विश्व पहिचानको सकस
एउटा विदेशी पाठकले नेपाली लेखकमा खोज्ने के हो ? एकफेर सोचौं नि। हाम्रो लेखनको सुई ज्याद्रो पाराले अन्तरमुखी नहुँदासम्म हामीलाई देखिने भएर उभिन गाह्रो हुन्छ।
केही दिनअघि नेपाल स्रष्टा समाजले १६औं स्थापना दिवसको अवसरमा एउटा गोष्ठी राख्यो। विषय थियो– ‘दक्षिण एसियामा नेपाली साहित्य’। नेपाली साहित्यको विस्तारका कुरा भए। प्रयासका कुरा भए। अनुवाद जोडियो। आदानप्रदान जोडियो। अन्य मुलुक र नेपालको पहिचान छुट्टिन्छ कि छुट्टिँदैन भन्ने प्रश्न उठ्यो। कसैले भने– छुट्टिँदैन। हामीलाई लाग्यो– छुट्टिन्छ। एउटा कुरामा भने सभा करिबकरिब एक मत थियो– नेपाली साहित्यले अन्तर्राष्ट्रिय चासो तान्न नेपाली पहिचान लेख्नुपर्छ।
सुन्दा सरल। तर मन्थन गर्दै जाँदा यो विषय निकै जटिल रहेछ। प्रयास अनेक भएका छन्। सफलता न्यून छ। समस्या कहाँ छ, त्यसको विवेचना जरुरी छ। पहिले प्रयासका कुरा गरौं। नेपाली साहित्यको उत्थानका लागि खोलिएका धेरै संस्था छन्। अचेल त नेपालबाहिर पनि बग्रेल्ती संस्थाहरू खोलिएका छन्। यो सुखद कुरा हो। अझै सुखद त के छ भने यस्ता अधिकांश संस्थाका प्राथमिक उद्देश्यमा ‘नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण’ रहेको पाइन्छ।
बेलाबेला हुने सम्मेलनहरूमा घोषणापत्र आउँछन्। तिनमा पनि पहिलो, दोस्रो वा तेस्रो बुँदातिर यो उद्देश्य जोडिन पुगिहाल्छ। कतिपयमा त ‘अनुवादमार्फत’ पनि भनिएको हुन्छ। यी सबै सोच, अभीष्ट र प्रयास स्तुत्य छन्। धेरै काम पनि भएको छ। अनुवादकै सूची त निकै लामो छ। अन्तरदेशीय संकलन पनि थुप्रै प्रकाशित भइसकेका छन्।
यी सबै प्रयाससँग जोडिएका अनेक कडी होलान्। तर एउटा सारभूत विषय ग्लोबमा नेपाली साहित्यको ‘पहिचान’ को हो। कुनै मुलुकको साहित्यको ‘विशिष्ट पहिचान’ हुन्छ र ? पहिलेपहिले साहित्यको पहिचान त्यसले बोकेको शाश्वत मूल्यका आधारमा मापन हुन्थ्यो। अचेल, विशेषगरी सन् १९६० पछि साहित्यमा पनि समाजमा जस्तै निजी पहिचान खोजिन थालेको छ। यस्तै आधारमा त अश्वेत सौन्दर्यशास्त्र, इस्लामिक नारीवाद, केरिबियाली आदिवासी साहित्य भन्नेजस्ता क्षेत्रीय पहिचानजन्य विषयहरू साहित्यको मूलधारमा प्रविष्ट भएका छन्।
इतिहास वा राजनीति लेखिरहँदा, साम्राज्यवादको बिगबिगीमा पनि नेपाली अस्मिता बचाउने त्यो रहस्य आजसम्म लेखिएन। हामीकहाँ आन्तरिक द्वन्द्व मिलाउन यदाकदा बाहिरियाहरू आउँछन्–जान्छन्। तर हामी मध्यरातमै सही, हाम्रा मुद्दा आफैं मिलाउँछौं।
हुन त कुनै पनि मुलुकको साहित्यलाई त्यहाँको विशिष्ट पहिचानसँग जोड्ने प्रथा लामो हो। आजका जस्ता जात, भाषा, वर्ग, लिंग आदिका पहिचानका कुरा आउनुअघि दर्शनलाई पहिचानसँग जोड्ने चलन थियो। भनिन्थ्यो– प्राचीन ग्रिसेली साहित्य चिन्तन–प्रधान साहित्य थियो र रोमनेली साहित्य कार्य–प्रधान साहित्य थियो। सिद्धान्तमा ‘पूर्वीय दर्शन’, ‘पूर्ववाद’, वा ‘पाश्चात्यवाद’ भन्ने कुरा पनि पहिचानलाई मुलुकका दर्शनसँग जोड्ने प्रयास थिए। अचेल जमाना त्यस्तो छैन। पहिचान अझै सूक्ष्म विषयतिर गहिरिएको छ। हिजोआज पहिचानले स–साना समूहले जीवन जिउने क्रममा बनाएका मूर्त–अमूर्त मूल्यहरू भन्ने बुझाउँछ। कुनै पनि मुलुकको पहिचान भन्नु तिनै सूक्ष्म अवयवहरूको योग भन्ने बुझिन्छ।
सन् १९६० अघि नै कुनै पनि मुलुकको साहित्यले अन्तर्राष्ट्रिय मञ्चमा प्रवृष्टि पायो भने त्यो माथि उल्लेखित बृहत् दर्शनमै टेकेर सम्भव भएको हो। पाएको थिएन, र अब त्यसको प्रयास हुँदैछ भने साहित्यलाई बृहत् दर्शन होइन, पहिचानका सूक्ष्म कडीहरूसँग जोड्नु अत्यन्तै जरुरी छ। बृहत्तर दर्शनका कुरा, सार्विकताका कुरा, सूक्ति, नीति र शाश्वत मूल्यका कथ्यहरू त करिब करिब आइसके। तर मुलुककै अनुहार देखिने खालको साहित्यको कुरा गर्ने हो भने त्यसको जरा उक्त मुलुकको ‘विशिष्ट पहिचान’सँग जोडिनु जरुरी छ। त्यो विशिष्ट पहिचानभित्र साना–साना समुदायका सूक्ष्म–दर्शन पनि पर्छन्।
पहिचानको यस कुरालाई हाम्रो साहित्यिक वैश्वीकरणसँग जोडेर हेरौं। तर अगाडि बढ्नुअघि एउटा कुरा मन परे पनि नपरे पनि मान्न हामी बाध्य छौं। हाम्रो साहित्यको वैश्विक अनुमोदन हाम्रा प्रकाशनहरूको विश्व भ्रमणले निर्धारण गर्दैन। यो कुरा नेपालबाहिर हाम्रो प्राज्ञिक स्वीकृतिले गर्छ। अथवा नेपाल बाहिरका पाठकको हामीप्रतिको
अकर्षणले गर्छ। अरू केहीले पनि गर्दैन। तर यी दुवै मापदण्डमा हामी घुर्मैला छौं।
देवकोटाले तास्कन्दमा नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तारको अभीष्ट सन् १९५८ मै राखे। तर यसको वास्तविक प्रयास पछि भयो। सन् ८० को दशकतिर भनौं। अहिले यसले गति लिएको छ। गति यस्तो बेला लिएको छ, जब पहिचानको परिभाषा फेरिएको छ। ‘हामी पनि छौं है’ भन्ने समय रहेन। ‘हामी फरक छौं’ भन्ने बेला हो यो। बहस त्यही फरकपनको जरुरी छ।
यो फरकपनको उत्खनन कसरी गर्न सकिन्छ, त्यसको चर्चा गरौंला। तर त्यसअघि अर्को एउटा जटिल विषय छ। नेपाललाई विश्वले हेर्ने दृष्टि, विश्वबाट सिधै नेपालमा उत्रिँदैन। त्यो अन्य शक्तिकेन्द्रमा ठोक्किएर उत्रिन्छ। कहिले बेइजिङ पुगेर यता आउँछ, कहिले दिल्ली। हामीलाई हेर्ने दृष्टिको मियो बेइजिङ, दिल्ली वा अन्यत्र कतै रहँदासम्म हामी आफूजस्तो देखिँदैनौं। हामी अर्कै देखिन्छौं।
त्यो ‘अर्कै’ले हाम्रो पहिचान विश्वसामु राख्दैन। हामी अरूका विमर्शमा ‘पादटिप्पणी’ मात्रै बनेर रहन्छौं। नमिठो र सत्य कुरा हो।
तर, त्यो मियो नेपालमै गाड्दा मात्रै पनि पुग्दैन। अनुहार उही भयो भने ऐना फेरेर के हुन्छ र ? हामीले ‘क्लासिक’ मानेका धेरै नेपाली आख्यानको कार्यपीठिका नेपाल नभएर जहाँ भए पनि हुन्थ्यो। तिनको अन्तर्राष्ट्रियकरणमा नेपाली सार के रहन्छ र ? भारतीय उपमहाद्वीपमा हाम्रो उपस्थितिलाई एउटा दृष्टान्त बनाएर हेरौं। यहाँ, हामीले ‘विशिष्ट’ मानेको लेखनमा दुईवटा लक्षण भेटिन्छन्। पहिलो, हामीले सोलोडोलो रूपमा भनिने ‘पूर्वीय दर्शन’, तर सारमा बुझ्दा ‘हिन्दू–आर्य दर्शन’ मा आधारित भए हाम्रो साहित्यिक पहिचान विशिष्ट हुन्छ भन्ठान्यौं। अलिकति बौद्ध दर्शन पनि टिप्यौं। किताब र फुटकर सिर्जना कति आए कति। मान्न गाह्रो होला, तर हिन्दू–आर्य साहित्य र
बौद्ध साहित्य– यी दुवैको अन्तर्राष्ट्रियकरण अरूले नै गरे।
धेरै पहिले। हामीले साहित्य लेख्न पनि नथाल्दै तिनको उल्था गरे। बाहिर पठाए। हुन त यो निधि हाम्रो पनि हो। अझ बौद्ध दर्शन र हिन्दूभित्र पनि शैव दर्शन त यहीँको उपज हो। तर यिनको विकास, विस्तार, अनुवाद र पुनःप्रयोग बाहिरकै साहित्यले गरिसक्यो। र यो विषय उनकै साहित्यको विशेषता बनेर विश्वमा स्थापित भइसक्यो। अझ प्रस्ट भनौं, हिन्दू–आर्य दर्शनलाई भारतीय साहित्यले, र बौद्ध दर्शनलाई पूर्वी एसियाली साहित्यले प्याटेन्ट बनाइसकेको अवस्था हो। अब पुनः यिनकै प्रयोगले हाम्रो साहित्यलाई विशिष्ट बनाउँछ भन्ने लाग्दैन। त्यसमा नेपालीपनको दाबी हामी गर्न खासै सक्दैनौं।
नेपाली साहित्यलाई नेपाली पहिचानमा टेकाउन यस कुरामा सचेत रहनु जरुरी छ। यसका दुई उपाय हुन सक्छन्। पहिलो, हाम्रोे हिन्दूआर्य वा बौद्ध दर्शनभित्र कतिपय रैथाने नेपाली कुरा छन्। शैव–दर्शनको किलो नेपालमा छ। बौद्ध संस्कृतिमा काठमाडौंको नेवार संस्कृति र बौद्ध आस्थाको सम्मिलनको प्रतीक ‘कुमारी’ को चलन अन्यत्रका बौद्धधर्मावलम्बीमा पाइँदैन। साहित्यको आँखा यतातिर ढल्कनु जरुरी छ। अर्को आँखा हाम्रो लोक साहित्य र लोक अनुभवतिर घुमाउनु जरुरी छ। नेपालको लोक अनुभव नेपालको विशिष्ट अनुभव हो। त्यसमा कसैको हकदाबी लाग्दैन।
अर्को, नेपाली लेखनलाई अति सूक्ष्म नेपाली संस्कृतितिर पनि ढल्काउनु जरुरी देखिन्छ। यहाँका विभिन्न जात, जाति, आदिवासी र जनजातिका संस्कृतिमा अझै नलेखिएका वा कम लेखिएका कुरा कति छन् कति। करिब डेढ दशकदेखि सक्रिय पहिचानवादी साहित्यको प्रयासले हकहित, अन्तरजातीय थिचोमिचो, राजनीतिक प्रतिनिधित्व र सशक्तीकरणको कुरा त सुन्दर ढंगले गर्यो। तर यी समुदायको भित्री ज्ञानकोश खासै उजागर गरेन अथवा त्यस दिशामा लाग्न स्रष्टाहरूलाई प्रेरित गरेन। फलतः त्यो प्रयास बढी राजनीतिक र कम सांस्कृतिक भयो।
नेपालमा अझै कति समुदाय छन्, जसको ज्ञानकोश हामीले कत्ति पनि लेखेका छैनौं। तिनको जीवन दर्शन आएकै छैन लेखनमा। तिनको संस्कृति अझै अस्पर्शित नै छ। हिमालका डाँडाकाँडा देखाइरहँदा हिमालभित्रको जीवन कम लेखिएको छ। तराईको राजनीति लेखिरहँदा त्यहाँको मूल दर्शन र पद्धति छोडिएको छ। आ–आफ्ना धर्म लेखिरहँदा तिनलाई आजसम्म जोडेर राख्ने अपनत्वको साझा धागो कतै छुटेको छ।
इतिहास वा राजनीति लेखिरहँदा, साम्राज्यवादको बिगबिगीमा पनि नेपाली अस्मिता बचाउने त्यो रहस्य आजसम्म लेखिएन। हामीकहाँ आन्तरिक द्वन्द्व मिलाउन यदाकदा बाहिरियाहरू आउँछन्–जान्छन्। तर हामी मध्यरातमै सही, हाम्रा मुद्दा आफैं मिलाउँछौं। यो रैथाने पाराको द्वन्द्व–व्यवस्थापनको नेपाली सूत्र के हो, त्यसको खोज आजसम्म भएको छैन। यानि, हाम्रो लेखनमा हाम्रै स्वभावको चित्र स्पष्ट कोरिएकै छैन।
एउटा विदेशी पाठकले नेपाली लेखकमा खोज्ने के हो ? एकफेर सोचौं नि। हाम्रो लेखनको सुई ज्याद्रो पाराले अन्तरमुखी नहुँदासम्म दक्षिण एसियामा होस् वा पूरै पृथ्वीमा, हामीलाई देखिने भएर उभिन गाह्रो हुन्छ। सार्विक हुने दौडमा हाम्रो अनुहार हराउने खतरा हामीसँग सधैं रहन्छ।