधा थापा, गत कात्तिक २८ गते गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीया जीवकला थापा र गत असोज ६ गते कपिलवस्तुको बिजयनगर गाउँपालिका–४ की ७० वर्षीया योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द प्रसाद रिजालले बताए।
श्रीमतीसँग मिलेर हत्या गरेको सुसान्तले बताएपछि निजकी श्रीमती शितगंगा नगरपालिका–१० सिद्धाराकी २२ वर्षीया शिवा परियारलाई प्रहरीले पक्राउ गरेको छ। दुबैजनाले गरेका श्रृंखलाबद्ध घटनाको सुक्ष्म तरिकाबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी कृष्ण घिमिरेले बताए। तीनै जना महिलाको एउटै प्रकृतिबाट हत्या गरी गरगहना तथा नगद लुट्ने कार्यमा यी दम्पत्ती संलग्न रहेको पाइएको छ।
अर्घाखाँचीको शितगंगा नगरपालिका–१० सिद्धाराकी ६० वर्षीया थापाको हत्यामा संलग्न रहेको आशंकामा अनुसन्धान गर्दा पक्राउ परेका भारतीय नागरिक सुसान्त सिंहले लगातार तीन वटा हत्या गरेको स्वीकारेको प्रहरी नायव उपरिक्षक रिजालको भनाइ छ।
भारतको हरियाणा घर भएका सिंह केही वर्षदेखि अर्घाखाँचीको शितगंगा–१० सिद्धाराकी २२ वर्षीया शिवा परियारसँग विवाह गरी यतै बस्दै आएका थिए। यही पुष १७ गते बिहान अन्दाजी ९ बजेकोे समयमा सिद्धारा भाजामारे जंगलमा राधा थापालाई सिंहले हत्या गरी खोल्सामा फाली मृतकले लगाएका सुनका गहना लिई भागेका थिए। भाग्दै गरेका सिंहलाई शितगंगा मुन्द्रीबासको जंगलबाट प्रहरीले पक्राउ गरेको थियो।
गत असोज ६ गते कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–४ की ७० वर्षीय योगमायाको हत्या भयो। सिंहको विजयनगरमा बस्ने दिदीको घरमा आउने जाने क्रममा स्थानीय योगमाया गैरेसँग चिनजान भयो । योगमायाले घरमा गरगहना राख्ने गरेको थाहा पाएपछि श्रीमती शिवा परियारसँग मिलि राती योगमायाको हत्या गरेर सुनका गरगहना र नगद लुटी चन्द्रौटा हुँदै भारत गएको सिंहले बताएको प्रहरी प्रमुख रिजालले जनाए।
गत कात्तिक २८ गते गुल्मी जिल्लाको इस्मा गाउँपालिका–५ बस्ने ७५ वर्षीय जीवकला थापाको हत्या भएको थियो। इस्मामा घटेको घटना र अर्घाखाँचीमा घटेको घटना एउटै प्रकृतिका रहेको अनुसन्धानमा पाइयो।
अनुसन्धान गर्दै जाँदा सामाजिक सञ्जालमा निज जीवकला थापाको भिडियो देखि उक्त भिडियोमा जीवकला थापा घरमा एक्लै बस्ने सिंहले थाहा पाए। छोरा–छोरी कोही पनि घरमा नभएको र श्रीमानको पनि मृत्यु भइसकेको थाहा पाइ सुशान्त सिंह गुल्मी पुगेर उक्त महिलाको हत्या गरी सुनका गरगहना लुटेर भागेको प्रहरीलाई बताएका छन्।