‘समय सुहाउँदो तलब देऊ’
सुर्खेत : समय सुहाउँदो तलब सुविधा निर्धारण गर्न कर्णालीका निजामती कर्मचारीहरूले सुझाव दिएका छन्। उच्चस्तरीय तलब सुविधा निर्धारण गर्ने आयोगलाई पेस गर्ने सुझाव संकलनका लागि नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेशले शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियामा यस्तो सुझाव दिएका हुन्।
परिवारको आधारभूत आवश्यकता, महँगी, शिक्षा स्वास्थ्यलगायतको सुनिश्चितता हुनेगरी सरकारले कर्मचारीको सेवासुविधा निर्धारण गर्नुपर्ने बताएका छन्। अहिले भइरहेको श्रेणीका आधारमा नभई तहअनुसारको तलब सुविधा निर्धारण गर्नुपर्नेमा उनीहरूको जोड छ। आधिकारिक ट्रेड यूनियनका पूर्वकेन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालले तहअनुसारको तलब सुविधा नहुँदा कर्मचारीमा नैराश्यता आउनुका साथै कार्यसम्पादनमा असर परेको बताए।
उनले सार्कको मापदण्ड, राज्यको स्रोत, परिवारका न्यूनतम आवश्यकतालाई सम्बोधन हुनेगरी कर्मचारीको तलब सुविधा निर्धारण गर्नुपर्ने बताए। कर्मचारी संगठनले सातै प्रदेश र काठमाडौं उपत्यकागरी आठ ठाउँमा सुझाव संकलन गरिएको र प्रदेशस्तरबाट आएका सुझावलाई आधार मानेर संगठनले उच्च स्तरीय आयोगलाई सुझाव दिने उनको भनाइ छ। अन्तरक्रियामा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रममा विभिन्न कार्यपत्र माथि छलफल गरिएको प्रदेश अध्यक्ष टंकप्रकाश लामिछानेले बताए।