माघे संक्रान्तिका लागि भक्तपुरमा तरुल किन्नेको भीड
भक्तपुर : माघे संक्रान्तिका लागि भक्तपुरमा तरुल किन्नेहरूको भीड बढेको छ। विशेषगरी माघे संक्रान्तिमा तरूल खाने गरिन्छ। यही कारण तरुले किन्नेको भीड बढेको हो।
भक्तपुरको मुख्य बजार टौमढी, सकुलढोका बजार हो। विशेष गरी यहाँ तरुल किन्न आउनेको संख्या बढेको छ। चाकु र तरुलको चाड हो माघे संक्रान्ति। चाडपर्व अनुसार खानेकुरा पनि भिन्नभिन्न खाने चलन छ। हरेक वर्ष माघ १ लाई माघे संक्रान्तिको रूपमा मनाइन्छ। यसदिन घ्यू, चाकु, तिलको लड्डु (तिलौरी), खिचडी, तरूल आदि खाने चलन छ।
माघे संक्रान्तिमा तरुलको माग बढ्दो छ। त्यसैले तरुलको मूल्य पनि दैनिक बढ्दै लगएको उपभोक्ता बताउँछन्। भक्तपुरका व्यापारी लक्ष्मी चित्रकारका अनुसार ४ प्रकारका तरुल र शंखर खण्ड र पिँडालु बजारमा बेच्दै आएका बताइन्।
जसमा हात्तीपाइले तरुल, घर तरुल, वन तरुल र सिमल तरुल रहेको उनले जानकारी गराइन्। 'यसमध्ये हात्तीपाइले तरुल धेरैले रुचाएका छन्', उनले भनिन्। अहिले थरिथरिका तरुलहरू बजारमा आउन थालेको छ।