अर्थ भूगोलको दृष्टिमा छिमेक नीति
छिमेकीहरूसँग सन्तुलित, न्यानो र पारस्परिक सम्बन्ध कायम राख्नु आजको आवश्यकता हो।
विश्व इतिहास केलाउँदा बेलाबखत सैन्य, कूटनैतिक तथा आर्थिक शक्ति र समीकरणहरू परिवर्तन भइरहेको पाइन्छ। कुनै बेला मेसेडोनिया शक्तिशाली बनेर अलेक्जेन्डर द ग्रेट (सिकन्दर) संसार विजय गर्न निस्किए। कुनै बेला मंगोलिया शक्तिशाली भएर चंगिज खान आधा भूगोल राज गरे। बेलायतीहरूले लगभग पूरै संसार राज गरे। यस्ता कैयौं प्रमाणको साक्षी विश्व इतिहास छ। समीकरण परिवर्तन भइरहने क्रममा बलिया तथा शक्तिशाली मुलुकहरूले साना तथा आफूभन्दा कमजोर मुलुकलाई वशभित्र पारिरहेको तथ्य लुकेको छैन।
कैयन विश्वशक्ति राष्ट्रहरूका स–साना कमजोर छिमेकी मुलुकहरू पनि परापूर्वकालबाट स्वतन्त्र अस्तित्व बोकेर निरन्तर हिँडिरहेका छन्। निकट छिमेकी र शक्तिशाली राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्न सफल मुलुकको स्थायित्व र उन्नतिमा दीर्घकालसम्म कमै नकारात्मक असर परेको पाइन्छ। कुनै पनि मुलुकको सार्वभौमसत्ता ठूलो वा सानो हुँदैन। चाहे गोपाल वंशबाट या त शाहवंशबाट नै होस् नेपाल आजसम्म सार्वभौम मुलुकको रूपमा रहिआएको सर्वविदितै छ। कुनै पनि शक्ति राष्ट्रको बशमा पर्नु नपरेको तथ्य छ।
नेपालको रोटी र बेटीको सम्बन्ध पृथ्वीको कुनै कुनामा स्थापित गर्न सम्भव भएको छ। सामान्यतया नेपाल र नेपालीलाई कुनै पनि देश तथा नागरिकसँग पारिवारिक, कूटनीतिक र व्यापारिक सम्बन्ध स्थापना गर्न असम्भव छैन भन्दा फरक नपर्ला। छिमेकी मुलुकको भूराजनीति परिस्थितिलाई बेवास्ता गरेर कुनै पनि मुलुकको परराष्ट्र नीति दिगो हुन सक्दैन। परिपक्व परराष्ट्र नीतिका लागि आफ्नो देशको साथै निकट छिमेकी मुलुकहरूको विद्यमान परराष्ट्र नीति, भौगोलिक, जनसांख्यिकीय, सामाजिक, आर्थिक, राजनीतिक र भूराजनीतिक अवस्थालाई पनि ध्यानमा राख्नुपर्छ। कूटनैतिक कौशलता, दक्षता, नैतिकता, निष्पक्षता र इमान्दारिता कुनै पनि देशको परराष्ट्र नीतिको मेरुदण्ड हो। नेपालले आफ्ना निकटतम छिमेकी राष्ट्रहरू भारत र चीनसँग लामो इतिहास र विशिष्ट सम्बन्ध कायम गर्दै आएको छ। अबका दिनहरूमा थप कौशलतापूर्वक अब्बल र सन्तुलित कूटनैतिक सम्बन्ध स्थापना तथा बढोत्तरी गर्नु जरुरी देखिएको छ।
आजको २१औं शताब्दीमा सञ्चारले संसारलाई एउटा गाउँजस्तै बनाएको छ। तराई क्षेत्रमा सनातनी वैदिक संस्कृतिसँग भारतको सांस्कृतिक सद्भाव प्रबल छ। हिमाली क्षेत्रमा तिब्बती सांस्कृतिक सद्भाव र बोन–बौद्ध संस्कृति प्रबल छ। भौगोलिक विकटताका कारण उत्तरतर्फको सम्बन्ध अलि कमजोर जस्तो देखिन्छ। आजको वैज्ञानिक युगमा भौगोलिक सिमानाले वैदेशिक सम्बन्धमा बाधा पुर्याउँदैन, यद्यपि भूगोलले विशेष महत्त्व राख्छ नै। राणाकालअघि उत्तर र दक्षिण दुवै मुलुकहरूसँग सन्तुलित सम्बन्ध थियो। हाम्रा यी दुई निकटतम छिमेकी राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध पुनः स्थापना गर्नु हाम्रा लागि महत्त्वपूर्ण र अत्यावश्यक देखिन्छ।
नेपालले आफ्ना निकट छिमेकी मुलुकहरू भारत र चीनका सम्बन्धमा कुनै पनि रणनीतिलाई एक अर्को देशसँग सौदा गर्ने औजारको रूपमा प्रयोग गर्नु हुँदैन। अर्को महत्त्वपूर्ण पक्ष नेपाल र भारत वा नेपाल र चीनबीचको सम्बन्धलाई तुलना पनि कहिल्यै गर्नु हुँदैन। दुवै छिमेकीहरूसँग उपयुक्त सन्तुलित, न्यानो र पारस्परिक सम्बन्ध कायम राख्नु आजको आवश्यकता हो। एक अर्काबीच तुलना तथा एकतर्फी ‘सौदाबाजी औजार’ को रूपमा प्रयोग भएमा अन्ततः नेपाल, भारत र चीनलाई नै हानि पुर्याउँछ। अन्यथा, यसको परिणाम दीर्घकालीन रूपमा नेपालको स्वाधीनता र सार्वभौमसत्तामा मौलिक रूपमा प्रतिकूल हुनेछ । भारत तथा चीनलगायत समस्त एसियाकै शान्ति र उन्नतिमा बाधा पैदा गर्दछ।
नेपाल, भारत र चीन मिलेर क्षेत्रीय सुरक्षा, शान्ति र समृद्धिका लागि नियमित संवादमा आधारित नाइस र नाइस्ड मोडल लागू गर्न प्रतिबद्ध हुनुपर्छ।
अहिले नेपाल र भारतबीच खुला सिमाना र पूरक सुरक्षा तथा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा धेरै सूचना संयन्त्रहरू स्थापित छन्। नेपाल र चीनबीच त्यस्तो बलियो सूचना संयन्त्र र सुरक्षा बलले द्विपक्षीय सम्बन्ध स्थापित हुन सकेको छैन। पछिल्लो समय नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइबाट अगाडि बढिरहेको छ। यस सन्दर्भमा नेपालले भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्न जतिसक्दो चाँडो उच्चस्तरीय संयन्त्रको विकास गरी आफ्नो कूटनीतिक सीप प्रयोग गर्न आवश्यक छ। नेपालले व्यवहारतः भारत वा चीनमाथिको अनावश्यक निर्भरताको भारलाई समेत कम गर्दै जानुपर्छ। दिगो निकट छिमेकी सम्बन्ध स्थापना र अभिवृद्धि गर्न नेपाल, भारत र चीनका लागि दुई चरणको मोडल प्रस्ताव गर्न चाहन्छु। एउटा नेपाल–भारत–चीन समतामूलक मोडेल (नाइस मोडलः नेपाल इन्डिया चाइना इक्विटेबल मोडल) हो। जसले कूटनीतिक सम्बन्धलाई बलियो बनाउँछ। यी निकटतम छिमेकी राष्ट्रहरूको आर्थिक समृद्धिलाई सम्बोधन गर्ने नेपाल–भारत–चीन आर्थिक विकास मोडल (नाइस्ड मोडलः नेपाल इन्डिया चाइना इकोनोमिक डेभलपमेन्ट मोडल) हो।
नाइस (नेपाल–इन्डिया–चाइना इक्विटेवल मोडेल) नेपाल, भारत र चीन भौगोलिक रूपमा सहअस्तित्वका लागि बाध्य भएकाले छिमेकी राष्ट्रलाई परिवर्तन गर्न सम्भव छैन। भारत र चीनबीचको चिसो सम्बन्धले सबैभन्दा ठूलो हानि यिनै निकट छिमेकीलाई हुने कुरामा संवेदनशील हुन जरुरी देखिन्छ। बुद्धिमानी कार्य भनेको एकअर्कासँग सबैभन्दा बलियो समतामूलक ‘भाइचारा’ सम्बन्ध विकास गर्नु हो। जसरी संयुक्त राष्ट्र संघको समतामूलक अस्तित्व छ। त्यसरी नै व्यवहारमा तीन राष्ट्रको समानतावादी अस्तित्व हुनुपर्छ। समान कूटनीतिक सम्बन्ध स्थापनाका लागि तीनै देशका कूटनीतिक अधिकारीहरूलाई नियमित रूपमा एउटै टेबलमा (नाइस टक) ल्याइनुपर्छ।
विशेष र अपरिहार्य सम्बन्ध स्थापनार्थ कम्तीमा मासिक वा कुनै निर्धारित आधारमा नियमित संवाद चलोस्। जस्ले त्रिपक्षीय समातामूलक मजबुद सम्बन्ध स्थापन, विकास, र विस्तार भई ‘विन–विन’ अवसर सिर्जना गरोस्। त्रिपक्षीय समातामूलक कूटनीतिक सम्बन्धले तेस्रो मुलुकको अनावश्यक उपस्थिति र चलखेललाई रोक्नु पर्छ। संयुक्त रूपमा राजनीतिक, आर्थिक, रक्षा, शान्ति, अध्यागमन, सुरक्षा, सामाजिक, वातावरणीय, संशाधन गतिशीलता, व्यापार गतिशीलता, सीमापार गतिशीलता, प्राविधिकलगायत बहुआयामिक विकासका पक्षमा कूटनैतिक सहयात्रा बलियो बनाउनु पर्छ। नेपालले आफ्ना निकट छिमेकीहरूसँग न्यानो समतामूलक सम्बन्ध विस्तार गर्न पुलको रूपमा अग्रणी भूमिका खेल्नुपर्छ। कमजोर राष्ट्रहरू सधैं बाह्य शक्तिहरूबाट प्रयोग हुने जोखिममा हुन्छन्। त्यसको असर निकट छिमेकीलाई पहिले पर्नेमा भारत र चीन अनभिज्ञ नहोलान्। दुई शक्तिशाली राष्ट्रको केन्द्रमा रहेको देश पछाडि परेमा छिमेकी राष्ट्रलाई नै नोक्सान हुन्छ। साथै अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सन्देश जाने निश्चित छ। तसर्थ हाम्रा निकट छिमेकी राष्ट्रहरूबीच नाइस मोडेलका रूपमा समतामूलक कूटनीतिक सम्बन्ध अत्यावश्यक देखिन्छ।
नाइस्ड (नेपाल–इन्डिया–चाइना इकोनोमिक डेभेलपमेन्ट मोडेल)
नेपाल, भारत र चीन भौगोलिक रूपमा अनिवार्य सहअस्तित्व छ। त्यसैले निकट छिमेकी मुलुकबीच आर्थिक समृद्धिका लागि सामूहिक प्रयासको साझा आर्थिक रूपरेखा विकास गर्नु बुद्धिमानी हुन्छ। नाइस्ड (नेपाल–भारत–चीन आर्थिक विकास) मोडलले निकट छिमेकी मुलुकहरूबीच सामूहिक रूपमा विन विनको अवस्था सिर्जना गर्छ। पूर्वाधार विकास, वित्तीय बजार विकास, पर्यटन विकास, प्राविधिक विकास, उत्पादनबजार विकास, र मानव संशाधन (श्रमबजार) सम्बन्धी आर्थिक मामिलाहरूको विकास, विस्तार र स्तरोन्नति गरी यसलाई जित जितको अवस्था सिर्जना गर्न वकालत गर्छ। नाइस्ड मोडेलले वस्तु र सेवाहरूको स्वतन्त्र आवतजावतका साथै सीप, प्रविधि र पुँजी (एसटीसी) सजिलो स्थानान्तरणलाई लक्षित गर्नुपर्छ। नेपालले सर्वप्रथम त्रिपक्षीय फ्युज जडानका लागि आर्थिक अवसर खोजेर समन्वय गर्नुपर्छ। दुई ठूला विश्व आर्थिक शक्तिबीचको सानो छिमेकी देश अभाव र गरिबीको चपेटामा परेको खण्डमा त्यसको नकारात्मक असर छिमेकी राष्ट्रहरूमा पर्छ। यस पक्षमा भारत र चीन पनि समयमै सचेत हुनुपर्छ। पहिलो चरणमा नाइस्ड मोडेल तीनवटा पक्षबाट अगाडि बढ्न सक्छ।
पहिलो पक्षः रेलमार्ग, हवाई मार्ग, विद्युतीय केबल वे र एक्सप्रेस वेजस्ता यातायात सञ्जालको विकासमार्फत तीन छिमेकी राष्ट्रहरूले उचित आर्थिक सम्बन्ध स्थापना गरी साझा बजारको विकास गर्न सक्छन्। उपयुक्त प्रविधिको विकास र नेपाल हुँदै भारत–चीनबीचको विशाल पूर्वाधार निर्माणले सीमापार व्यापारिक सम्पर्क खोल्न सहज हुन्छ। नेपाललाई बलियो बनाउनका लागि औद्योगिक तथा व्यापारिक सम्बन्धको विकास र विस्तार गर्नु तीनै देशका लागि फाइदाजनक हुनेछ। नेपालमा पनि उद्यमशीलता अभियानको गुणात्मक विकासका लागि यी छिमेकी राष्ट्रहरूले आवश्यक सहकार्य गर्नु जरुरी छ।
दोस्रो पक्ष ः तीन अर्ब जनसंख्यालाई लक्षित गरी त्रिपक्षीय पर्यटन प्रवद्र्धन यस त्रिपक्षीय सम्बन्धको अर्को महत्त्वपूर्ण आर्थिक रणनीति हुन सक्छ। भारतबाट जनकपुर, पशुपतिनाथ, गोसाइँकुण्ड, मुक्तिनाथलगायत धेरै तीर्थस्थल तथा चीनबाट आएका बौद्धनाथ, स्वयम्भू, लुम्बिनीलगायतका तीर्थस्थलमा हिन्दू वा वैदिक तीर्थयात्री भएकाले नेपालले ठूलो संख्यामा पर्यटक भित्र्याउन सकेको छैन। उपयुक्त पूर्वाधार र पर्यटकीय स्थलहरूको निर्माण गरेर नेपालले देशलाई व्यापार सम्मेलन केन्द्र, मनोरञ्जनात्मक बिदाको गन्तव्य र मनोरञ्जनात्मक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सक्छ। तीन देशबीचको न्यानो धार्मिक सम्बन्ध र ल्हासा–काठमाडौं, लुम्बिनी–गया, अयोध्या–जनकपुर र काशी–पशुपतिनाथ–मुक्तिनाथ–कैलाश पर्यटन सञ्जालको उचित विकासले छिमेकीहरूबीच ठूलो आर्थिक अवसर सिर्जना गर्न बेर लाग्दैन।
तेस्रो पक्ष ः नेपालले नेपाल र सामुद्रिक सम्पर्कको सीधा पारवहन मार्गको विकास गर्ने सम्बन्धमा तीन देशबीचको आर्थिक र कूटनीतिक सम्बन्धलाई अगाडि बढाउनुपर्छ। छिमेकीसँग विशेष सम्बन्ध कायम गरी द्रुत यातायात वा समुद्री तथा तेस्रो मुलुकसँग सीधा सञ्जाल निर्माण नगरी नेपाल समृद्ध हुन सक्दैन। यदि हामीले नाइस र नाइस्ड मोडल स्थापना र अभ्यास गर्न सक्छौं। तीनै साझेदार देशहरूले धेरै फाइदाहरू लिन सक्छन्। यस क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न तथा कुनै पनि पुराना र अव्यावहारिक सन्धि वा सम्झौताहरू सधैं निश्चित समीक्षा र सुधारका विषयहरू हुन्। समसामयिक अवस्थाका लागि बनाइएका पुराना सन्धि–सम्झौताहरू समयसँगै परिवर्तन भएको हुन सक्छ। अहिले अव्यावहारिक देखिएमा सुधार गर्न पछि पर्नु हुँदैन। परराष्ट्र नीति र कूटनीतिक विज्ञहरूको सहयोगमा नियमित वार्ता (नाइस टक)का खुला राख्नुपर्छ।
सामान्य अवस्थामा आफ्नो देशको आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक वा अन्य कुनै मामिलाको नाममा अर्को देशको सहयोग लिनु सधैं प्रतिकूल हुन्छ। बाह्य मुलुकको सहयोग लिइरहनु भनेको आफ्नो देशको बारेमा गोप्य जानकारी (कन्फिडेन्सियलिटी) दिनु हो। आफ्नै देशको कमजोरीलाई प्रहार गर्ने तथा चलखेल गर्ने मौका दिनु पनि हो; जुन सार्वभौम मुलुकको हितमा हुँदैन। बारम्बार विदेशीसँग सहयोग मागिरहनुभन्दा निकट छिमेकी मुलुकहरूसँगको सहकार्यलाई नेपालले प्राथमिकतामा राख्नुपर्छ। छिमेकी राष्ट्रहरू र उनीहरूका नागरिकको शान्ति, सुरक्षा तथा गोपनीयतालाई खतरामा पार्ने खराब काम तथा गतिविधिलाई रोक्न हामी सधैं चनाखो र इमान्दार हुनुपर्छ। नेपाललाई प्रयोग गरी तेस्रो राष्ट्रले कुनै छिमेकी देशको हानि हुन सक्ने अवस्थामा शून्य सहनशीलता
अपनाउन सक्नु पर्छ।
नजिकका छिमेकी राष्ट्रहरू बीचमा सुमधुर सम्बन्धको लागि तेस्रो देशको अनावश्यक उपस्थिति सधैं घातक हुन्छ। प्रत्येक देशले आफ्नो हितका लागि मात्रै कूटनीतिक अभ्यास गर्छ। तेस्रो मुलुकले पहिलो र दोस्रो नजिकका छिमेकी मुलुकलाई जस्तो प्रभाव परे पनि आफ्नो फाइदाको लागि मात्र अभ्यास गर्छन्। नजिकका छिमेकीहरूबीचको सम्मानजनक र शान्तिपूर्ण सम्बन्ध कायम राख्ने जिम्मेवारीहरू पनि निकट छिमेकी देशहरूकै हो। दुई देशबीचको तनाव, द्वन्द्व र युद्ध भएमा पहिलो पीडित विनाश हुने सीधा आफ्नै नागरिकहरू र निकट छिमेकीहरू हुन् र फाइदा तेस्रो मुलुकले लिने हो। रूस–युक्रेन युद्धको हालैको घटनालाई लिने हो भने सबैभन्दा बढी पीडित युक्रेन, रूस र नजिकका छिमेकी मुलुकमा परेका छन्। सम्पूर्ण युरोप पनि ऊर्जा संकट, मुद्रास्फीति तथा नकारात्मक परिणाम र खतराबाट ग्रस्त छन्। फाइदाहरू टाढाबाट हतियार र ऊर्जा आपूर्तिकर्ताहरूमा गएको छ। यदि हामीले इतिहासलाई फर्केर हेर्यौं भने, यस्ता प्रमाणका धेरै घटनाहरू भेट्ने छौं।
तसर्थ सरकारले निकटका छिमेकी राष्ट्रहरू नेपाल, भारत र चीन मिलेर क्षेत्रीय सुरक्षा, शान्ति र समृद्धिका लागि नियमित संवादमा आधारित नाइस र नाइस्ड मोडल लागू गर्न गम्भीर रूपमा प्रतिबद्ध हुनुपर्छ। अझ गम्भीरताका साथ, नाइस साझेदारहरूले क्षेत्रीय शान्ति र सुरक्षा, क्षेत्रीय विकास र समृद्धि, बसाइँसराइ र श्रम गतिशीलता, संयुक्त बजार र व्यावसायिक लाभ तथा स्थिरता र स्वाभिमानप्रति समर्पण र संवेदनशील बन्नुपर्छ। अन्तर्राष्ट्रिय बजारको हतियार उद्योग, विनाशकारी युद्ध, विभाजन र शासकको लागि ढोका बन्द गर्नु पर्छ। उदीयमान छिमेकी शक्ति राष्ट्रहरूले हतियार र बमको आधारमा विनाशबाट युद्ध जित्न लगानी होइन। विश्व शान्ति र समृद्धिका लागि लगानी गर्न नेतृत्व लिनु पर्छ।
काफ्ले, फिनल्यान्डको तुर्कु युनिभर्सिटीमा आर्थिक भूगोलमा विद्यावारिधि शोधकर्ता हुन्।