ठूलो रकमसहित हुण्डी कारोबारी पक्राउ

ठूलो रकमसहित हुण्डी कारोबारी पक्राउ

सप्तरी : सप्तरीको बोदे बरसाईन नगरपालिकाबाट श्रोत नखुलेको ठूलो रकमसहित दुई हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) काठमाडौको टोलीले वडा नम्बर–५ स्थित बोदे बरसाइन बजारबाट श्रोत नखुलेको ५२ लाख ८९ हजार पाँच सय नेपाली रूपैयाँ बरामद गरेको जनाएको छ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक संजयसिंह थापाले स्थानीय कौशलकिशोर यादवको घरबाट हुण्डी रकमसहित दुई जना पक्राउ परेको बताएका छन्। 

यादवको घरकोठाबाट नेपाली रूपैयाँको अवैध कारोबार भइरहेको सूचनाका आधारमा सिआइबीको टोलीले छापा मार्दा उक्त रकम बरामद भएको हो। 

प्रहरीले बोदे बर्साईन–९ देउरीका ३२ वर्षीय रामबिलास साह तेली र वडा नम्बर ७ का ५२ वर्षीय मायानन्द झालाई पक्राउ गरेको हो। कालो झोलामा १५ लाख रूपैयाँसहित तेली र नौ लाख रूपैयाँसहित झा पक्राउ परेका हुन्। 

उनीहरू बसेको कोठाको खाटमाथि कपडाले छोपी राखेको अवस्थामा २८ लाख ८९ हजार पाँच सय रूपैयाँ बरामद भएको छ।

प्रहरी टोलीले दुई थान मोबाइल र हिसाब लेखिएको पाँच थान कापी समेत फेला पारेको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको छ। 

प्रहरीले सप्तरीबाट दुई जनालाई पक्राउ गरेलगत्तै धनुषा र काठमाडौंबाट दुई जना पक्राउ गरेको छ। सिआइबी टोलीले धनुषा क्षिरेश्वर नगरपालिका–१ बाट हुण्डी कारोबारीका आरोपी ३५ वर्षीय उदय चन्द्र यादवलाई पक्राउ गरेको जनाएको छ।

अवैध रूपमा अनलाइनमार्फत २० करोडभन्दा माथिको रकमको हुण्डी कारोबार गरेको आरोपमा यादव पक्राउ परेको प्रहरी उपरिक्षक थापाले बताए। 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गतको कसूरमा यादवले कारोवारमा प्रयोग गरेको ल्यापटप, मोबाइल फोन समेतका उपकरणहरू बरामद गरेको छ। 

यस्तै काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बालकुमारीस्थित सडकबाट स्रोत नखुलेको नगद ६ लाख ५५ हजार रुपैयाँ र विभिन्न कम्पनीको मोबाइल ७७ थानसहित ललितपुर धापाखेलका २७ वर्षीय सृजन श्रेष्ठ पक्राउ परेका छन्। 

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले बा ८० प ६२७६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार श्रेष्ठलाई उक्त नगद र मोबाइलहरू सहित फेला पारी पक्राउ गरेको हो।

आर्जित रकम औपचारिक माध्यमबाट नपठाई निजी व्यापारी, एजेण्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सीमार्फत् स्वदेश वा विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ। 

खासगरी सुन तस्करी, लागु औषध र अवैध हातहतियारको कारोबार, मानव बेचबिखन, न्यून विजकीकरण गरी समान आयात जस्ता अपराधजन्य कार्यमा हुण्डीले प्रश्रय पाएको छ।

अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा असुरक्षित हुने, अबैध कारोबार तथा अपराधजन्य कार्यमा लाग्ने र मुलुकलाई व्यापार घाटा हुने भएकाले हुण्डी कारोबारलाई अवैध र जोखिमपूर्ण मानिन्छ। नेपालमा हुण्डीमार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु अवैध र गैरकानुनी कार्य हो। 

पछिल्लो समय अवैध रूपमा हुने पैसाको कारोबार हुण्डी बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ। उपत्यका लगायत नेपाल-भारत सीमा जोडिएका तराईका जिल्लामार्फत हुण्डीकारोबार हुने गरेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.