विद्यालय व्यवस्थापन समितिमा एकलौटी, दलितलाई पन्छाएर सधैं एउटै थर
सुर्खेत : कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका—३ लुइयाटास्थित विद्याज्योति माध्यमिक विद्यालयमा केही दिनअघि व्यवस्थापन समिति गठन भयो। तर, त्यही व्यवस्थापन समिति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। समितिको आलोचना बढ्दो छ। कारण – ‘९ सदस्यीय समितिमा सबै देवकोटा थरका छन्।’ यो पहिलो पटक नभई ४७ वर्षदेखिकै निरन्तरता पनि हो।
विद्यालयको सेवा क्षेत्रमा अन्य जात र समुदायको पनि बसोबास छ। तर, उनीहरूको प्रतिनिधित्व त्यहाँ हुँदैन। सहमतिका नाममा देवकोटालाई नै अध्यक्ष चुनिन्छ, अनि अन्य सदस्यमा पनि सोही थरकालाई पारिन्छ। स्थानीय मानबहादुर विश्वकर्मा भन्छन्, ‘गाउँमा अन्य समुदायको पनि बसोबास छ। तर, देवकोटाबाहेक अरूलाई विद्यालय व्यवस्थापन समितिमा समावेश गरिएको छैन। विद्यालयमा मात्र होइन, दलितलाई त कुनै पनि स्थानमा नेतृत्व स्वीकार गरिँदैन।
यो गाउँमा दलित, क्षेत्री र अन्य समुदायका ३ सय ४० भन्दा बढी घरधुरी छन्। सबैका बालबालिका सोही विद्यालयमा पढ्छन्। तर, नयाँ गठन भएको विद्यालय व्यवस्थापन समितिमा देवकोटाबाहेक अन्य कुनै पनि समुदायका मानिस समावेश गरिएको छैन। पछिल्लो व्यवस्थापन समितिको अध्यक्षमा नवराज देवकोटा, सदस्यहरूमा कृष्णलाल देवकोटा, मन्धरा देवकोटा, शारदा देवकोटा, मनराज देवकोटा, हस्तना देवकोटा, रंगलाल देवकोटा, नमराज देवकोटा, मानप्रसाद देवकोटा सदस्यसचिव छन्।
देवकोटाहरू मात्र समितिमा भएपछि अन्य समुदायहरूले विरोध र असन्तुष्टि जनाएका छन्। तर, समिति बनाउने समयमा उनीहरूकै हस्तक्षेप हुन्छ र सहमतिको नाममा देवकोटा नै चुनिन्छन्। यसपटक पनि धेरैको उम्मेदवार परे पनि सहमतिमा देवकोटा नै छानिएको शिक्षा शाखा प्रमुख मोनवीर धामी नै बताउँछन्। ‘व्यवस्थापन समिति गठन गर्न म आफैं गएको हुँ। अध्यक्षका लागि १९ जनाले दाबी गरेका थिए। तर, नवराज देवकोटाको नाममा सहमति भयो। दलित समावेश नहुनुमा शिक्षा ऐनमा छुट्टै दलितको कोटा छैन,’ उनले भने।
२०३२ सालमा स्थापना भएको जिल्लाकै जेठो विद्यालय विद्याज्योति स्थापनाकालदेखि हालसम्म देवकोटा परिवारबाटै १० जना व्यवस्थापन समितिका अध्यक्ष भएका छन्। एक जना त पाँच कार्यकालसम्म अध्यक्ष बनेको पाइएको छ। २०३२ सालमा विद्यालय सुरुवातीसँगै कालुराम देवकोटा संस्थापक अध्यक्ष बनेका थिए। २०३३ सालमा कृष्णलाल देवकोटालाई अध्यक्ष बनाइयो। २०३५ सालमा लक्ष्मीराम देवकोटा अध्यक्ष बने। २०३७ सालमा धर्मदत्त देवकोटा, २०३८ सालमा अभिराम देवकोटा, २०४८ सालमा हरिचन्द देवकोटा, २०५६ सालमा रामेश्वर देवकोटा, २०६० सालमा अनिपाल देवकोटा, २०६२ सालमा नवराज देवकोटा र २०६३ सालमा पुनः नवराज देवकोटा अध्यक्ष बने।
यस्तै २०६७ सालमा पुनः हरिचन्द देवकोटा, २०७२ सालमा विशाखर देवकोटा, २०७३ र २०७६ सालमा नवराज देवकोटा, र २०७९ सालमा आएर पुनः नवराज देवकोटालाई विवादका बीच अध्यक्ष चुनियो। यसरी हेर्दा पटकपटक गरी नवराज देवकोटाले मात्र १२ वर्ष विद्यालयको नेतृत्व गरेर पुनः तीन वर्षका लागि चुनिएका छन्। २०३२ सालदेखि २०७९ साल आउँदा ४७ वर्षसम्म उक्त विद्यालयको नेतृत्व अन्य समुदायले पाउन सकेका छैनन्।
नेतृत्व हत्याउन नक्कली अभिभावक
शिक्षा नियमावलीमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बन्नका लागि उनका बालबालिका विद्यालयमा अध्ययनरत हुनुपर्छ। तर, हाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका नवराज देवकोटाका कुनै पनि छोराछोरी त्यो विद्यालयमा पढ्दैनन्। तर, उनी विद्यालयको अध्यक्ष बन्नकै लागि नक्कली अभिभावक बने।
खाँडाचक्र नगरपालिकाको सियालामा विवाह गरेकी अविसरा पाण्डेको नाति हिमशिखर पाण्डेलाई कक्षा ४ मा भर्ना गरी उनी नक्कली अभिभावक बनेर अध्यक्ष बनेको पाइएको छ। यसमा विद्यालयका प्रधानाध्यापकको पनि मिलेमतो प्रस्ट देखिन्छ। स्थानीय अर्जुन देवकोटा भन्छन्, ‘नवराज देवकोटा यो विद्यालयका अभिभावक नै होइनन्। उनी नक्कली अभिभावक बनेर रातारात अध्यक्ष बने। यो शिक्षा नियमावली विपरीत छ। यो व्यवस्थापन समिति खारेज हुनुपर्छ।’
नवराज देवकोटाका नाति हिमशिखर पाण्डे सुर्खेतको एक निजी स्कुलमा कक्षा ४ मा पढिरहेका छन्। तर, उनको कालीकोटमा नियमित हाजिरी गरिएको छ। अध्यक्ष देवकोटाले पनि आफ्नो नाति सुर्खेतमै पढ्न गएको स्वीकार गरे। भने, ‘शिक्षा नियमावलीमा भएको व्यवस्थाअनुसार म चन्दादाता पनि हो। अनि शिक्षाप्रेमी पनि। सबैले मानेर सहमतिमा नै म अध्यक्ष चुनिएको हुँ।’ उनले कसैले विरोध गर्दैमा आफूलाई फरक नपर्ने चुनौती दिँदै भने, ‘गाउँलेले नै विद्यालयको अध्यक्ष बनाए। अब कसैले विरोध गर्दैमा केही हुँदैन।’
आकांक्षी थिए १९ जना तर रातारात अध्यक्ष घोषणा
पुस १४ गते विद्यालयको नयाँ व्यवस्थापन समिति चयनका लागि पालिकाबाट शिक्षा अधिकृत मोहनवीर धामी खटिए। पहिलो दिन अध्यक्षका लागि १९ जनाको उम्मेदवारी प¥यो। छलफल गर्दै ११ जनासम्म झरे। बाँकीले सहमति दिए। ११ जनामा पनि छलफल गरेर ८ जना पुगे। ८ जनाले अध्यक्षका लागि एक हजारका दरले उम्मेदवार बन्न शुल्क पनि बुझाए। तर, व्यवस्थापन समिति गठनका लागि पुगेका धामीले सहमतिबाटै अध्यक्ष चयन गर्नुपर्ने भन्दै एक हप्ताको समय दिए।
हप्ता दिनमा पनि सहमति जुटेन। स्थानीय अभिभावक अर्जुन देवकोटाले भने, ‘पुस २४ गते राति आफूले भनेको मान्ने मान्छेहरू बोलाएर बन्द कोठाभित्र नवराज देवकोटाले आफू अध्यक्ष भएको माइन्युटमा हस्ताक्षर गराएछन्। हामीले त भोलिपल्ट माइन्युट सार्वजनिक भएपछि मात्र व्यवस्थापन समिति गठन भएको जानकारी पायौं।’ त्यही माइन्युट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको हो।
व्यवस्थापन समिति गठन गर्न म आफैं गएको हुँ। अध्यक्षका लागि १९ जनाले दाबी गरेका थिए। तर, नवराज देवकोटाको नाममा सहमति भयो। दलित समावेश नहुनुमा शिक्षा ऐनमा छुट्टै दलितको कोटा छैन।
शिक्षा नियमावलीमा भएको व्यवस्थाअनुसार म चन्दादाता पनि हो। अनि शिक्षाप्रेमी पनि। सबैले मानेर सहमतिमा नै म अध्यक्ष चुनिएको हुँ। अब कसैले विरोध गर्दैमा मलाई केही फरक पर्दैन। गाउँलेले मलाई अध्यक्ष बनाइसके।
नवराज देवकोटा, अध्यक्ष, विद्यालय व्यवस्थापन समिति
गाउँपालिकाको शिक्षा शाखाका प्रमुख मोहनवीर धामीले विद्यालय व्यवस्थापन समिति सहमति गरेर गठन गरिएको दाबी गरे। उनी भन्छन्, ‘व्यवस्थापन समिति गठन गर्न म आफंै गएको हुँ, अध्यक्षका लागि १९ जनाले दाबी गरेकै हुन्। तर नवराज देवकोटाको नाममा सहमति भयो, दलित समावेश नहुनुमा शिक्षा ऐनमा छुट्टै दलितको कोटा छैन, बहुमत अभिभावकहरूले सहमति गरेकाले नवराज देवकोटाकै नाममा सहमति भएको हो।’
अनि विद्यालयमा तालाबन्दी
नक्कली अभिभावकलाई रातारात विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाएको भन्दै स्थानीयले आइतबारदेखि मंगलबारसम्म तीन दिन विद्यालयमा ताला लगाए। मंगलबार साँझ पालिकाबाट प्रहरी आएर नवगठित विद्यालय व्यवस्थापन समितिका विषयमा पुनः छलफल गर्ने भनेर विद्यालयमा लगाइएको ताला खोल्यो।
स्थानीय मनराज देवकोटाले भने, ‘ताला त खुल्यो। तर, यसबारे कुनै छलफल गरिएको छैन। गाउँमा सबै अभिभावकहरू विरोधमा छन्। विद्यालय प्रशासनले पनि यसमा चासो देखाएको छैन। गाउँपालिकाको शिक्षा शाखाको पनि मिलेमतो भएकाले समस्या भयो।’
स्थानीय अभिभावकले यसबारे पालिकाको पनि ध्यानाकर्षण गराएका छन्। नक्कली अभिभावक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन नहुने र देवकोटा थरका मानिसमात्रै विद्यालय व्यवस्थापन समितिमा नभई अन्य समुदायको पनि सहभागिता गर्नुपर्ने स्थानीयको माग छ। नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज देवकोटामाथि आफूलाई सहयोग गर्ने मान्छेलाई मात्र समितिमा समेटेको, विद्यालयमा आफ्नो छोराछोरी नहुँदा पनि विद्यालयलाई चार वर्षदेखि कब्जा गरेको, अध्यक्ष बन्न पैसा बाँडेकोजस्ता आरोप स्थानीयले लगाएका छन्।
विद्याज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मानप्रसाद देवकोटाले भने प्रक्रियाअनुसार नै विद्यालय व्यवस्थापन समिति गठन भएको दाबी गरे। उनले भने, ‘सबैको सल्लाहअनुसार नै नयाँ व्यवस्थापन समिति गठन गरेका हौं, गाउँमा नै बढी देवकोटाहरूको बसोबास छ, त्यसैले पनि यो समितिमा देवकोटाहरू नै देखिए।’ तर यो गाउँमा दुईजना विश्वकर्मा थरका अभिभावक पनि छन्। प्रधानाध्यापक मानप्रसादले अब उनीहरूमध्ये एक जनालाई शिक्षक अभिभावक संघमा समेटेर समावेशी बनाइने बताए।
स्वीकार गर्दैनन् दलितको नेतृत्व
कालीकोटमा बालविकासदेखि माध्यमिक तहसम्म अध्ययन हुने ३ सय ३६ वटा विद्यालय छन्। जसमा जिल्लाभरिका जम्मा ३९ वटा विद्यालयमा मात्र व्यवस्थापन समितिको नेतृत्वमा दलित छन्। स्थानीय तहका शिक्षा शाखामा भएको तथ्यांकअनुसार जिल्लाको खाँडाचक्र नगरपालिकामा १ जना, तिलागुफा नगरपालिकामा ९ जना, रास्कोट नगरपालिकामा ६ जना, नरहरिनाथ गाउँपालिकामा ९ जना, पचालझरना गाउँपालिकामा ६ जना, शुभकालिका गाउँपालिकामा ३ जना र पलाँता गाउँपालिकामा ४ जना विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष दलित छन्।
बाँकी २ सय ९७ विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरू ब्राह्मण, क्षेत्री र ठकुरी छन्। आदिवासी जनजाति एक जना पनि छैनन्। कालीकोट कर्णालीमा सबैभन्दा धेरै दलित बसोबास भएको जिल्लामा पर्दछ। तर, पनि जिल्लामा जनसंख्याको अनुपातमा दलितले सार्वजनिक संस्थाको नेतृत्व पाउँदैनन्। दलित समुदायले नेतृत्वका लागि प्रयास गर्दा पनि उनीहरूको नेतृत्व स्वीकार हुँदैन। मुख्य रूपमा आफूहरूमाथि नेतृत्वमा विभेद हुने गरेको दलित समुदायको गुनासो छ।
अर्कोतर्फ विद्यालय व्यवस्थापनको नेतृत्वमा मात्र होइन, जिल्लामा राजनीतिक दलहरूको नेतृत्वमा पनि दलितको उपस्थिति छैन। माओवादी केन्द्रबाहेक अन्य दलहरूको नेतृत्व दलितविहीन छ। जिल्लामा ८ वटा राजनीतिक दल सक्रिय छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा, राप्रपा संयुक्त, नेमकिपा, विप्लव नेतृत्वको नेकपा र राष्ट्रिय जनमोर्चा सक्रिय छन्। जसमा माओवादी केन्द्रका इन्चार्ज विष्णु विकबाहेक अन्य कुनै पनि दलको नेतृत्व दलित समुदायको छैन। यी पार्टीका भ्रातृ संघ संगठनहरूमा पनि दलितको नेतृत्व छैन। जिल्लाका ९ वटै पालिकाको नेतृत्व पनि दलितविहीन छ। जिल्लामा प्रत्यक्ष र समानुपातिक गरी पाँच जना सांसद छन्। त्यसमा एक जना पनि दलित छैनन्।
विवादित विद्याज्योति माविमा कुल २ सय ७२ जना विद्यार्थी छन्। सान्नीत्रिवेणी ३ मा चार वटा बस्ती छन्। ती बस्ती हुन् लुइगाटा, कयारी, रातिमाटा र नाइना।
चारवटा बस्ती भएको वडामा चार वटा विद्यालयहरू छन्। यो वडामा झन्डै १६ सय जनसंख्या छ। कुल ८ सय १७ जना मतदाता छन्।
छरिएर रहेको बस्ती र राजनीतिक स्वार्थका लागि एकै वडामा चार वटा विद्यालय स्थापना गरिएका छन्। जुन विद्याज्योति मावि लुइगाटा, गुडुल स्नानी आधारभूत विद्यालय नाइना, कालासिल्ला प्रावि कयारी, धलपुरा मण्डल प्रावि रातिमाटा सञ्चालनमा छन्। सबै विद्यालयहरूमा विद्यार्थी संख्या निकै कम छ। सान्नीत्रिवेणी गाउँपालिका—३ का वडाध्यक्ष रंगलाल देवकोटाले गाउँमा बढिजसो अभिभावकहरू देवकोटा भएकाले देवकोटाकै समिति बनेको बताए। उनका अनुसार दलित समुदायको प्रतिनिधित्व नभएको गुनासो आएको छ। यसलाई सम्बोधन गर्न शिक्षक अभिभावक संघमा समेट्ने तयारी छ।
नयाँ समिति गठनको माग गर्दै पालिकामा उजुरी
विद्यालय व्यवस्थापन समितिमा असहमति राख्ने विद्याज्योति माविका केही अभिभावकले रातारात गठन गरेको समिति खारेज गरी नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागि पालिकामा उजुरी दिएका छन्।
उनीहरूले सुर्खेतमा पढाइरहेको नातिलाई गाउँमा आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नका लागि नवराज देवकोटाले नक्कली विद्यार्थी बनाएर रातारात अध्यक्ष बनेको भन्दै पालिकामा उजुरी दिएको स्थानीय अभिभावक जनक देवकोटाले बताए। उनले भने, ‘गाउँका धेरै अभिभावकलाई खबर नै नगरी रातारात विद्यालय व्यवस्थापन समिति गठन गरियो। यसमा हाम्रो पूर्ण असहमति छ। गाउँमा रहेका दलित समुदायको पनि प्रतिनिधित्व भएन।’
अर्का अभिभावक खडेग विश्वकर्माले भने, ‘गाउँका निश्चित टाठाबाठा मानिस गोप्य रूपमा भेला भएर विद्यालय व्यवस्थापन समितिको गठन गरियो। दलित समुदायलाई नेतृत्व त कहिलै स्वीकार गर्दैनन्। यो पटक त सहभागिता पनि जनाउन दिएनन्। शिक्षक अभिभावक संघमा समावेश गर्ने आश्वासन दिएर व्यवस्थापन समितिमा हामीलाई वञ्चित बनाइयो। देवकोटाका नक्कली अभिभावकलाई नेतृत्व दिइयो। नक्कली विद्यार्थीका नक्कली अभिभावकलाई नेतृत्वबाट हटाएर नयाँ नेतृत्वका साथै दलित समुदायको विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ। गाउँपालिकामा हामीले यही माग गरेका छौं।’
छानबिन गर्छौं ः अध्यक्ष केसी
सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले विद्याज्योति माविको विद्यालय व्यवस्थापन समितिको विषयमा आएको विवादका विषयमा पालिकाले छानबिन गर्ने बताए। भने, ‘म पालिकाकै कामले सुर्खेततिर छु। पालिकामा छैन। विद्यालयको विवादका विषयमा सामान्य रूपमा जानकारी फोनबाट लिएको छु। गाउँपालिकामा भएपछि विवादको विषयमा सबै जाँचबुझ गरी आवश्यक छानबिन पनि गर्छौं। समाधानको उचित बिन्दु खोज्छौं।’
उनका अनुसार गाउँपालिकाको शिक्षा शाखालाई आफूले विद्याज्योति माविको विद्यालय व्यवस्थापन समिति कानुनबमोजिम भए, नभएको बुझ्न लगाइएको छ। ‘त्यहाँको मुख्य प्रश्न विद्यालय व्यवस्थापन समितिमा दलित समुदायको प्रतिनिधित्व किन भएन भन्ने नै हो। मैले बुझेको कांग्रेस, एमाले र माओवादी मुख्य पार्टीका नेताहरूको सहमतिमा समिति बनाए पनि दलित समुदायलाई छुटाएछन्’, उनले भने, ‘यो समितिमा पार्टीगत भागबन्डा पनि गरेको बुझेको छु। वडाध्यक्ष रंगलाल देवकोटा माओवादी, नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज देवकोटा एमाले, विद्यालयको प्रअ मानप्रसाद देवकोटा कांग्रेस निकट हुन्।’
नवराज देवकोटा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट सान्नीत्रिवेणी गाउँपालिका अध्यक्षमा पराजित उम्मेदवार हुन्। अध्यक्ष केसीले भने, ‘मुख्य गरी विद्यालयको प्रशासनले नक्कली विद्यार्थीको नक्कली अभिभावकलाई विद्यालय व्यवस्थापन समिति राख्न मिल्दैन भन्नुपथ्र्यो। विद्यालयको प्रशासन जिम्मेवार भएन। टाउकेहरू मिलेर स्थानीयलाई बेवास्ता गरेका छन्। यसलाई हामीले सुधार गर्छौं।’