एसपीलाई घुस दिन खोज्ने दुई जना पक्राउ
भक्तपुर : भक्तपुर प्रहरी परिसरका एसपीलाई घुस दिन खोज्ने दुई जना बिहीबार पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका-५ बस्ने ४१ वर्षीय अर्जुन तामाङ र सोही स्थान बस्ने ३२ वर्षीय बिरोध तामाङ रहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ।
परिसरका अनुसार दिउँसो पौने ४ बजे भक्तपुर नगरपालिका-३ स्थित कार्यालय प्रमुख (एसपी) प्रजित केसीको नम्बरमा फोन गरी मुद्दा मिलाइदिनुस् पैसा दिन्छु भनेका थिए। त्यसपछि परिसर भक्तपुरको सादा पोशाकमा प्रहरी खटाइ उनीहरूलाई पक्राउ गरिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए।
उनका अनुसार लागूऔषध (पोल्याण्ड) मुद्दाको अनुसन्धानमा परिसर भक्तपुरमा पुस २६ गतेदेखि नियन्त्रणमा रहेका धादिङको गल्छी-५ का ३१ वर्षीय गोबिन्द तामाङको मुद्दा मिलाई छुटाई दिएमा पचास हजार रुपैयाँ दिन्छु भनी उनीहरूले प्रलोभनमा पार्न खोजेका थिए।
नगद लिई आएका उनीहरूलाई परिसरको हाताभित्रै नियन्त्रणमा लिएको जनाइएको छ। उनीहरूसँग खानतलासी गर्दा अर्जुन तामाङको साथबाट ५७ हजार पाच सय रुपैयाँ भेटिएको थियो।