ब्राजिलमा दङ्गामा सहभागी १ हजार २ सय जना पक्राउ
ब्रासिलिया : ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा प्रहरीले १ हजार २ सय जनालाई पक्राउ गरेको जनाएको छ ।
ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले यहाँको राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि सोमबार व्यापक मात्रामा तोडफोड गरेका थिए ।
उनीहरुले संसद भवन, ब्राजिलका राष्ट्रपतिको कार्यालयमा पनि आक्रमण गरेका थिए । उनीहरुले संसद भवनभित्रै प्रवेश गरेर त्यहाँका भौतिक संरचनामा पनि तोडफोड गरेका छन्। प्रहरीले आइतबार रातिको सो घटनाको अनुसन्धान गर्ने क्रममा राति नै करिब तीन सय जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले सो आक्रमण र हिंसामा सहभागी भएका व्यक्तिहरुलाई सिसी टिभीबाट पहिचान गरेर पक्राउ गरेको हो।
ब्राजिलको राष्ट्रपतिका रुपमा लुइज इनासियो लुला दा सिल्भा निर्वाचित भएपछि ननको विरोधमा पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरु उत्रिएका थिए। उनीहरुले राष्ट्रपतीय निर्वाचनको विरोध गरेका थिए । राजधानी सहरमा रहेको सर्वोच्च अदालतको भवनमा पनि आगजनी गरेका थिए ।
ब्राजिलका प्रधानन्यायाधीशले उनीहरुलाई पक्राउ गरेर कारबाही गर्न प्रहरी प्रशासनका नाममा आदेश दिएका थिए।
यही जनवरी १ मा ब्राजिलका राष्ट्रपतिको शपथ लिएका लुलाले हिंसामा सहभागी भएका सबैलाई कानुन अनुसार कारबाही हुने जानकारी दिएका छन्। रासस