खोप कार्यक्रम बनाउनुपर्नेमा जोड
भक्तपुर : भक्तपुरमा सोमबार आयोजना भएको कार्यक्रमका सहभागीले खोप कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन्।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालले आयोजना गरेको खोपसम्बन्धी सूक्ष्म कार्ययोजनाबारे कार्यशालामा उक्त कुरा बताएका हुन्।
नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कुनै पनि बालबालिका खोपबाट बञ्चित नहुनका लागि खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने बताए।
सरकारबाट निःशुल्क रूपमा प्राप्त हुने आधारभूत स्वास्थ्य सेवा नपाएर धेरै नागरिकहरूले अकालमा ज्यान गुमाउन परिरहेको यथार्थ प्रस्तुत गर्दै उनले स्वास्थ्य संस्थाहरूजनताको सेवाको निम्ति सञ्चालन हुनुपर्ने धारणा राखे।
नगरपालिकाले नगरभरि निःशुल्क रूपमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको अवगत गराउँदै सरकारी अस्पतालको स्तरोन्नतितर्फ सरकारको ध्यान जान जरुरी रहेको उनले बताए।
ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले स्वास्थ्य संस्थाको कार्यक्षेत्रभित्रको आधारभूत जानकारी प्रस्तुत गर्दै खोप कार्यक्रम सञ्चालनबारे जानकारी दिए।
गोष्ठीमा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुरमा हाल ८० प्रतिशत मात्र पूर्ण खोप लगाएको अवस्था रहेको बताउँदै शतप्रतिशत खोपको सुनिश्चितता गर्ने योजना सुनाए।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत शान्तिराम खतिवडाले खोप कार्यक्रमको उपलब्धीमाथि चर्चा गर्दै खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा पुर्याउने र सो कायम गर्ने योजना रहेको बताए ।