सुरु भयो जनप्रतिनिधिको ५ वर्षे परीक्षा

सुरु भयो जनप्रतिनिधिको ५ वर्षे परीक्षा

काठमाडौ : संसद् अर्थात् देशको नीति निर्माण गर्ने जनप्रतिनिधिको थलो। संविधान बनेयता दोस्रो कार्यकालको प्रतिनिधिसभा बैठक सोमबार सुरु भएको छ। जनताको बढ्दो खबरदारी र नयाँ दलको अप्रत्याशित आगमनबीच २ सय ७५ सांसद कार्यमोर्चामा उत्रिएका छन्। 

पहिलो दिनको बैठकमा सबै पार्टीका संसदीय दलका नेताले संसद्मा सम्बोधन गरे। त्यस क्रममा उनीहरूले विकास, सुशासन र सुरक्षाको आश्वासन दिए। साथै, माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नवगठित सरकारलाई शत्मार्गमा लाग्न सचेत गराए। विश्वासको मत लिने अघिल्लो दिन प्रधानमन्त्री दाहालले सांसदमाझ भने, ‘हामी निरन्तर जनताको निगरानीमा छौं। यो संसद् हाम्रा लागि परीक्षा केन्द्र हो।’ उनले परम्परागत राजनीतिक अभ्यासले मात्र नागरिकको चाहना पूरा नहुने धारणा राख्दै सबै सांसद जनताको निरन्तर खबरदारीबाट टाढा नरहेको उल्लेख गरे। 

जनताको सुशासन र जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसद्मा हुने प्रधानमन्त्री दाहालको भनाइ थियो। उनले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरू संसद्को पुँजी भएको बताए। उनले नयाँ दलले संसद्मा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको बताए। ‘बिना कुनै ईष्र्या मनैदेखि भन्न चाहन्छु। यो लोकतन्त्र र नागरिक सम्प्रभुताको जित हो। उहाँहरूमा केही गरौं भन्ने हुटहुटी छ। यो संसद्को पुँजी हो। तपाईंहरूलाई हृदयदेखि नै स्वागत छ,’ उनले भने। 

प्रधानमन्त्री दाहालले आफूहरूलाई समस्या केलाएर बस्ने मात्र छुट नभएको भन्दै समाधानको सूत्र पहिल्याउनुपर्ने बताए। ‘म आशावादी छु। यो प्रतिनिधिसभा सार्थक संवादको थलो बन्नेछ। हाम्रो अभ्यासमा जनताले गौरव गर्ने वातावरण बन्नेछ। राष्ट्रको आवश्यकताको बारेमा विवेकपूर्ण निर्णय लिन सक्नेछौं’ उनले भने।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरूलाई आग्रह गरेका छन्। बैठकलाई सम्बोधन गर्दै उनले संसद्को ठूलो दल कांग्रेस रचनात्मक रूपमा प्रस्तुत हुने र जनताको मुद्दासँग जोडिरहने बताए। भने, ‘प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र संघीय लोकतान्त्रिक व्यवस्थाको सबलीकरणका लागि विशेष योगदान गर्न सकोस्। हामी सबै त्यसमा संलग्न हुन सकौं।’ प्रधानमन्त्री नियुक्त भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनले बधाईसमेत दिए।प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठकमा सहभागी सांसदहरू।  

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् हुनु भनेको व्यक्तिगत सम्मान र विकासका लागि नभै देश चलाउन भएको बताए। नयाँ सरकार गठनपछि परिवर्तनको चाहना जनताले राखेको उनले बताए। भने, ‘संसद् बन्नका लागि मात्र होइन। सांसदको हैसियतमा देश र जनताका लागि काम गर्न हो। सबै दल मिलेर काम गरौं। सरकार बन्न पाको छैन। बिगार्ने खेलोतिर लाग्यौं भने समय बर्बाद हुन्छ।’ 

प्रतिनिधिसभा विघटनको विषय कोट्याउँदै उनले जनताको ताजा जनादेश लिन जाने कुरालाई प्रतिगमन भन्न नमिल्ने बताए। भने, ‘संसद्को सुरुवात गरेको देशले अहिले पनि बेलाबेलामा संसद् विघटन गरिहेको छ। हामीमा प्रतिगमन भयो भन्ने ? प्रतिनिधिसभा विघटन प्रतिगमन हो भन्ने ?’ प्रश्न गर्दै उनले भने, ‘संसदीय व्यवस्थाको जननी बेलायतमा हिजो अस्ति पनि प्रतिगमन भएको थियो।’ प्रतिनिधिसभा भंग हुनु प्रतिगमन नभएको बताउँदै उनले भने, ‘संसद्बाट सरकार बन्नु र ढल्नु प्रतिगमन होइन। अन्यत्रबाट सरकार ढाल्न लागियो भने त्यो प्रतिगमन हो। कुठाउँबाट सरकार बनाउनेमा जाँदै जानु हुँदैन।’

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि भ्रष्टाचारको छानबिन गर्दा प्रभाव नपार्न सबैलाई आग्रह गरे। ‘कुनै पनि भ्रष्टाचारमा भएका छानबिनमा प्रभाव नपारिदिनु होला। कसैको पक्ष र विपक्षमा प्रभावका कुरा लिएर नआउनुहोला। हामी पनि कुनै काण्डमा मुछिने काम नगरौं।’ उनले प्रतिपक्षबाट पनि हरेक सकारात्मक काम अड्काउने नभई सघाउने तरिकाको हुने विश्वास लिएको बताए। भने, ‘प्रतिपक्षबाट पनि अड्काउने काम हुने छैन भन्ने मलाई लागेको छ।’

  •     परम्परागत राजनीतिक अभ्यासले मात्र नागरिकको चाहना पूरा नहुने प्रधानमन्त्रीको धारणा।
  •     संसद्को ठूलो दल कांग्रेस रचनात्मक रूपमा प्रस्तुत हुने कांग्रेस सभापति देउवाको भनाइ।
  •     सांसद व्यत्तिाmगत सम्मान र विकासका लागि नभै देश चलाउन आएको एमाले अध्यक्ष ओलीको विचार।

नेपालको इतिहासमा राजनीतिक दलको उदय हुनु ठूलो कुरो नभएको उनको भनाइ थियो। ‘हामीले जुन समयमा मत पाएका छौं। त्यो दल र व्यक्तिलाई दिएको मत मात्रै होइन। यो मुलुकमा परिवर्तन आवश्यक छ भनेर जनताले बजाएको घण्टीको आवाज हो। यो घण्टीको आवाजलाई सदन र सिंगो देशले सुन्नेछ।’ उनले आफूहरूले पाएको मत निराशाको नभएर आशाको भएको बताए। जनताले आफूहरूलाई परिवर्तन गर्ने गरी र पुराना दलहरूलाई पनि सचेत हुने गरी मत दिएकाले अहिले जनमतअनुसार सरकार बनेको उनको प्रतिक्रिया थियो। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सबैको विचारभन्दा माथि देश रहेको बताए। बैठकमा उनले भने, ‘हामी कसैले कसैलाई निषेध गरेर म मात्रै बढ्छु भन्ने अवस्था छैन। हामी सबैका विचारभन्दा माथि देश छ। त्यसकारण देशलाई शिरमा राखेर मुलुकको समस्या समाधान गर्न अग्रसर हुन सकौं।’   

अहिलेको परिस्थितिमा कसैले निधेषको राजनीति गर्न सम्भव नभएको पनि लिङ्देनले बताए। भने, ‘राप्रपाले प्राप्त जनादेशअनुसार राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा दृढताको साथ उभिनेछ। राप्रपा मुलुकको अस्थिरको कारक बन्दैन। देशलाई शिरमा राखेर मुलुकको समस्या समाधान गर्न अग्रसर हुन्छ।’ 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा राजनीतिक स्थायित्व जनताले चाहेको बताए। उनले विगतको शिक्षा ग्रहण गरेर अघि बढ्नुपर्ने धारणा राखे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिँदै भने, ‘प्रधानमन्त्रीले संविधान पालना गरेर हिँड्ने विश्वास छ। संविधान, लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै समाजवादको लक्ष्यमा जानुपर्छ।’ उनले थप्दै भने, ‘उहाँले केही गरेर देखाउने। नयाँ ढंगले अघि बढ्ने र सबै क्षेत्रमा सुधारसहित आमुल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। जनताले देख्नेगरी काम होस्। बोली र व्यवहारमा सामजञ्यता आओस्।’

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसद्मा उपस्थित भएर बोल्न पाउँदा नयाँ अनुभूति भएको बताए। बैठकमा उनले विगतमा आफ्नो नाम पनि लिन निषेध रहेको भन्दै अहिले लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतले सम्भव भई यो स्थान हासिल गरेको बताए। भने, ‘कुनै बेला मेरो नाम मात्रै लिन पनि निषेध गरिएको थियो। त्यो ठाउँमा आज आफैं आएर उभिँदा नयाँ अनुभूति भएको छ। यसका लागि लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई धन्यवाद दिन चाहन्छु।’

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ दलबाट आएका सांसदहरूको मनमा आवेग र हुटुहुटी भएको बताएपछि अध्यक्ष राउतले त्यसको जवाफमा भनेका थिए, ‘प्रधानमन्त्रीज्यूले नयाँ दलहरूको आगमनलाई स्वागत पनि गर्नुभयो। र, भन्नुभयो उहाँहरूसँग आवेग पनि छ। अग्रजहरूप्रति सम्मान पनि रहेको छ। नयाँ दलहरूमा रहेको आवेग जनताभित्र रहेको परिवर्तनको आकांक्षा हो। त्यसलाई सकारात्मक परिवर्तनको लागि प्रयोग गरिनेछ।’ उनले अहिले देशमा सकारात्मक परिवर्तन ल्याउन महŒवपूर्ण भूमिका खेल्ने प्रतिबद्धतासमेत जनाए।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले रेशम चौधरीलाई राजनीतिक संरक्षण नभएकै कारण मुद्दा लगाइएको बताइन्। भनिन्, ‘रेशम चौधरीलाई किन मुद्दा लगाइयो ? सहजै थाहा हुन्छ कांग्रेस, एमाले, माओवादीको ठूला दलको नेता नभएकै कारण मुद्दा लगाइयो। र, थारू भएकै कारण रेशमसँगै अरूलाई पाँच वर्षदेखि जेलमा राखियो।’ टीकापुर घटना बन्द कोठामा घटाइएको घटना नभएको बताउँदै उनले भनिन्, ‘टीकापुर घटना कुनै बन्द कोठाभित्र घटाइएको घटना थिएन। हजारौंको भीडमा नदेखिएको रेशम चौधरीलाई आज पनि कारागारमा थुनिएर राखिएको छ।’

जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता रामसहाय यादवले नागरिकता अबको संसद्ले तुरुन्त पास गर्नुपर्ने विचार राखे। यसअघि प्रतिनिधि र राष्ट्रियसभाका दुवै सदनबाट पारित भएर दुई–दुई चोटी जाँदा पनि राष्ट्रपति कार्यालयमा थन्किएर बसेको धारणा राखे। उनले नागरिकता नपाएकै कारण धेरैले आत्महत्या गर्ने अवस्थामा आएको दाबी गरे। भने, ‘नागरिकता नपाउँदा देशका अधिकांश नागरिक अनागरिक भएर बस्न बाध्य छन्। जन्मसिद्धका सन्तान अहिले पनि आमबुबा, नागरिक र आफंै अनागरिक छन्। कैयौं आत्महत्या गर्नुपर्ने अवस्थामा छन्। अब एक महिनाभित्र नभएर तुरुन्त यसलाई कार्यान्वयनमा लानुपर्छ।’

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सांसदप्रति जनताको कुनै आशा नरहेको दाबी गरे। ‘देशमा मन्त्रीको संख्या सांसदको संख्याभन्दा बढी भयो भने देशको अर्थतन्त्रले धान्छ ? अहिले पनि देश बेवारिसे नै छ। विशुद्ध सत्तामा कसरी जाने भन्ने भयो,’ केसीले भने। सिद्धान्त, नीति, आदर्श र नैतिकताले काम नै नगर्ने अवस्था आएको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.