लप्ची नाका ४ वर्षदेखि बन्द
दोलखा : दोलखाको बिगु गाउँपालिका–१ लप्चीमा रहेको चीनसँगको सीमा नाका चार वर्षदेखि बन्द छ। उक्त नाका बन्द हुँदा स्थानीयलाई किनमेल तथा उत्पादन गरेका सामान बिक्री वितरणमा समस्या हुँदै आएको छ।
लप्चीबाट लामाबगर आउन दुई दिन लाग्ने भएकाले सीमा क्षेत्रमा सरकारको उपस्थिति शून्य देखिएको हो। लप्चीमा सुरक्षा पोस्ट राख्ने विषयमा आवश्यक सुझावसहितको पत्र गृह मन्त्रालयमा पठाएको भए पनि जवाफ नआएकोले लामाबगरमै सुरक्षा पोस्ट रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।
लप्चीका स्थानीयलाई आफ्नो देशको नजिकको बजार लामाबगर आउनै दुई दिन लाग्ने भएकाले उनीहरूको मुख्य बजार चीनतर्फको सीमा फलाक र कुती हो। तर, चार वर्षदेखि चीनले नाका नखुलाएका कारण दैनिक उपभोग्य सामान किनमेल र आफुूले उत्पादन गरेका कुरा बिक्री गर्न समस्या भइरहेको स्थानीय कर्मा शेर्पा बताउँछन्। नाका नखुलेर लप्चीवासीको मुख्य आम्दानीको स्रोत चौरीको घ्यु, छुर्पीलगायत खाद्यसामग्री फलाक र कुती पुर्याउन समस्या कर्माको भनाइ छ।