मेलम्चीको मुख्य बाँध सार्नुपर्ने

मेलम्चीको मुख्य बाँध सार्नुपर्ने

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध (हेडवर्क्स) सार्नुपर्ने देखिको छ। आयोजनामा २०७८ असार १ गतेको बाढीले ठूलो क्षति पुर्‍याएको थियो। क्षतिको विस्तृत अध्ययन गरेको क्यानडेली टोलीले हेडवर्क्सबाट स्थायी रूपमा पानी पठाउन नसकिने प्रारम्भिक निष्कर्ष निकालेको हो। 

प्रारम्भिक अध्ययनले हेडवर्क्स सार्नुुपर्ने निष्कर्ष निकालेको पुनर्गठित मेलम्ची खानीपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक कमल श्रेष्ठले बताए। उक्त टोली नोभेम्बर ८ मुख्य बाँधस्थल पुगेको थियो। टोलीले करिब १० दिन लगाएर स्थलगत अध्ययन गरेको श्रेष्ठले सुनाए। हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा करिब १ अर्ब रुपैयाँमा निर्माणाधीन मुख्य बाँध बाढीले प्रभावित भएपछि त्यसको भूअवस्थाको अध्ययन थालिएको हो। बाढीले क्षति पुर्‍याएको मुख्य बाँध चलाउन सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्दा स्थायी पानी पठाउन सम्भव नदेखाएको श्रेष्ठले बताए।

आयोजनाको मुख्य ऋण लगानीकर्ता एसियाली विकास बैंक (एडीबी)ले स्थलगत अध्ययन गराएको हो। यसअघि गत असारमा गरिएको अध्ययनले मेलम्चीमा बाढी आउनुको कारण सहायक नदी पेमदानमा बाढी आउनुलाई देखाएको छ। ‘भू–बनोट कमजोर हुनु र २०७२ सालमा गएको भूकम्पले थप कमजोर बनाउनु नै बाढीको कारण हो’, उक्त प्रतिवेदनमा लेखिएको छ। हेडवर्क्स भएको अम्बाथानभन्दा माथि जोखिम कायमै छ। माथिल्लो भागमा भइरहेको परिवर्तन र मनसुनमा आउने बाढीको जोखिम कायमै रहेको भनिएको थियो। 

क्यानडेली टोलीले अध्ययन प्रतिवेदन बनाउँदै गरेकाले आगामी मार्चसम्म पूर्ण प्रतिवेदन बुझाउने श्रेष्ठले बताए। ‘उक्त टोलीले अहिले तीन उपायसहित प्रतिवेदन बुझाउनेछ। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी अध्ययन प्रतिवेदन दिन लागिएको छ,’ उनले अन्नपूर्ण पोस्ट्सित भने। 

अल्पकालीन अवस्थामा भइरहेको अस्थायी संरचनाबाट १२ महिना नै पानी कसरी ल्याउने सम्बन्धमा छलफल भइरहेको छ। अस्थायी संरचनाबाट वर्षायाममा बन्द गर्ने र हिउँदमा मात्र काठमाडौंमा पानी पठाउने गरिएको छ। अर्को स्थानमा स्थायी संरचना नबनाउन्जेल त्यही संरचनाबाट बाह्रै महिना पानी कसरी पठाउन सकिन्छ भनेर छलफल भइरहेको श्रेष्ठले बताए। 

  •     हेडवर्क्सबाट स्थायी रूपमा पानी पठाउन नसकिने प्रारम्भिक निष्कर्ष 
  •     अहिले दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहेको छ 

‘अस्थायी संरचनाको डाइभर्सन टनेल इन्टेकमा ढुंगा तथा गिट्टीलाई छान्न सक्ने खालको एउटा गेट बनाउने भन्ने छ’, उनले भने, ‘त्यसका लागि करिब १० करोड रुपैयाँ खर्च लाग्छ सक्छ।’ सो सम्बन्धमा समितिमा निष्कर्षमा पुग्न लागेको पनि उनले बताए।
मध्यकालीन उपाय भनेको मुख्य बाँध भएको अम्बाथानमै साइड इन्टेक बनाएर पानी पठाउन सकिन्छ भन्ने हो। नयाँ बाँध नबनुन्जेल केही लगानीमा ५ देखि ७ वर्ष धान्न सक्ने गरी संरचना बनाउने भन्ने रहेको उनले बताए। 

दीर्घकालीन उपाय भनेको मेलम्चीको मुहान नै सार्ने हो। अम्बाथानबाट करिब ४ सय मिटरमाथि सर्कसथलीमा नयाँ बाँध बनाउने भन्ने प्रारम्भिक अध्ययनले देखाएको उनको भनाइ छ। उनका अनुसार ४ देखि ५ सय मिटर थप टनेल बनाएर नयाँ बाँध बनाउने भन्ने छ।

मेलम्चीको पानी बाह्रै महिना १७ करोड लिटर काठमाडौं पठाउन सकिए करिब ३ करोड ४० लाख रुपैयाँ दैनिक प्रत्यक्ष आर्थिक लाभ हुने श्रेष्ठको भनाइ छ। ‘अहिले करिब १० हजार लिटरलाई कम्तीमा २५ सय तिर्न काठमाडौंवासी बाध्य छन्। मेलम्चीको पानी आए दैनिक ३ करोडभन्दा बढी रकम अन्य आर्थिक लाभमा खर्च गर्न सकिन्छ’, उनले भने। 

वर्षायाममा बन्द भएको मेलम्चीको पानी मंसिर अन्तिम सातादेखि पुनः वितरण गरिएको छ। अहिले दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने गरेको छ। मुहान क्षेत्रमा ४ हजार लिटर प्रतिसेकेन्ड पानी जम्मा हुने गरेको छ। सुक्खायाममा करिब २५ सय लिटर प्रतिसेकेन्ड पानी जम्मा हुने बताइएको छ। 

यस्तो छ अघिल्लो प्रतिवेदनको निष्कर्ष

जलग्रहणको माथिल्लो भागमा ग्लेसियर ताल छन्। १० हिमनदी ताल र दुई सक्रिय हिमनदी छन्। तिनीहरू मेलम्ची नदीको पानी डाइभर्सन उपयोजनाका लागि खतरा हुन सक्छन्। भेम्राथान तलछट (फोहोर) निक्षेप क्षय जारी रहनेछ। र, धेरै वर्षसम्म तलछटको स्रोत हुनेछ। क्याचमेन्ट क्षेत्रमा पहिरो जानु सामान्य भएको र यसलाई नोक्सान गर्ने काम भएको छ। 

भविष्यमा पहिरोको संवेदनशीलता कस्तो छ भनेर हेर्नेका लागि विभिन्न विधिहरूद्वारा अनुसन्धान गरिएको छ। ती अनुसन्धानले भविष्यमा पहिरोको संवेदनशीलता सामान्यतया धेरै उच्च रहेको देखाएको छ। १५ महत्त्वपूर्ण पहिरो स्थल पहिचान गरिएको छ, जसमध्ये दुई पहिरोलाई बढी प्राथमिकतामा राखिएको छ। किनभने हेडवर्क्सनजिकै हुनु र त्यसको क्षेत्र तथा आकारले बढी जोखिमयुक्त पहिरोको रूपमा हेरिएको छ। ती हुन्ः हेडवर्क्स क्षेत्रको बायाँ किनारमा पहिरो र मेलम्ची ग्याङमा पहिरो।

माथिल्लो भागमा १० हिमनदी ताल र दुई सक्रिय हिमनदी छन्। तिनीहरू मेलम्ची नदीको पानी डाइभर्सन उपयोजनाका लागि खतरा हुन सक्छन्। स्लोप स्टेबिलिटी मोडलिङका आधारमा आगामी मनसुनमा हेडवर्क्स बायाँ किनारमा पहिरोे थप जोखिम उच्च छ। 

एडीबीको नेतृत्वमा सुरु भएको उक्त अध्ययन चरण एक मूल्यांकन १८ नोभेम्बर २०२१ मा सुरु भएको हो। र, यस चरणका लागि दृष्टिकोण र कार्य योजनाको विवरण दिने एक प्रारम्भिक प्रतिवेदन डिसेम्बर २०२१ मा पेस गरिएको थियो। पछि सञ्चालन गरिएका विभिन्न क्षेत्र सर्वेक्षण र अध्ययनहरूको नतिजाको आधारमा, हालको प्रतिवेदनले विपत्तिका कारणहरूको निदान गरेको छ। उक्त मस्यौदा प्रतिवेदन अप्रिल २०२२ मा बुझाइएको थियो। दोस्रो चरणअन्तर्गतको क्यानेडियन टोलीको पूर्ण प्रतिवेदन आगामी मार्चमा तयार हुने बताइएको छ। 

मेलम्ची खोलादेखि काठमाडौंको घरको धारासम्म पानी ल्याउनका लागि ३५ वर्षमा ७० अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। ७० अर्बमा ६० अर्ब खर्च भइसकेको हो भने करिब १० अर्ब दोस्रो चरणको काम सुरु गर्नका लागि विनियोजित रकम हो। मेलम्ची आयोजनालाई दुुई भागमा बाँडिएको छ। अम्बाथानदेखि सुुन्दरीजलसम्म पानी ल्याउने एउटा र अर्को सुन्दरीजलदेखि काठमाडौंवासीको घरको धारासम्म पानी पुर्‍याउने। अम्बाथानबाट २७.५ किलोमिटर सुरुङमार्ग हुँदै सुन्दरीजलसम्म पानी ल्याउन ३० अर्ब १५ करोड रुपैयाँ खर्च भएको छ।

आयोजनास्थलको मुुख्य खर्चमा सुरुङ मार्गका लागि करिब १० अर्ब ४० करोड र हेडवर्क्स बनाउन अनुमानित १ अर्ब रुपैयाँ खर्च भएको देखिन्छ। बाढी आउनुअघि हेडवर्क्स बनाउन हालसम्म करिब ८० करोड रुपैयाँ खर्च भइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.