छोरा खोज्दै मेघराज
दोलखा: भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैवारीका ५२ वर्षीय मेघराज सुवेदी विगत सात वर्षदेखि हराएको छोराको खोजीमा छन्। २०७१ सालमा एसएलसी सकेर थप अध्ययन गर्न सानीआमाको घर नवलपरासिको देवचुली भगवान टोल (तत्कालिन देवचुली नगरपालिका वडा नम्बर १० भगवान टोल)मा गएका उनको छोरा प्रदीप सुवेदी १९ वर्षको उमेरमा सात वर्ष अघि २०७३ साल माघ १६ गते त्यहिबाट वेपत्ता भएका थिए।
'२०७३ सालको दशैमा घर आएर केही दिन बस्यो, त्यसपछि नवलपरासीनै फर्किएको छोरासँग मंसिर २० गते फोनमा कुरा भएपछि कुनै सम्पर्क भएन,' मेघराजले भने। 'छोरा दशैँ मनाएर नवलपरासी फर्किए पछि मैले पढाई खर्च ५० हजार रुपैया पठाएको थिए, मंसिर २० गते उसले त्यही पैसा पाएँ भनेर फोन गरेको हो', मेघराजले भने, 'त्यसपछि कुनैसम्पर्क भएको छैन।'
२०७३ साल माघ १६ गते फेसबुकमा मृत्युप्रमाणपत्र भन्दै आफ्नो मृत्यु भएको घोषणा गरेर वेपत्ता भएको छोरा जीवितै छ वा मृत्युनै भएको हो भन्ने सात बर्षसम्म पनि कुनै जानकारी हुन नसकेको मेघराज बताउँछन्।
नवलपरासिमा कक्षा १२ मा पढ्दै गर्दा माघ १६ गते सानीआमा लक्ष्मीको छोरी (बहिनी)सँग स्कुलबाट सँगै फर्किएको र बाटोमा बहिनीलाई मोवाईल राख्न दिई म ट्युसन जान्छु र त्यतैबाट साथीकोमा नै बस्छु भन्दै हिडेपछि बेपत्ता भएको भनिएपनि अरु कारणबारे कुनै जानकारी नदिईएको मेघराज बताउँछन्।
'छोराले फेसबुकमा मृत्युको घोषणा गरेर बेपत्ता भएपछि प्रदिपको आमा(आफ्नो श्रीमती) खोजी गर्न नवलपरासी पुगेकी थिईन तर कुनै पत्तो लाग्न सकेन,' मेघराजले भने । छोरा हराएको नौ दिन पछि २०७३ माघ २५ गते इलाका प्रहरी कार्यालय गैडाकोटमा खोजी गर्न निवेदन दिएका थिए।
अहिले पनि छोरोको फोटो बोकेर खोजी गर्न हिँडिरहेका छन्।