बोल्सोनारोलाई ब्राजिल फिर्ता पठाउन बाइडेनलाई दबाब
वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आफ्नो पार्टीका सदस्यले ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई फिर्ता पठाउन दबाब दिइरहेका छन्।
आइतबार, ब्राजिलमा बोल्सोनारोका हजारौं समर्थक संसद, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा प्रवेश गरेका थिए। उनीहरुले त्यहाँ हड्ताल र तोडफोड पनि गरेका थिए। त्यस यता अहिलेसम्म करिब १५ सय जना पक्राउ परेका छन्।
डेमोक्रयाट नेता जोकिन क्यास्ट्रोले सीएनएनलाई भने, 'बोल्सोनारो फ्लोरिडामा हुनु हुँदैन। ब्राजिलमा आतंकवाद उक्साउने यी तानाशाहको लागि अमेरिका आश्रयस्थान बन्नु हुँदैन। उनलाई ब्राजिलको जेलमा फिर्ता पठाइनुपर्छ।'
अर्को डेमोक्र्याट अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले आफ्नो ट्वीटमा भने, 'अमेरिकाले बोल्सोनारोलाई फ्लोरिडामा बस्नबाट रोक्नु पर्छ।'
उही समयमा, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अमेरिकाले बोल्सोनारोको भिसाको सम्बन्धमा ब्राजिल सरकारबाट कुनै औपचारिक अनुरोध प्राप्त नगरेको बताएका छन्। बीबीसी