‘मेरो छोरालाई पर्यावरण सहिद घोषणा गरियोस्’
एउटा दिलीप मरेर गयो। हजारौं दिलिपी त्यसले जन्माएको छ । हत्यारालाई कडाभन्दा कडा सजाय होस्। अनि राज्यले हाम्रो छोरालाई पर्यावरण सहिद घोषणा गरिदेओस्।
![‘मेरो छोरालाई पर्यावरण सहिद घोषणा गरियोस्’](https://annapurnapost.prixacdn.net/media/albums/ramjivanmahato_20230113114434_FddHYsCvBN.jpg)
प्रस्तुति : राजकरण महतो
तपाईं देहातबाट किन काठमाडौं आउनुभयो ?
तीन वर्षअघि क्रसरमाफियाले छोरोलाई मारिदियो। न्याय पाइएको छैन। त्यसैले प्रधानमन्त्री र गृहमन्त्रीसँग गुहार माग्न काठमाडौं आएको हुँ। मेरो घर धनुषाको मिथिला नगरपालिका—५ श्रीपुरमा छ। मेरो छोरोको नाम ओमप्रकाश महतो थियो। उसलाई हामीले मायाले दिलीप भनेर बोलाउँथ्यौं। माफियाले खोलामा दोहन गरिहेको थियो। रोक्न जाँदा २०७६ पुस २५ गते चुरेमाफिया क्रसरवालाहरूले हत्या गरिदियो। अदाहालत धाउँदाधाउँदा ऋणमा परिसके। तर, मुद्दा फैसला गरिदिँदैनन्।
फैसला किन सुनाउँदैनन् ?
खै किन हो अदालतले हाम्रो छोरालाई न्याय निसाफ नै गर्दैन। म केही भन्न सक्दिँन। न्यायधीश भगवान्ले नै जानुन्। हामीले त भगवान्कै हातमा छोडिदिएका छौं। अब जे गर्छ उसैले गर्छ।
मुद्दा कहाँ चलिरहेको छ ?
हाम्रै धनुषा जिल्ला अदालतमा।
अदालतमा कति धाउनुभयो ?
धाउँदाधाउँदा चप्पल खिइसक्यो। अदालतले तारिखमाथि तारिख मात्रै थप्छ। न्याय निसाफ त्यस्तै हो। १८ पटक मुद्दामा पेसी तोकियो। ९ पटक मात्रै सुनुवाइ भयो। अब त हामी थाकिसक्यौं। त्यसैलेले प्रधानमन्त्री र गृहमन्त्रीलाई गुहार्न काठमाडौं आएको छु।
को—को आउनु भएको छ ?
पुरै परिवारै आएका छौं। सरकारलाई दुःख सुनाउँछौं। आशा छ सरकारले सुन्छ।
कहाँ बस्नुभएको छ ?
कोही कीर्तिपुरमा कोही बौद्ध आफन्तको कोठामा बसेका छौं।
कति दिन भयो आएको ?
५-६ दिन भयो। यहाँ धेरै चिसो रहेछ। बस्नै कठिन छ।
क—कसलाई भेट्नुभयो ?
हामी सोमबार छोरोलाई सम्झेर माइतीघर मण्डलामा तेस्रो वार्षिकी मनायौं। सडकमै उसको फोटो राखेर बत्ती बालेर भने, ‘छोरा मैले तिमीलाई बचाउन सकिनँ। तिम्रो आत्माले शान्ति पाओस्।’ हामीलाई साथ दिन धेरै मान्छेहरू आउनुभएको थियो। अब प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्छु। सरकारले पनि हाम्रो पीडामा मल्हमपट्टी पक्कै गर्ला। अहिले सरकार बनिरहेकोले भेट्न समय मिलिरहेको छैन। समय लिएर अब सिंहदरबार जान्छु। प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्छु हेरौं के हुन्छ ?
- ‘तीन वर्षअघि क्रसरमाफियाले छोरोलाई मारिदियो। न्याय पाइएको छैन। त्यसैले प्रधानमन्त्री र गृहमन्त्रीसँग गुहार माग्न काठमाडौं आएको हुँ।’
- ‘न्यायका लागि धाउँदाधाउँदा चप्पल खिइसक्यो। अदालतले तारिखमाथि तारिख मात्रै थप्छ। १८ पटक मुद्दामा पेसी तोकियो। ९ पटक मात्रै सुनुवाइ भयो। अब त हामी थाकिसक्यौं।’
- अहिले सरकार बनिरहेकोले भेट्न समय मिलिरहेको छैन। समय लिएर अब सिंहदरबार जान्छु। प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्छु’
- ‘राष्ट्रिय हितको लागि ज्यानको आहुती दियो। एउटा दिलीप मरे पनि हजारौं दिलिपी त्यसले जन्माएको छ। हत्यारालाई कडाभन्दा कडा सजाय होस्।’
सरकारसँग के आशा राख्नुभएको छ ?
सरकारलाई म मेरो बारेमा पनि सोचिदिन आग्रह गर्छु। र भन्छु, ‘हाम्रो छोरालाई चुरे तथा पर्यावरण सहिद घोषण गराइदिनुस्। हामीलाई छिटो न्याय दिलाइदिनु्स्। चुरेका खोलाहरूको जथाभावी उत्खनन बन्द गरादिनुस्। क्रसरवालाहरूलाई कानुनको लगाम लगाइदिनुस्। हाम्रो परिवार कसरी बाँच्छ शान्तिसुरक्षा दिनुसु। हाम्रो मुखमा बिहान बेलुका कसरी पाँच औला पुग्छ, हेरिदिनुस्।’
दिलीपको हत्या कसरी भयो ?
मेरो घरको पूर्वतिर चुरेबाट औरही खोला बग्छ। त्यसमा क्रसरवालाहरूले हात्ती डुब्ने खाल्टो बनाउँथ्यो। अनि बालुवा, गिट्टटी निकाल्थ्यो। वर्षात्मा बाढी बौलाएर आउँथ्यो। गाउँलेको धान, मकै, कोदो लगाएको सप्पै खेत बगाएर लान्थ्यो। साँझ लहलह झुलेको धानको बालाको खेतमा बिहान आउँदा खोला दौडिरहेको हुन्थ्यो। यो दुःख देखेर मेरो छोरोसहित युवाहरू क्रसरवालाहरूलाई खोला खन्न रोक्दै आएको थियो। एक दिन बिहानै खोला खन्दै थियो। उसको साथीले खबर गर्न आयो। उनीहरूसँगै खोलामा गयो। छोराको साथी भाग्यो तर मेरो छोरालाई दुश्मनहरूले कोखा र अण्डकोषमा लिभरले घोंचेर मार्यो। अनि घटनालाई लुकाउन खोलामा लगेर लिकमा हालेर टिपरले किचिदियो।
छोरो मारिएपछि परिवारिक जीवन कसरी चल्दै छ ?
एकदम दुःखले चल्दैछ। दिलीप जेठो छोरो थियो। ऊ हाम्रो घरको खाँबो थियो। हाम्रो पेसा खेतीपाती हो। कृषि खेतीबाट २÷४ रुपैयाँ आम्दानी गरेर सबै छोराछोरीलाई पढाएँ। सबैलाई ब्याचलर पढाएर अघि बढाएको छु। त्यसैक्रममा छोरो दिलीपलाई इन्जिनियर पढाउन भारतको भूपालमा पठाएँ। लास्ट इएरको परीक्षा दिएर घर फर्र्किको थियो।
उसको स्वभाव कस्तो थियो ?
उ समाजसेवा धेरै रुची राख्थ्यो। समाजको काममा अग्रणी भूमिका निभाउँथ्यो। खोलालाई बचाउन जाँदा क्रसर माफियाहरूले मिलरे उसकोे प्राण लियो। उसलाई मार्न दुई वर्ष अघिदेखि नै योजना बनाएको थियो। अन्ततः खोलाका टिपरले किचेर मार्यो।
ओहो ! तपाईंहरूलाई त निकै दुःख छ। अब के गर्नुहुन्छ ?
अब हामी के गरौं। हाम्रो अगाडि प्रश्न चिह्न उठेको छ। हाम्रो परिवारको मूलधन पनि गुम्यो। ब्याज पनि गुम्यो। म यस्तो दोधारमा खडा भएको छु कि पाँच हजारको जुत्ता किन्नुस् या दश हजारको किन्नुस् एउटा हराइसकेपछि अर्को जुत्ताको केही काम लाग्नेवाला हुँदैन। मेरो परिवारको हाल त्यही जुत्ता जस्तो भएको छ।
तपाईंको दिनचर्या कसरी चल्दैछ ?
मलाई छोराछोरी पाल्न ग्राहो भइरहेको छ। म आफैं दमको बिरामी छु। बुवाआमा हुनुहुन्छ। हामी कहाँ जानु, के गर्नु ? मलाई कस्तो न कस्तो भइरहेको छ। छोरो मरेको तीन वर्ष भयो। अदालतले पनि न्याय दिइरहेको छैन। सरकारले पनि क्षतिपुर्ति दिँदैन। ऋण पनि ४० लाख बढी पुगिसक्यो भयो।
कसरी ऋण भयो ?
छोरालाई इन्जिनियर पढाएको थिएँ। उसैले कमाएर तिर्छ भनेर ऋण लिएर पढाएँ तर ऊ अहिले हामीसँग छैन। ऋणको भारी थपिएको छ। उसको आमा दिलीपलाई खोज्दै रुन्छ। कहिलेकाँही पाकेको खाना पनि त्यसै रहन्छ। छोरोले सबैलाई खुसी राख्न खोज्दाखोज्दै दुशमनले खोस्यो। बेलाबेलामा उनीहरूले हामीलाई पनि बलमे उडाइदिने धम्की दिन्छन्।
खोला उत्खनन रोकियो ?
छैन। अहिले झन् बढेको छ। जे कारणले मेरो छोरो मारियो। त्यो काम रोकिएको छैन।
न्याय प्राप्त गर्न कठिन भयो है ?
जुन क्रसरवालाहरूले हाम्रो छोरोलाई किचेर मार्यो। उसले फेरि क्रसर चलाउन खोज्यो। लकडाउको बेलाको कुरा हो, हामी रोक्न जाँदा उल्टै हाम्रो परिवारैमाथि निषेधाज्ञा मुद्दा हालेर दुःख दियो। पुलिस प्रशासन खटाइदियो पक्रेर ल्याउनलाई। स्पष्टीकरण माग्यो। लकडाउन थियो। हामी घरबाट बाइक लिएर निस्किनु बित्तिकै पुलिसले बाटोमा डन्डा चार्ज गथ्र्यो। क्रसरमाफियाहरूलाई लकडाउनमा प्रशासनले गाडी चलाउन पास दिन्थ्यो। उनीहरू गाडीमा चढेर अदालत कुद्दै जान्थ्यो।
सहयोग पाइएन ?
कहाँ पाउनु, प्रहरीले उल्टै हामीलाई पक्रिन आयो। दोषी मान्छेलाई सीडीओ र न्यायाधीशले छोड्छ। आदालत गएपछि न्यायाधीश बिकाउँछ। जिल्ला पुग्दा सीडीओ बिकाउँछ। एसपी बिक्री भइरहेको छ। खोला उत्खनन अझै भइरहेको छ। उत्खनन रोक्न प्रहरीलाई फोन गर्दा उनीहरूले उल्टै ‘छोडिदिनु। तपाईं के कच्चकच्च गर्नुहु्न्छ। यस्तै छ नेपालको नियम कानुन,’ भनेर भन्छन्।
दिलीपले खोला दोहनविरुद्ध पहिल्यैदेखि आवाज उठाउँदै आएका थिए ?
हो, जब पढाइको छुट्टी हुन्थयो। ऊ घर आउँथ्यो र गाउँका साथीभाइबीच गफगाफ गथ्र्यो। अनि खोला उत्खनन भइरहेको देख्दा उसलाई असैह्य हुन्थयो। गाउँलेलाई जागरुक बनाएर क्रसरवालालाई चेतावनी दिन जान्थ्यो।
दिलीपलाई कस्तो भएको देख्न चाहनुहुन्थ्यो ?
मेरो छोरा इन्जिनियर पढेर आउँछ। सर्टिफिकेट लिएर आएपछि जापान पठाउँछु भनेर सोचेको थिएँ। छोरोले कमायो भने, ऋण तिर्न सकिन्छ भन्ने लागेको थियो।
कसैले धम्की पनि दिएको थियो ?
दिलीपको हत्या हुनुघन्दा दुई दिनअघि त्यो विपिन (क्रसर चालक विपिन महतो, जसले दिलीपको हत्या ग¥यो) ले मलाई घरमै आएर ‘छोरालाई नसम्झाए ज्यानै मारिदिन्छु, काटिदिन्छु, टिपरमा किचिदिन्छु। मरेपछि पाँच लाख रुपैयाँ दिनु त हो यो हाम्रो लागि केही होइन’ भन्दै धम्की दिएको थियो।
विपिनले यसरी किन धम्की दियो ?
विपिनले गैरकानुनी रूपमा खोला उत्खनन गर्ने गथ्र्याे। मेरो छोराले गाउँलेको साथ लिएर खोला दोहन गर्नबाट रोक्थ्यो। त्यसैले उसले मलाई धम्की दिएको थियो।
दिलीपको हत्या हुनुअघि उनीसँग तपाईंको केही कुरा भएको थियो ?
दुई दिनदेखि दिलीपलाई देखेको थिइनँ। म बिहानै ट्र््याक्टर लिएर खेत जोत्न जान्थें। थाकेर आउँथें। खाना खाएपछि सुतिहाल्थें। छोरो र मेरो खाने, सुत्ने समय नै मिल्दैनथ्यो। हत्या भएको राति मलाई सन्चो थिएन। श्रीमती (चन्द्रकला)ले रोटी–तरकारी ल्याएर कोठामा राखिदिइन्। म नखाई सुतेँ। एकाबिहानै गाउँको भतिज जोडले कराउँदै ‘काका काका’ भन्यो। म बाहिर आएर ‘के भयो’ भनेर सोधेँ। उसले भन्यो, ‘काका खोलामा हिँड्नु न दिलीपलाई मारेर सुताइदेको छ।’ (रुँदै) अनि म खोलामा गएँ।
खोलामा जाँदा लिकमा मारेर सुताएको रहेछ। छोरो मरेको सुनेपछि बेहोस भएँ। एकैछिनमा प्रहरीको दुइटा भ्यान आयो। त्यसमा दिलीपको लाश लग्यो। केही सोच्न सक्ने
अवस्थामै रहिनँ। खेतको आली हुँदै खोलाबाट घर फर्किएँ। जीवनभरि दिलीपको सम्झनाले तड्पाइरहन्छ।
तपाइँको छोरालाई हत्या गर्ने मान्छे पक्राउ परे ?
तीन जनालाई जेलमा राखेको छ। कसैलाई धरौटीमा छोडेको छ। कोही कानुन बाहिरै छ। को हो दोषी त्यो छुट्याउने काम त अदालतको हो। म यति भन्छु कि मेरो छोरा मरेर गइसक्यो, फर्केर आउँदैन। जति गरे पनि फर्केर आउँदैन। तर, राष्ट्रिय हितको लागि ज्यानको आहुती दियो। एउटा दिलीप मरेर गयो। हजारौं दिलिपी त्यसले जन्माएको छ । हत्यारालाई कडाभन्दा कडा सजाय होस्। अनि राज्यले हाम्रो छोरालाई पर्यावरण सहिद घोषणा गरिदेओस्।
किन उसलाई सहिद घोषण गर्नुपर्छ सरकारले ?
चुरे संरक्षणका लागि उसले बलिदान दियो। साधारण व्यक्तिगत कुराका लागि होइन। त्यसैले दिलीपलाई पर्यावरण सहिद घोषणा गर्नु राज्यको दायित्व हो।
दिलीपले चुरेलाई कसरी बुझेका थिए ?
दिलीप इन्जिनियर पढिरहेको थियो। चुरे संरक्षण अभियान चाहिँ पूर्वराष्ट्रपति डा. रामवरण यादवले ल्याउनुभएको हो। उहाँलाई राष्ट्रपतिसम्म पुर्याउने हाम्रो देन हो। उहाँ मन्त्री भएका बेला मेरो बहिनीको बिहेमा पनि आउनुभएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)