डेढ घण्टापछि आगलागी नियन्त्रणमा
धनकुटा : जिल्लाको छथरजोरपाटी गाउँपालिका-६ स्थित सिँधुवा बजारमा लागेको आगलागी डेढ घन्टापछि नियन्त्रणमा आएको छ।
तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुर र धनकुटा नगरपालिकाबाट आएको दमकल र स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको सहयोगले भीषण आगलागी नियन्त्रणमा आएको वडाध्यक्ष दिपक गुरुङले बताए।
आगलागी नियन्त्रणमा आएसँगै अहिले बजार क्षेत्र खतरामुक्त रहेको छ। करिव पौने आठ बजेखि झमक थापाको घरबाट आगलागी सुरु भएको वडाध्यक्ष गुरुङले बताए।
आगलागीको कारण खुल्न नसकेको उनले बताए। आगलागीबाट चार घर जलेका छन्। आगो नियन्त्रणका लागि २ घर भत्काइएको थियो।
स्थानीय होमबहादुर थापा, डम्बर थापा, झमक थापा र अर्जुन घिमिरेको घर जलेको हो। आगो नियन्त्रणमा लिन स्थानीय सन्तोष राईको घर भत्काइएको थियो।
सिँधुवा बजार क्षेत्रको मौसम अत्यधिक चिसो रहेको छ। बजार क्षेत्रमा ठूलो सख्यामा स्थानीयको भीड छ। क्षति भएका घरका सदस्यलाई बासस्थानका लागि तयारी भइरहेको छ।
आगलागी भएको क्षेत्रका अधिकांश घर काठका हुँदा अन्य स्थानमा फैलिने डरले स्थानीय त्रासमा थिए। आगलागी भएको क्षेत्र बजारको मुख्य चोक हो। सिँधुवा बजारको मुख्य चोकमा रहेको काउलीको स्तम्भ भए नजिकैको घरबाट आगलागी सुरु भएको थियो।
सिँधुवा बजार कोशी राजमार्गअन्तर्गत धनकुटा–वसन्तपुर सडक खण्डमा पर्दछ। धनकुटा सदरमुकाम देखि २९ किलोमिटर उत्तरमा पर्दछ।